logo
  • २०८२ चैत्र २० | Fri, 03 Apr 2026
  • निर्वासनको युद्ध

    निर्वासनको युद्ध

    निर्वासनको युद्ध

    तोमनाथ उप्रेती,

    ट्रम्पको टेबलमाथि नक्सा छ,
    रङ्गहरू बग्दैछन्, सीमाहरू बिलाउँदैछन्,
    रातो पेनले घेरिएका छन् लाखौँ अनुहारहरू,
    मूलुकको सासले आफ्नै छायालाई धोका दिएको छ।

    हातमा कानून होइन, बञ्चरो लिएर उभिएको छ
    ‘स्वप्नको देश’को गेटमा,
    गेटको माथि लेखिएको छ–
    “यहाँ प्रवेश निषेध,
    यो देश अब टेम्पररी स्वप्न होइन।”

    ICE का बूटहरू सडकमा गर्जन्छन्,
    हावामा टाँगिएका छायाहरू काट्दै,
    रेस्टुरेन्टका भान्सामा पकिरहेको रोटीको वासना
    डरको बारुदले छोप्छ,
    शिशुका खिलखिलाहटहरू
    हिरासतका पर्खालभित्र बन्धक बनाइन्छन्।

    यो युद्ध छ,
    ट्यांकरको होइन, बारुदको होइन,
    यो युद्ध छ, परिचयपत्र र कागजातको,
    रातो टाँकेका अक्षरहरूको युद्ध,
    “DEPORTATION ORDER” को तर्फबाट चर्किएको युद्धघोष।

    एफबीआई, पार्क पुलिस, IRS,
    सबै मिसिन्छन् युद्धको मैदानमा,
    र एक जनाको हातबाट छुटेको पासपोर्ट
    जस्तै खसेको फुलको पात झैं लाचार बग्छ।

    ग्वान्टानामोका छाँयाहरू अमेरिकी सपनामा
    अझै झुन्डिरहेछन्,
    एल साल्भाडोरका कारागारहरूमा
    मानवता झुण्डिएको छ,
    हिरासतको घडी सधैँ
    सासको गतिमा सुई गुजार्छ।

    ट्रम्पको भाषण युद्धको ड्रम हो,
    “Make America Great Again” को युद्धमन्त्र हो,
    र निसास्सिएका सासहरूले
    रातको तीन बजे पनि अलार्म बजाउँछन्,
    “डोरबेल बज्यो,
    शायद ICE आयो।”

    हजार डलर र फ्री उडानको लोभ देखाएर
    आफ्नै सपना, आफ्नै घर फर्काइन्छ,
    र थोरैलाई शान्ति,
    तर धेरैलाई बिदाईको आँसु,
    हवाईजहाजका सिटहरू बाढीका गिलास हुन्,
    जहाँ स्वप्नहरू तैरिरहेछन्।

    यो युद्ध Operation Wetback भन्दा ठूलो छ,
    श्रमका हातहरू काटेर अमेरिका आफ्नै बिमारी निम्ताउँछ,
    र बिर्सन्छ, सपनाहरूको देश,
    सपनाका मान्छेहरूले बनाएका हुन्।

    तर, मृत्युसँग साटिन तयार नहुनेहरू
    फर्किन्छन् देशमा, नितान्त नाङ्गो हात लिएर,
    र अमेरिका सुनिन्छ,
    एक सुनसान सीमामा उभिएको एक्लो स्वप्न जस्तै,
    जहाँ ट्रम्पको हस्ताक्षरले आकाश च्यातेको हुन्छ।

    यो युद्ध हो,
    कागजका सन्तानहरूमाथि चर्किएको युद्ध,
    र युद्धमा कहिल्यै जित हुँदैन,
    केवल मान्छेहरू हराउँछन्,
    केवल देशभित्र सन्नाटा पस्छ,
    केवल रातको अँध्यारोमा,
    कसैको आमा रुन बस्छिन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार २६, बिहीबार १५:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP