धर्मको दहन (कविता)
तोमनाथ उप्रेती
शिखर–चेतनाको चिन्तन, शरणागत शान्तिसम्म।
सिंहध्वज सम्राट् रथमा, सङ्कल्पको साक्षी स्वर,
कपिवर ध्वजायुक्त गर्जन, गगनभेदी गौरव–नर।
गाण्डीवको गर्जन–गान, गगन–घातक घात जस्तो,
बाणवर्षाको वाणी–वीणा, वेद–स्वरमा वात जस्तो।
सुदर्शनका स्फुरित सर्प, सङ्कल्प–चक्र सदा फिराइ,
कौमोदकीको करुण–क्रन्दन, कर्तव्य–क्रीडा रञ्जाइ।
विवेक–वज्रले विदार्ने, वासनाका वन–वृक्ष सबै,
महाविप्लवको मन्थनमा, मौन–मोक्षको मेल सबै।
अग्निदेवको आह्वान, आध्यात्मिक अर्चना,
अर्जुन–कृष्णको करुण–कथा, कालको कवच चिरना।
अज्ञानको ओडार–ओझेल, आत्माको आलोक लय,
प्रलयाग्निमा पवित्र–प्राण, पुनर्जन्मको प्रखर प्रणय।
इन्द्र–वर्षा व्यर्थ भयो, ईर्ष्याका आँसु झरिरहे,
आत्मबलको अग्नि–अम्बर, अक्षय–आनन्द भरिरहे।
महाप्रलयको मन्थनमै, मुक्तिको मन्त्र भेटिन्छ,
महाशून्यमा मुस्कानकै, मुक्ति–मार्ग फेटिन्छ।
अर्जुनको बाण–वर्षा, आन्तरिक आगो बनेर,
कृष्णको चक्र–चेतनामा, काल–कथा निखरि रहेर।
गगन–ध्वज, गाण्डीव–ध्वनि, गीता–गर्जन जीवित रहोस्,
अर्जुन–आत्मा, कृष्ण–करुणा, कर्मको कल्याण बहोस्।
तक्षकको तिरस्कारमा, तृष्णाका तन्तु टुटे,
मयासुरको मुक्तिमा, मृगतृष्णा मुर्छित सुते।
चार चराहरुले च्यापे, चेतनाको चीर व्याख्या,
चेतनाको चन्द्रमा बन्न, चारैतिर चारित्र्य राख्या।
यो दहन होइन विनाश, यो त द्रष्टाको ध्यान हो,
यो हो आत्मा–अग्निको आरती, अधर्मको अवसान हो।
जीवन खाण्डववनजस्तो, जलाउनै पर्दछ कहिले,
अन्तर–अहंकारका वनलाई, अग्निमा सुम्पनै पर्दछ कहिले।
जय श्रीकृष्ण, जय अर्जुन, जय अग्नि, जय शौर्य–यात्रा,
जीवन युद्धको जगद्गीता, चिन्तनको चिरन्तन पात्रता।
ध्यानको दहन, धैर्यको धरातल, धर्मको दिगन्त–दीक्षा,
अग्नि–अवतार, आत्म–अवबोधन, अखण्ड आनन्द–आश्रय दीक्षा।
प्रतिक्रिया