तोमनाथ उप्रेती
ड्रोनको डमरू बज्यो,
बमका बाँसुरीले बर्बादीको गीत गुन्जायमान गर्यो,
आफूलाई ‘शान्तिका सारथि’ भन्दिएका शेरहरूले
स्यान्टिफिक सहरमा स्फोटकको संगीतमाला छरिदिए।
आशा र अधिकारका आँसुहरू,
आणविक आलयका आराधनामा बगे,
‘न्याय! न्याय!’ भनेर चिच्याउँदा
नाटोका नोटबुकहरूमा ‘न’ लेखियो।
डलरको डमरु, ड्रोनको नृत्य,
डाडुपन्यौ र डिप्लोमसीको डाडुमा उम्लिरहेको रगत,
‘शान्ति’का श्लोक पढ्नेहरू
शेलक र स्यान्डल लगाएर सिगारको मुस्कान छरिरहेका छन्।
तर न्याय?
न्याय त डस्टबिनको दलदलमा डुबिरहेको छ,
ह्यागक्वे अदालतका आँगनमा आँसु टप्काइरहेको छ,
इरानी आमाहरूको ओठमा ‘क्षतिपूर्ति’को शब्द
कफनका तानाभित्र हराइरहेको छ।
‘अन्तर्राष्ट्रिय कानुन!’ भन्दै होहल्ला गर्नेहरू
बिलियन्सका बम बिजेटमा बार्गेनिङ गरिरहेका छन्,
एक राष्ट्रको स्वतन्त्रता र sovereignty
सुपरपावरको सिग्नेचरले सलाम खाँदैछ।
ड्रोन नाच्दा
बच्चाहरूको स्कूल,
अस्पतालका हल,
अलिकति आकाश र अलिकति आशा –
सबै धुवाँ बनेर उडिरहे।
तर ‘न्याय’ भनेको
कागजका पानामा मात्रै बाँकी छ,
चार्टरका चोक्टामा क्याप्स लकमा लेखिएको छ,
क्याफेमा कफीसँग छलफल हुने विषय मात्र बनेको छ।
ड्रोनहरू नाच्दा न्याय रोइरहेछ,
तर बारुदका मालिकहरू हाँसिरहेका छन्,
कानुनका किताबहरूमा कम्याटिक कविताजस्तै
‘राज्य उत्तरदायित्व’का हरफहरू निदाइरहेछन्।
(रतुवामाई ५, मोरङ_)
प्रतिक्रिया