सिरहा, ११ भदौ ः यहाँको लहान नगरपालिका–१८ का दलित तथा मुसहर समुदायका विद्यालय छोडेका बालबालिका शैक्षिक सामाग्री सहयोगको माध्यमबाट पुनः विद्यालय फर्कन थालेका छन् । शैक्षिक सामग्री वितरण र निःशुल्क ‘ट्युसन’ कक्षाजस्ता पहलका कारण पछिल्लो समय १ कक्षादखि ८ कक्षासम्मका ६० जना बालबालिका विद्यालयमा पुनः भर्ना भएका छन् ।
यसैअन्र्तगत बुधबार विसनपुर र शोभापुरका ४९ जना विपन्न बालबालिकालाई विद्यालयप्रति आकर्षित गराउन झोला, कापी, छाता, पानी बोतल, जुत्ता, पोशाक, कलम, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा उक्त सामग्री वितरण गरिएको हो ।
नगरप्रमुख चौधरीले विद्यालय छाडेर पुन भर्ना भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै भन्नुभयो,“हामी विद्यालय सुधारमा लागिपरेका छौं । दलित तथा विपन्न समुदायका बालबालिकाले विद्यालय जान नछाडून् भन्ने हेतुले शैक्षिक सामग्री वितरणलाई निरन्तरता दिइरहेका छौं । अभिभावकहरुसँग पनि आग्रह छ, आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउन प्रेरित गर्नुहोस् ।”
उक्त कार्यक्रम रोटरी क्लब काठमाडौंको आर्थिक सहयोगमा र दलित जनकल्याण युवा क्लबको आयोजनामा गरिएको हो । क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले विसनपुर र शोभापुर सहित लहान–१३ स्थित घलेटोलमा गरि ट्युसन कक्षाको माध्यमबाट हालसम्म ६० जना स्कुल छाडेका बालबालिकालाई पुनः विद्यालयमा भर्ना गराइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“यो कार्यक्रम लहान नगरपालिकासँगको समन्वयमा अघि बढाइएको हो । हामीले विद्यालयबाट विमुख बालबालिकालाई पुनः शिक्षामा फर्काउन ट्युसन कक्षा, शैक्षिक सामग्री वितरण र अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।”
कार्यकारी निर्देशक विसुङ्केका अनुसार, २०८१ साल फागुन महिना देखि शुरू भएको यस वैकल्पिक शिक्षाको कार्यक्रमअन्तर्गत दैनिक बिहान र बेलुका दुई घण्टा पढाइ हुँदै आएको छ । शिक्षकहरूको व्यवस्था क्लबले नै गरेको छ । विसनपुर, शोभापुर र घलेटोलमा सञ्चालित ट्युसन कक्षामा क्रमशः कल्पना चौधरी, प्रेम कुमारी चौधरी र मनिता चौधरी सहजकर्ताका रूपमा कार्यरत छन् ।
शैक्षिक सामग्री पाएपछि बालबालिकामा पढाइप्रतिको आकर्षण बढेको अभिभावकहरू बताउँछन् । अभिभावक पानदेवी सदायले भन्नुभयो,“पहिले छोराछोरी पढ्न मान्दैनथे । अहिले सामग्री पाएपछि उनीहरूमा पढ्ने जाँगर पलाएको छ । विद्यालय जान पनि आतुर छन् ।”
कार्यक्रमले समुदायमा सकारात्मक जनचेतना फैलाएको र बालबालिकाको भविष्यप्रति आशा जगाएको स्थानीयवासीहरूको धारणा छ ।
प्रतिक्रिया