logo
  • २०८२ आश्विन ७ | Tue, 23 Sep 2025
  • शासनमा राजनीति र प्रशासनको सहयात्रा

    शासनमा राजनीति र प्रशासनको सहयात्रा

    तोमनाथ उप्रेती                                                         उपसचिव, नेपाल सरकार

    राजनीति र प्रशासन शासनको रथका दुई पाङ्ग्रा हुन्, जसको समतालाई बिगार्नेबित्तिकै विकासको बाटो बाङ्गिदिन्छ। राजनीति भनेको राष्ट्र निर्माणको सुनौलो सूर्य हो भने प्रशासन त्यसलाई धरतीमा उज्यालो पार्ने रश्मि हो। राजनीति सपनाको स्वप्नदर्शी सर्जक हो, प्रशासन त्यसलाई साकार पार्ने संयमित शिल्पकार हो। राजनीति बिनाको प्रशासन गन्धविनाको फूलजस्तो निर्जीव हुन्छ भने प्रशासन बिनाको राजनीति तारा नचम्किएको अकाशजस्तो बिर्सनलायक बन्छ।

    राजनीति र प्रशासन शासन सञ्चालनका दुई पाङ्ग्रा हुन्, जसको सहयात्राले मात्र विकास र समृद्धिको यात्रालाई दिगो बनाउँछ। राजनीति सपना देख्ने आँखाहरू हुन्, जसले नीति, योजना र दूरदृष्टि निर्माण गर्छ; प्रशासन ती सपनाहरूलाई सडकमा उतार्ने खुट्टा हुन्, जसले साधन, स्रोत र समय व्यवस्थापन गर्दै ती योजनाहरूलाई साकार बनाउँछन्। यदि यी दुई पाङ्ग्रा असन्तुलित भए, शासनको रथ नै घिस्रिएर रोकिन्छ।

    राजनीतिले विधि, न्याय र लोककल्याणका लागि मार्गचित्र कोर्छ, प्रशासन त्यसलाई कार्यान्वयनमा उतार्ने सशक्त इन्जिन हो। राजनीतिले नीतिगत निर्णय गर्छ, प्रशासन त्यसलाई कार्यान्वयन गर्दै परिणाम जनतालाई पुर्‍याउँछ। जब राजनीति केवल भाषणको फूलमाला बन्न पुग्छ र प्रशासन अकर्मण्यताको ऐना मात्र हुन्छ, तब जनताको विश्वासको पुल चर्किन्छ। तर जब राजनीतिले दूरदृष्टिसहित मार्गदर्शन गर्छ र प्रशासनले पारदर्शिता, दक्षता र इमानदारीसाथ कार्यान्वयन गर्छ, तब शासनमा सुवासित सेवा, विकास र सुशासनको सुवर्ण प्रभा फिजिन्छ।

    नेपालको संघीय संरचनामा राजनीति र प्रशासनबीच समन्वय अपरिहार्य छ। राजनीतिक नेतृत्वले सत्ता–सेवा सन्तुलन राख्दै नीतिगत निर्णय गर्नुपर्छ, प्रशासनले कानुनीताको परिधिमा रही निष्पक्षता र सेवा भावले काम गर्नुपर्छ। राजनीति र प्रशासन बीचको सीमा स्पष्ट नहुँदा ‘गोरुको लडाइँमा बाच्छा मिचिने’ अवस्था सिर्जना हुन्छ। तर यी दुईको सहकार्य, समन्वय र पारदर्शी सम्बन्धले मात्र नागरिकलाई जनमैत्री शासन र सम्मानजनक सेवा प्रवाहको अनुभूति दिलाउन सक्छ।सत्ता र सेवाको सहयात्रा सफल हुँदा मात्र शासनको रथ समृद्धिको बाटोमा अविचलित रूपमा अघि बढ्छ।

    नेपालको संविधानले “समृद्ध नेपाल, सुखी नेपाली” को सपना साकार पार्न संघ, प्रदेश र स्थानीय तहका शासन संरचना बनाएको छ। तर विकासको दुधको खोला बन्नुपर्ने संरचनामा राजनीतिक द्वन्द्व र प्रशासनिक असहयोगका काँडाहरूले गर्दा सेवा प्रवाह कछुवाको गतिमा सीमित भएको छ। राजनीति र प्रशासनको सम्बन्ध सहकार्यको सेतु बन्नुपर्नेमा कहिलेकाहीँ दम्भ र स्वार्थको दुर्गन्धित दलदल बन्न पुगेको छ।

    राजनीति वसन्तको हावाजस्तै परिवर्तनशील र स्वाभाविक हुन्छ, प्रशासन त्यही हावालाई दिशा दिने बाँधजस्तै स्थिर र मितव्ययी हुनुपर्छ। जब राजनीतिज्ञले नीति निर्माणमा जनताको पीर, पिडा र परिश्रमका पसिना देख्दैन, र प्रशासकले पदीय कर्तव्यलाई निजी स्वार्थको दलदलमा डुबाउँछ, तब शासनको सुशासन सुक्खा कर्कलाझैँ झरेर जान्छ।

    प्रशासन शासक होइन, सेवक हो। उसको मुस्कान शृङ्गार होइन, आत्मीयताको अग्नि हो। राजनीति शासनको इन्द्रधनुष हो भने प्रशासन त्यसको रंगहरूलाई वर्षातको पानीमा भिजाएर कृषकको खेतमा हरियाली ल्याउने पानी हो। शासन र सेवा नागरिकको अनुहारमा झल्किएको मुस्कानमा मात्र मापन गर्न सकिन्छ, नीति र बजेटका पानामा होइन।

    तर सीमाहरू पनि स्पष्ट हुनैपर्छ। राजनीतिले नीति बनाउने, सपना देखाउने, योजना पारित गर्ने, तर कार्यान्वयनमा प्रशासनले कुशलताको किरण फिँजाउनु पर्दछ। राजनीतिले नीति पास गरेपछि दैनिक प्रशासनमा हस्तक्षेप गर्नु भनेको नदि बगरमै रोक्ने प्रयासजस्तै हुन्छ। प्रशासकले पनि राजनीतिक निर्णयको आलोचना नगरी त्यसलाई कानुनको सीमामा रहेर लागू गर्नुपर्छ। दुवै पक्षले आ–आफ्नो दायित्वलाई अधिकारभन्दा ठूलो मानेर निर्वाह गर्नुपर्छ।

    नेपालमा संघीयता लागू भएको दशक बितिसक्दा पनि, जनताको अनुहारमा सेवा र विकासको मुस्कान छर्नुपर्ने प्रशासन र राजनीतिक नेतृत्वबीच अविश्वासको अमिलो बादल मडारिरहेको छ। सरुवा प्रणालीमा पारदर्शिता नहुनु, निमित्तका भरमा प्रशासन चल्नु, योजनामा टुक्रे र पकेट प्रोजेक्टको बाढी आउनु, र राजनीतिक हस्तक्षेपका कारण प्रशासनिक स्वतन्त्रता कुण्ठित हुनु आजको शासनको पीडा बनेको छ।

    समाधानको बाटो भनेको आत्मावलोकन, आचरण सुधार, आचारसंहिताको कार्यान्वयन र पारदर्शिता हो। राजनीतिक नेतृत्वले प्रशासकलाई शत्रु नभई साझेदारको रूपमा हेर्नु पर्दछ, प्रशासकले पनि राजनीतिलाई आदेशदाताको होइन, अभिभावकको रूपमा सम्मान गर्नुपर्दछ।जहाँ राजनीतिक शक्ति र प्रशासनिक विज्ञता सहकार्य गर्छन्, त्यहाँ शासनको सूर्य चहकिलो हुन्छ। जब उनीहरू एउटै तालमा नाच्छन्, सेवा र विकासको संगम राष्ट्रको हरियाली गगनमा इन्द्रधनुष भएर फक्रिन्छ। त्यसैले, राजनीति र प्रशासनको सम्बन्ध र सीमाको सन्तुलन नै शासन सञ्चालनको आत्मा हो, जसले समृद्ध स्थानीय तह र खुसी नागरिकको सपना साकार गर्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १६, सोमबार १४:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP