पर्या कविताः राज्य, हिमाल र भाषणको मौसम
तोमनाथ उप्रेती
हिमालय पग्लिँदै छ
तर संसद चिसै छ
बरफ बग्छ
कानुन बग्दैन
जलवायु प्राथमिकतामा छ
प्राथमिकता यति माथि कि
फाइलको सबैभन्दा तल
पुरिएको छ।
हिमताल फुट्छ
तर बजेट फुट्दैन
बाढी आउँछ
तर जिम्मेवारी आउँदैन।
नेता हेलिकप्टरबाट
डुबेको गाउँ हेर्छ
फोटो खिच्छ
र फर्केर भन्छ
“समस्या गम्भीर छ।”
गम्भीर यति कि
भोलि नै बिर्सिन्छ।
कार्बन उत्सर्जन बढ्छ,
भाषण अझै बढ्छ
धुवाँ उद्योगले उडाउँछ
दोष जनता खान्छ।
वन काटिन्छ
विकासका लागि
नदी बाँधिन्छ
समृद्धिका लागि
र जनता बाँधिन्छ
धैर्यका लागि।
हिमालय ‘तेस्रो ध्रुव’ हो रे
तर नीति बनाउँदा
तेस्रो दर्जा
पहिलो दर्जा
ठेकेदार
दोस्रो दर्जा
दातृ संस्था
तेस्रो दर्जा
हिमाल, नदी, मान्छे।
जलवायु सम्मेलनमा
नेता हरित टाई लगाउँछन्
तर मन
कोइलाजस्तै कालो
नेट–जिरोको कसम खान्छन्।
नेपाल न्यून उत्सर्जन देश
तर उच्च पीडा देश
अपराध अरूले गर्छन्
सजाय हामी भोग्छौँ
यसलाई भन्छन्
वैश्विक सहकार्य।
हिमनदी पग्लिँदा
वैज्ञानिक रुन्छन्
किसान रुन्छन्
नीति निर्माताले
रिपोर्ट माग्छन्
तीन प्रति
दुई छाप
एक हस्ताक्षर
शून्य कार्यान्वयन।
प्रकृति कराउँछ
राज्य मौन छ
जनता चिच्याउँछन्
सिस्टम बहिरो छ
हिमालय ढल्दै जान्छ
राजनीति उभिएकै छ
किनकि यहाँ
पहाडभन्दा भारी
सत्ताको अहंकार छ।
प्रतिक्रिया