logo
  • २०८२ पुष ३० | Wed, 14 Jan 2026
  • समयको सङ्गीत

    समयको सङ्गीत

    समयको सङ्गीत

    तोमनाथ उप्रेती

    समयको सङ्गीत सुन,
    सुनसान आत्मा भित्र गुञ्जिन्छ अनन्त ध्वनि,
    सुरुवातदेखि सङ्घर्षसम्मको सङ्घातमा,
    साँझको सुनौलो सूर्यले सिकाउँछ–
    संसारको सबैभन्दा बहुमूल्य मोती, समय नै हो।

    समय भनेको सागर जस्तै गहिरो,
    जहाँ लहरहरू कर्म हुन्,
    जहाँ छालहरू नै परिवर्तनका चरण हुन्,
    एक पटक बगेपछि फर्केर नआउने नदी हो समय,
    जसको पानिमा हाम्रो प्रतिबिम्ब झल्किन्छ,
    तर छुन खोज्दा हराउँछ –
    मोह-मायामा नअड्किन सिकाउने शाश्वत गुरु।

    धेरै धन भए पनि किन्न नसकिने अमूल्य रत्न,
    सत्कर्मको सन्ध्या साक्षी राख्ने अदृश्य दीप,
    त्यही दीपले अन्धकार हटाउँछ,
    अज्ञानको गुह्य कोठा भित्र ज्ञानको ज्योति जलाउँछ।

    समयको साँगुरीमा सपनाहरू सिउ,
    सुगरुफ्त सोचले सजाउ,
    सुमधुर सङ्गीतमा सजाएर
    सजग भएर यात्रा गर जीवनको,
    किनकि हरेक श्वास एक मन्त्र हो,
    हरेक पल ईश्वरको आशीष हो।

    समय खेर फाल्नु भनेको
    पानी बिना माछा बन्नु जस्तै हो,
    सपना बिना शरीर, साधना बिना आत्मा,
    सकारात्मक कर्म बिना सन्नाटा,
    आत्मालाई बन्धनमा राखेर सडाउँनु जस्तै हो,
    कर्म बिना आत्मा निर्जीव बन्छ।

    समयमै पढ –
    ज्ञानको दीप बाल, आत्मालाई उज्यालो पार,
    समयमै प्रेम गर –
    पवित्र प्रेमको पुष्प फुलाउ, परमात्मासँग मिलाऊ,
    समयमै समाजलाई सेवा गर –
    साधन होइन, साधनाका स्रोत बन।

    समयमै सन्तानलाई संस्कार दे,
    उनको अन्तरात्मामा सत्य र प्रेमको बीउ रोप,
    समयमै संसार घुम, सृष्टिको अद्भुतता अनुभव गर,
    समयमै आत्मालाई उचाल, योग र ध्यानमा लीन गर,
    समयमै आफैलाई चिन्दै जान,
    किनकि आत्मा चिनेर मात्र परमात्मासँगको यात्रा सुरु हुन्छ।

    सत्य यही हो:
    समयको सागरमा हरेक पल मोती हो,
    त्यसलाई टिपेर आफूलाई र अरुलाई उज्यालो पार,
    हरेक क्षणमा ईश्वरको करुणा छ,
    हामी त्यसमा प्रेमको डुबकी मार्नुपर्छ।

    अन्ततः,
    समयको स्पर्शले मात्र आत्माको सुगन्ध फैलिन्छ,
    समयको साधनाले मात्र साध्य पुगिन्छ,
    समयमै गर जे राम्रो गर्नु छ,
    किनकि समय नै त साक्षात् शाश्वत गुरु हो,
    समय नै त ईश्वरको उपहार हो, जीवनको सर्वोच्च साधन हो।-

    -(रतुवामाई ५ मोरङ)

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार २५, बुधबार ११:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP