(लघु कथा)
तोमनाथ उप्रेती
सप्तरीको भीरगाछी गाउँमा रातको चिसो हावामा माटोको बासना घुलिरहेको थियो। खेतमा मकै पाक्न लागेको बेला थियो। तर गाउँको आकाशमा कालो छाया फैलिरहेको थियो– सोही गाउँका ‘नेता’ कहलिने रघुनाथ यादवको अत्याचारको।
रघुनाथ, जुन राजनीतिक पार्टीको झन्डा बोकेर चुनाव जितेको थियो, गाउँलेलाई नुनतेल र ईँटा–बालुवा ल्याउने आश्वासन दिएको थियो। जितेपछिको उसको मुखबाट अब “गाउँको विकास” शब्दै हरायो। सरकारी अनुदानको नाममा आएको चामल र नगद उसकै गोदाममा थन्किन्थ्यो। गाउँमा आएको पानी ट्यांकीको पाइपहरू काटेर, बालुवा बेचेर उसको परिवारले नयाँ मोटरसाइकल चढ्न थाले।
थिए। तर, रघुनाथको भाइले सरकारी योजनाको नाममा उक्त जमिनमा ‘पक्की सडक’ बन्छ भन्दै डोजर लगाएर उखु मासिदियो। कुनै क्षतिपूर्ति दिइएन। रामजीको आँखा भरी आँसु, पेट भोकले च्यातियो, तर उनले केही भन्न सकेनन्। कारण, बोल्ने जो कोहीको नाम “कांग्रेस वा कम्युनिस्ट” मिलाएर अपराधमा जोडिदिने र घाँटी समात्ने काम गर्थे रघुनाथका मान्छेहरूले।
माया देवी, जसले छोराछोरी पाल्न साहुको घरमा भाँडा माझ्थिन्, उसलाई निर्वाचनका बेला ‘राम्रो भोट हालिस’ भन्दै रघुनाथले जबरजस्ती मत मागे। भोट नदिएको निहुँमा मायाका पतिलाई झुटो मुद्दा हालेर एक महिना जेल पठाइयो। गाउँका विद्यालयमा आएको शिक्षक दरबन्दीमा पनि रघुनाथले पैसा नदिएका गरीबका छोराहरूलाई जागिर पाउन दिइएन।
एक साँझ गाउँका युवा राजु र गोविन्दले गाउँको पिपलमुनी भेला गरेर कुरा गरे:
“कति सहने यो अत्याचार?”
“युवा मिलेर लड्नुपर्छ, रघुनाथको लुटको पर्दाफास गरौँ।”
गाउँमा परिवर्तनको सानो आशा पलायो। युवाहरूले गाउँको माइकबाट घुष, चोरी र अत्याचारको तथ्य बोल्न थाले। गाउँमा हलचल मच्चियो। रघुनाथ आत्तियो। उसले धम्की दिए तापनि, युवाहरू पछि हटेनन्।
अन्ततः, तराईको कालो रातमा गाउँको चेतनाको दियो बल्न थाल्यो। भीरगाछी गाउँका किसान र महिलाले न्यायको बाटो खोज्दै प्रहरी कार्यालय र प्रशासनमा उजुरी गर्न थाले। गाउँको विकासका सपना फेरि नयाँ स्वरले गुञ्जिन थाले।
प्रतिक्रिया