logo
  • २०८२ माघ १३ | Tue, 27 Jan 2026
  • सिरहा कारागारमा नाइके विवादको झडप ः उपचारबाट फर्किएपछि पुनः झडप दोहोरिने चिन्ता

    सिरहा कारागारमा नाइके विवादको झडप ः उपचारबाट फर्किएपछि पुनः झडप दोहोरिने चिन्ता

    सिरहा। सिरहा कारागार अहिले शान्त देखिए पनि भित्री तनाव अझै कायम छ । साउन ४ गते कारागारभित्र कैदीबन्दीबीच भएको झडपले १३ जनालाई घाइते बनाएपछि उत्पन्न स्थिति तत्कालका लागि नियन्त्रणमा आए पनि आगामी दिनमा पुनः झडप दोहोरिने संकेत प्रशस्त छन् ।

    कारागार प्रशासनले दिएको जानकारी अनुसार झडप विजय महतो र कैलाश ठाकुर नेतृत्वका दुई समूहबीच भएको थियो । कारागारको आन्तरिक प्रशासन सञ्चालन गर्ने ‘नाइके’ चयनको विषयलाई लिएर विवाद चुलिएको थियो । यस्तै, आर्थिक लेनदेन, नाइके बन्ने प्रतिस्पर्धा, र अवैध असुलीको मुद्दा विवादको मूल जड भएको खुलेको छ ।

    ‘नाइके’ को भूमिकामै हिंसाको जड

    सिरहा कारागारको आन्तरिक स्रोतले दिएको जानकारी अनुसार, नाइके बन्ने प्रतिस्पर्धा र त्यससँग सम्बन्धित आर्थिक चलखेल यस प्रकारका झडपको कारण बनिरहेको छ । कारागारमा हाल १६ जना नाइके र ३६ जना सहनाइके रहेका छन्, जसले ४४३ जना कैदीबन्दी (२३१ कैदी र २१२ थुनुवा) लाई व्यवस्थापन गर्ने कार्यमा भूमिका खेल्दछन् । यो व्यवस्थापन प्रणालीकै कारण नाइके पद अत्यन्त प्रभावशाली र फाइदाजनक मानिन्छ ।

    स्रोतका अनुसार, कैदीबन्दीहरूले पाउने मासिक भत्ता, दशै भत्ता, र जाडो भत्तामा समेत नाइकेहरूले अवैध चलखेल गरी लाखौँ रकम असुल्ने गरेका छन्। यही आर्थिक स्वार्थले गर्दा नाइके बन्ने होड र त्यसमा देखिएको प्रतिशोधले झडपलाई निम्त्याएको हो ।

    झडपमा घाइते भएका विजय महतो, बरुण महतो, शिवा (शिव कुमार राम), दिपक ठाकुर, शिवम् (जय प्रकाश चौधरी), जंगली (अन्जनी कुशवाह), छोटु (रिपेन्द्र झा), सन्तोष कुमार सिंह, बैजु दास, मकेश्वर महतो, दिपेन्द्र यादव, जितन साह, र सत्यनारायण कारक लगायतको नाम सार्वजनिक भएको छ ।

    विजय महतो कारागारको आन्तरिक प्रशासन चलाइरहेका चौकीदार हुन् । उनलाई आफ्ना समर्थकहरूमार्फत कैदीहरूबाट अवैध असुली गर्दै आएको आरोप लागेको छ । झडपपछि घाइते कैदीहरूले कारागार प्रशासनमाथि ३५ लाख रुपैयाँ घुस लिएर आफूहरूलाई झडपमा पर्न दिने वातावरण बनाएको गम्भीर आरोप लगाएका छन् ।

    कैलाश ठाकुरको रणनीति र स्थानान्तरण

    कैलाश ठाकुरलाई अन्य कारागारमा सारिएको छ । तर स्रोतका अनुसार, उनले कारागारभित्र आफ्ना प्रतिनिधिमार्फत उक्साहट र तनाव सिर्जना गर्ने क्रम जारी राखेका छन् । उनी नेतृत्व गरेको समूहका ६ जना झडपमा घाइते भएका थिए । कैलाश र विजयबीच ‘नाइके’ बन्ने सर्तमा २ लाख रुपैयाँ मासिक कैलाशको परिवारलाई दिनुपर्ने शर्त राखिएको, र त्यो पुरा नभएपछि झडप सुरु भएको बताइन्छ ।

    कारागार प्रशासन चिन्तित

    कारागार प्रमुख सुवोधकुमार महतोले यो अवस्था प्रति चिन्ता व्यक्त गरेका छन् । उनले भने, “यो प्रश्न जायज हो । निश्चय नै फेरि पनि चुनौतीपूर्ण बन्ने हो कि भन्ने चिन्ता हामीलाई पनि छ ।” उनका अनुसार, नाइके र सहनाइकेको व्यवस्थापन प्रणालीमै सुधार आवश्यक देखिएको छ । उनीहरुलाई अन्यन्त्र स्थानान्तरण आवश्यक छ ।
    साउन ३ गते जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षा अधिकारीहरूको टोलीले कारागारको अनुगमन र प्रत्येक कोठामा व्यापक खोजतलासी गरेको थियो । खोजतलासको भोलीपल्ट नै झडप भएको हो । यसले कारागारभित्र अवैध कारोबार र संगठित आपराधिक गतिविधि चलिरहेको संकेत गर्छ ।

    सुधार नभए पुनः हिंसा दोहोरिने खतरा

    हाल घाइते सबैलाई उपचारका लागि काठमाण्डौँ पठाइएको छ । तर, उनीहरू उपचारपछि पुनः सिरहा कारागारमै फर्काइएमा स्थिति पुनः जटिल बन्ने निश्चित देखिन्छ । झगडालु प्रवृत्तिका घाइतेहरूलाई अलग राख्ने वा अन्यत्र सार्ने आवश्यकताबारे बहस सुरु भइसकेको छ ।

    पूर्वकैदी हरेराम यादवका अनुसार, यसअघि पनि कैलाश र विजय पक्षबीच चौकीमै कुटाकुट भएको थियो, तर त्यो बाहिर आएन । उनले भने, “त्यो बेला पनि पैसाकै लेनदेनको विषय थियो । अहिले फेरि त्यही दोहोरिएको हो ।

    सिरहा कारागारमा देखिएको यो स्थिति जेल प्रशासन, सुरक्षातन्त्र र न्याय प्रणालीकै लागि चुनौती बनिरहेको छ । नाइके व्यवस्थापन प्रणाली, कैदीहरूको असमान व्यवहार, र अवैध अर्थतन्त्रको अन्त्य नगर्ने हो भने सिरहा कारागार मात्र होइन, देशभरका कारागारहरूमा यस्तो प्रकारको हिंसात्मक झडप आम हुन सक्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण २१, बुधबार २३:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP