तोमनाथ उप्रेती
समकालीन समाजमा सौन्दर्यको व्याख्या अत्यन्त एकांगी र सतही बनाइएको छ, जहाँ अनुहार, नाक, आँखा र छालाको रङलाई सुन्दरताको प्रमुख मापदण्ड मानिन्छ। सामाजिक सञ्जालमा ‘पहिलो छाप’को संस्कारले अनुहारलाई मूल्यांकनको केन्द्र बिन्दु बनाइदिएको छ। तर, यो प्रवृत्ति मानव चेतनाको अवमूल्यन हो। मानिसको आत्मिक अस्तित्वलाई भौतिक आकृति वा चर्ममूलक दृष्टिले मात्रै हेर्नु भ्रान्तिको उपज हो।
आजको किशोर पुस्ता, मिडिया, फेसन र सामाजिक सञ्जालको बाहिरी सौन्दर्य प्रतिस्पर्धामा फँसिरहेको छ। अनुहारको सौन्दर्यलाई आत्मसम्मानसँग गाँसिएको देखिन्छ, जसले आत्महीनता र मानसिक समस्याहरू जन्माइरहेको छ। यो यथार्थमा परिवर्तन ल्याउन हामीले सौन्दर्यको पुनःपरिभाषा गर्नुपर्छ — जुन अनुहारमा होइन, विचार, करुणा, विवेक र आचरणमा निहित हुन्छ। विद्यालय, नीति निर्माण तह र सामाजिक विमर्शहरूमा ‘विचार सौन्दर्य’लाई स्थापित गर्ने हो भने मात्र हामी आत्मदृष्टिको युगतर्फ उन्मुख हुन सक्छौं, जहाँ मानिसको मूल्य उसले बोकेको अनुहारले होइन, उसले दिने उज्यालो विचारले मापन गरिन्छ।
समकालीन समाजमा सौन्दर्यको परिभाषा एकांगी रूपमा अनुहारको बनोट, शरीरको आकार, र नाक-आँखा जस्ता चर्मदृष्टिगत सूचकहरूमा सीमित गरिँदै आएको छ। सामाजिक सञ्जालहरूको विस्फोटपछि ‘पहिलो छाप’को महत्त्व झनै बढेको छ। आजको प्रवृत्तिले अनुहार हेरेर मानिसको मूल्याङ्कन गर्ने प्रवृत्तिलाई अझ उत्प्रेरित गरेको छ। मानिसहरू आफ्नो तस्बिरलाई विभिन्न फिल्टर र मेकअप प्रविधिबाट सुन्दर देखाउन अनेक उपाय अपनाउँछन्। सौन्दर्य उद्योगको विश्वव्यापी बजार अरबौं डलरको बनिसकेको छ। तर के अनुहारकै सौन्दर्यले मानिसको मूल्य निर्धारण गर्न सकिन्छ त? यो प्रश्न गहिरो आत्मपरीक्षणको माग गर्छ।
सौन्दर्यको मूल सन्दर्भ शारीरिक नापतौलमा होइन, मानिसको विचार, भावना, आचरण र विवेकमा हुन्छ। यसको पुष्टि गर्न हामी सुकरात, अष्टबक्र, गौतम बुद्ध, जर्ज बर्नाड शा जस्ता विचारशिल व्यक्तिहरूको उदाहरण पेस गर्न सक्छौं, जसले अनुहारको कुरूपता अथवा असामान्यताको बाबजुद मानव इतिहासमा महान योगदान दिएका छन्। यसरी हेर्दा, चर्मदृष्टिको सट्टा आत्मदृष्टिले मूल्याङ्कन गर्ने अभ्यास अझ आवश्यक देखिन्छ। अष्टबक्रको प्रसिद्ध भनाइ — “चर्मदृष्टिले हेर्ने अज्ञानी हो, आत्मदृष्टिले हेर्दा सबै सुन्दर देखिन्छ” — आज पनि उत्तिकै सान्दर्भिक छ।
समाजमा सौन्दर्यको आधारमा हुने विभेद र पूर्वधारणाले प्रतिभाहरूको आत्मविश्वास कुण्ठित गर्छ। एक अध्ययनअनुसार, अनुहार हेरेर निर्णायक धारणा बनाउने प्रवृत्तिले विद्यालयमा शिक्षकको व्यवहारदेखि लिएर रोजगारीका अवसरसम्म अन्यायपूर्ण प्रभाव पार्छ। विशेष गरी महिलामाथि समाजले सौन्दर्यको भारी थोपरेको छ, जसले उनीहरूको आत्मसम्मानलाई तहस–नहस गरिदिन्छ। यसले किशोरहरूमा ‘बडी डिस्मोर्फिया’ जस्ता मानसिक समस्या ल्याउने गरेको छ। यस्ता अस्वस्थ प्रतिस्पर्धाले अनुहारको निर्माण त गर्न सक्ला, तर चरित्रको होइन।
त्यस्तै, विचार र दर्शनको सौन्दर्यमा आधारित दृष्टिकोणले समाजलाई नैतिक दिशा दिन्छ। सुकरातको जीवन यसकै प्रमाण हो। कुरूप अनुहार, होचो कद, बाङ्गो हिँडाइ भए तापनि उनका अनुयायीहरू दर्शनका लागि उनले बोलेका शब्दहरू लिपिबद्ध गर्न उत्सुक हुन्थे। प्लेटो र एरिस्टोटल जस्ता उनका शिष्यहरूले मानव सभ्यताको बौद्धिक जग बसाले। सुकरातप्रतिको घृणाको कारण उनको अनुहार होइन, उनको क्रान्तिकारी चिन्तन थियो, जसले सत्ता र समाजको पूर्वधारणालाई चुनौती दियो। उनले जीवनभर आफ्नो आत्मविवेकलाई मार्गदर्शन बनाइरहे — यही विवेक नै सुन्दरता हो, जसले समाज रूपान्तरण गर्छ।
शारीरिक सौन्दर्य र सामाजिक प्रतिष्ठाको मोह त्यतिबेला पनि थियो, जब गौतम बुद्धले दरबार त्याग गरे। बत्तीस लक्षणले युक्त राजकुमार सिद्धार्थले शान्तिको खोजीमा जीवनको विलासीता परित्याग गरे। उनले चर्मदृष्टि र भौतिक मोहको जञ्जाल चिर्दै आत्मदृष्टिको मार्ग रोजे। उनले आफ्ना अनुयायीहरूलाई मृतकको वस्त्र धारण गरेर चिवर सिल्न लगाए, जसबाट बाह्य रूपको मोहबाट छुटकारा पाउने अभ्यास सिकाइन्थ्यो। यही बुद्धले नन्दा जस्ती सुन्दरी दिदीलाई पनि सौन्दर्यको घमण्ड त्याग्न प्रेरित गरे। उनले भनिरहन्थे, “सास फेर्दा तिमी मृत्यु नजिकिँदै छौ, त्यसैले प्रत्येक सास उपकारमा लगाऊ।” यस्तो चेतना आजको समाजलाई अझ बढी आवश्यक छ।
विचारको सौन्दर्य समयसापेक्ष रूपमा अझ बढी प्रभावशाली हुन्छ। अनुहारको तेज समयसँगै हराउँछ, तर विचारको उज्यालो पुस्तौँसम्म फैलिन्छ। नाटककार जर्ज बर्नाड शाले एक पटक एक सुन्दरी महिलाबाट विवाह प्रस्ताव पाएका थिए। उनले भनिछन्, “हामी विवाह गरौं, हाम्रो सन्तानले मेरो सौन्दर्य र तिम्रो बुद्धि पाओस्।” शाले त्यसमा ठट्यौलो उत्तर दिए, “यदि सन्तानले मेरो अनुहार र तिम्रो बुद्धि पाए भने?” — यो संवादले स्पष्ट देखाउँछ, अनुहारभन्दा विचारको महत्त्व बढी छ। अनुहार निर्माण ईश्वरको देन हो, तर विचार निर्माण हाम्रो प्रयास, साधना र नैतिक जीवनदृष्टिको उपज हो।
अहिलेको युगमा ‘इन्फ्लुएन्सर’ संस्कृतिले अनुहार र शरीरको प्रदर्शनलाई नै प्रभावको मापदण्ड बनाउँदैछ। यसले किशोर पुस्तालाई आत्महीनता, तुलनात्मक निराशा र सौन्दर्यको कृत्रिम परिभाषामा अल्झाएको छ। तर ठूला प्रभावशाली व्यक्तिहरू जस्तै हेलन केलर, स्टेफेन हकिङ, अब्राहम लिंकन आदिको अनुहार होइन, विचार नै प्रेरणादायी थियो। आज आवश्यकता छ — विद्यालय, सामाजिक मञ्च, मिडिया र नीतिगत तहमा विचारको सौन्दर्यलाई प्राथमिकता दिन सक्ने दृष्टिकोणको। अनुहारको सौन्दर्य क्षणिक हुन्छ, तर विचारले इतिहास बनाउँछ।
सौन्दर्यको अर्थ अनुहार होइन, विचार हो। जसरी सुन्दर अनुहार बिना सुकरात, बुद्ध, अष्टबक्र, लिंकन, हकिङ आदि युगपुरुष बने, त्यसरी नै हामी पनि अनुहार होइन, विवेकलाई आधार बनाएर आत्मनिर्माण गर्न सक्दछौं। अनुहार बिग्रिन सक्छ, शरीर ढल्न सक्छ, तर विचार अमर हुन्छ। त्यसैले हामी पनि सौन्दर्यको खोजलाई चर्ममा होइन, चेतनामा गरौं। सुन्दर विचारले मात्र सुन्दर समाज सम्भव हुन्छ।
प्रतिक्रिया