युद्धको पागल राग
तोमनाथ उप्रेती,
उपसचिव, नेपाल सरकार
घामसँगै उठ्छ, बारुदको गन्धमा बग्छ,
डनिप्रोको नदीले रातो रक्त आँसु बगाउँछ,
किएभको चिसो आकाश च्यात्दै
लोहेजस्तै चर्किएको क्षितिजमाथि ड्रोनहरू चिहाउँछन्।
ट्यांकरहरूको पेटभरि आगो,
धर्तीका नसा च्यातिन्छन्,
पुलहरू काठको किराझैँ खस्छन्,
निलो आकाशमा युद्धक विमानले कालो कोइला लेख्छ।
सिमानामा बसन्त कहिल्यै आउँदैन,
त्यहाँ मात्र शरदझैँ रुखहरू नाङ्गा हुन्छन्,
गोलाबारुदको फूलहरू फक्रिन्छन्,
र मृत्युलाई पूजा गर्छन् बालकहरू।
सहरका आँखा रातभर जागा छन्,
मस्कोको रातलाई किएभको चिच्याहटले दुखाउँछ,
डाच्ने गाउँ, खानीका सिँढीहरू,
रुपाहरू झैँ चकमक गर्छन् बम विस्फोटहरूमा।
शान्ति यहाँ एउटा थकित यात्री हो,
गोलाहरूको तुफानमा चिट्ठी खोज्दै भौतारिन्छ,
ड्रोनका पंखहरू कालो गिद्ध हुन्,
आकाशमा रक्तको सुगन्ध खोज्दै उडिरहेका।
यहाँ युद्ध एउटा पागल राग हो,
पुटिनको मेजमाथि राखिएको चेसको राजा,
ट्रम्पको जुबानमा गड्गडाउँदो गर्जन,
र बाइडेनका कागजहरूमा रगतको रेखा।
शान्तिको सपना यहाँ
खोलामा बग्दै गएको पेन्सिल हो,
गाँठो परेको धागो हो जो खोलिँदैन,
मातृभूमिको छातीमाथि राखिएको टुक्रिएको बाँसुरी हो।
तर अझै, एउटा आमा आफ्ना छोराहरूलाई बोलाउँछिन्,
र एक सैनिक युद्धको बिचमा आफ्नो घर सम्झन्छ,
जुन दिन यी आगोका गीतहरू शान्ति बनलान्,
त्यो दिनको पर्खाइमा हिउँ परिरहेको छ,
डनिप्रोको छेउ, शून्यमा काँपिरहेको छ।
प्रतिक्रिया