आर्थिक अनुशासनको आत्मा
– तोमनाथ उप्रेती
राजस्वको नदीमै बगाइन्छ जब जनताको पसिनाले भरिएको पहाड,
बेरुजुको विषबेलाले राज्यको चौर उब्जाउ हुन दिँदैन,
आशाको अन्न जमिनमै कुहिन्छ, बजेटको बिउ भ्रष्ट बिउ बनेर उम्रिन्छ।
कागजी कमिटिहरू, कोटेश्वरको कोलाहलमा हराएका वाचा,
आश्वासनको आँधीमा उड्छन्, उत्तरदायित्वका पातहरू खस्छन्,
जनताको सपना झुपडीमा झुन्डिरहन्छ,
नागरिकको करको कारुणिक कथा, फस्र्योटको फाँसीघरमा टाँगिन्छ।
लेखापरीक्षणको लहरमा उर्लिएको बेरुजु,
सिस्टमको सुस्तता र कर्मचारीको कुम्भकर्ण निद्रामा
खर्चको खोलामा प्रश्नहरूको पानी भरिन्छ,
जवाफदेहीताको जरा नै जम्न पाउँदैन जब
राजनीतिक मञ्चमा नैतिकताको नाटक मात्र मञ्चन हुन्छ।
तर यो अध्यारो अन्धकारमा पनि, आशाको आकाश खुल्दछ,
उत्तरदायी शासनको सूर्य उदाउँछ,
पारदर्शिताको पवनले भ्रष्टताको कुहिरो हटाउँछ,
नागरिक नजिकै आएको प्राविधिक न्यायको जुद्धो आवाज सुनिन्छ।
प्रत्येक पैंसाको प्रश्न गर्नु नै पूजा हो,
प्रत्येक खर्चमा चेतनाको चिराग बाल्नु नै धर्म हो,
जनताको पसिना नै पवित्र गङ्गा हो,
त्यसलाई नष्ट हुन नदिनु नै राष्ट्रप्रेम हो।
योजना निर्माणदेखि कार्यान्वयनसम्म,
सहकार्य, समन्वय र सरलता नै साँचो शक्ति हो,
दण्ड-पुष्कारको धर्म, प्रशासनको प्राण,
न्यायपूर्ण वितरण नै आर्थिक अनुशासनको आत्मा हो।
बेरुजुको बेथिति जब नीतिको नेपथ्यमा लुक्छ,
तब विकासको दृश्य नाटक हुन्छ,
समृद्ध नेपालको स्वप्न शून्यताको सन्ध्यामा हराउँछ,
र जनताको आँखा आँसुको आँधी बनेर बग्दछ।
अहिले नै उठौं,
उत्तरदायित्वको दीप बालौं,
नागरिक सहभागिताको सौर्यमण्डल बनाऔं,
संसाधनको सुरक्षामा सत्यको संग्राम गरौं,
र बरु आकाश च्यातिए पनि,
जनताको पसिनालाई न्याय दिने प्रतिज्ञा गरौं।
किनकि बेरुजुको भीरमा हाम्रो भविष्य लडखडाइरहेको छ,
र हामी मौन बसिरहे,
हाम्रो मौनता नै भ्रष्टताको मन्त्र हुनेछ।
अतः, उठौं,
राष्ट्रको नाममा,
न्याय र उत्तरदायित्वको आवाजमा,
आर्थिक अनुशासनको आकाशमा,
नयाँ नेपाल बनाउने बलियो बन्धनमा बाँधौं
आफ्नो आत्मा, आफ्ना अभिलाषा, र हाम्रो साझा सपना।
–प्रमुख कोष नियन्त्रक, कोलेनिका मोरङ_
प्रतिक्रिया