logo
  • २०८२ फाल्गुन ५ | Tue, 17 Feb 2026
  • ‘सिरहामा दलित मानव अधिकार उलङ्घनका घटना बढीरहनु चिन्ताको विषय’

    ‘सिरहामा दलित मानव अधिकार उलङ्घनका घटना बढीरहनु चिन्ताको विषय’

    सिरहा, २९ जेठ ः सिरहामा दलित समुदायमाथि जातीय विभेद, छूवाछूत र गम्भीर मानवअधिकार उल्लंघनका घटना बढिरहेको प्रति सरोकारवालाले गंभीर चिन्ता व्यक्त गरेका छन् । दलित विकास मञ्च सिरहाद्धारा बिहिबार लहानमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले दलित मानव अधिकारको खस्कदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राज्यले यस्ता गतिविधिलाई नियन्त्रण गर्न गंभीर नभएको गुनासो गरेका हुन् ।

    कार्यक्रममा बोल्दै पूर्व सांसद तथा दलित अभियानकर्मी असर्फी सदाले सिरहामा पछिल्ला समय दलित समुदायमाथि विभेदका एकपछि अर्को श्रीङ्खलाबद्ध घटना भईरहेको भन्दै राज्यले दलितलाई संविधानप्रदत्त सामाजिक न्याय दिलाउन नसकेको बताउनुभयो । “जनप्रतिनिधि देखि समाजका जान्नेबुझ्ने व्यक्तिसम्मले दलितमाथि निरन्तर विभेदका घटना घटाइरहेका छन् । अत्याचार र बलात्कारका श्रीङ्खला छन् । तर, राज्यले न्याय दिन नसक्दा उनीहरु आत्महत्या गर्न विवश भएका छन्”, उहाँले भन्नुभयो,“यस संवेदनशील घडीमा दलित समुदायको आत्मसम्मान र मानवअधिकारको विरूद्ध भएका घटना चिन्ताजनक छन् । खेदजनक छन् ।”

    त्यस्तै, लेखक तथा अनुसन्धानकर्ता भोला पासवानले संविधानको मूल मर्म अनुसार स्थानीय तहले जनताको नजिकको सरकारको रुपमा विभेदरहित समाजमा जोड दिनुपर्नेमा उल्टो विभेद र दलित विरोधी क्रियाकलापमा तल्लिन रहेको आरोप लगाउनुभयो । उहाँले अपवाद बाहेक राज्यका विभिन्न निकायहरुको भूमिका नकारात्मक र संकास्पद रहेको बताउनुभयो ।

    संयुक्त दलित मोर्चाका संयोजक शिवकुमार महराले समानताको कुरा गरेपनि व्यवहारमा विभेद विद्यमान रहेको भन्दै प्रशासन, कानून, ऐन तथा अदालतले दलितलाई न्याय दिलाउन नसक्दा पीडितहरु छटपटाएर बस्न बाध्य रहेको जिकिर गर्नुभयो । त्यसैगरि अर्का दलित अभियन्ता अर्जुन थपलियाले विभिन्न ग्रैर सरकारी संघसस्थाले दलित बस्तीमा कनिकास्वरुप राहत बाड्ने प्रवृत्तिले दलित आन्दोलनकै मृत्यु भैसकेको धारणा राख्नुभयो । उहाँले दलितमाथि भएको उढीबास र बलात्कारका घटना विरुद्ध सबै वर्ग र क्षेत्रका व्यक्तिहरु एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिरेन्द्र कुमार पासवानले प्रहरीले नीतिगत काम गर्ने भन्दै केही अपुरा नीति तथा ऐन भए त्यसलाई सुधार गर्न लागिपर्न अधिकारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले ऐनमा भएको व्यवस्थाअनुसार प्रहरीले काम गर्ने स्पष्ट पार्नुभयो ।

    सिरहाका सहायक जिल्ला अधिकारी तथा इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलले दलितमाथि विभेदका घटना आजपनि प्रमुख मुद्धाकारुपमा जीवित रहनु राजनीतिकर्मी, कानून व्यवसायी, अधिकारकर्मी तथा न्याय निरुपण गर्ने सबै पक्षकालागि चुनौतीको विषय भएको बताउनुभयो । समाजमा जातिय विभेदका घटनालाई न्यूनीकरणका लागि शिक्षामा जोड दिनुपर्ने उहाँले धारणा राख्नुभयो ।

    वि.सं २०८१ सालमा सिरहामा ८८ वटा मानव अधिकार उल्लङ्घनका घटनाहरू दर्ता भएको इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियारले जानकारी दिनुभयो । जसमा बलात्कार, हत्या, घरेलु हिंसा र जातीय भेदभावका घटनाहरू समावेश छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २९, बिहीबार १९:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP