logo
  • २०८२ चैत्र २० | Fri, 03 Apr 2026
  • मोरङ जलधाराको ध्यान

    मोरङ जलधाराको ध्यान

    मोरङ जलधाराको ध्यान

    तोमनाथ उप्रेती

            उपसचिव, नेपाल सरकार

    बक्राहाको गर्जन
    कोशीको नाडीमा टल्किएको आत्माको थिरकाइ हो,
    जहाँ प्रत्येक छाल आत्माभित्रको करुणा भएर बग्छ,
    र पखाल्छ—अहंकारका दागहरू, मोहका मैला धाराहरू।

    चीसाङको बतास,
    जीवनका दुःखहरू सुम्सुम्याएर बग्ने अदृश्य मन्त्र हो,
    धानका पातहरूमा बिसाउने हरियो सङ्कल्पको सुस्केरा,
    जुन बतासमा पसिनाको सुवास छ—
    त्यही सुवास, जसले श्रमलाई साधनामा बदल्छ,
    अनि माटोलाई आराध्य बनाउँछ।

    बुढीगङ्गा,
    तिम्रो गर्जन कुनै बाढीको आवाज मात्र होइन,
    त्यो आत्माभित्रको निद्रित साहसको जागरण हो,
    प्रलयको छालमा पनि जीवनको सङ्कल्प बलियो पार्ने मन्त्र,
    “विनाशको गर्जनपछि पुनर्जन्मको मौनता आउँछ।”

    रतुवाको प्रवाह,
    कहिले आँसुजस्तो नीलो, कहिले पसिनाजस्तो पारदर्शी,
    तर कहिल्यै बगाउँदैन आशाका बीउहरू,
    त्यो त माटोको गर्भमा गडेर जीवन अंकुराउँछ,
    जसरी पीडामा प्रार्थना पलाउँछ,
    अनि बाढीको प्रहारमा आत्मा निखारिन्छ।

    यी नदीहरू,
    तिमीहरू जलका धारा मात्र होइनौं,
    तिमीहरू चेतनशील प्रवाह हौ, आत्माको साधना हौ,
    कर्मको यज्ञ कुण्ड हौ,
    जहाँ पसिनाका थोपा आहुति बनेर अन्न अंकुराउँछन्,
    र बाढीको विनाशले माटोलाई मलिलो बनाउँदै,
    सृष्टिको नयाँ आशिष बोकेर आउँछ।

    बक्राहाका छालहरू,
    कोशीका गर्जनहरू,
    चीसाङका बतासहरू,
    रतुवाका सुस्केराहरू—
    यी सबै आत्माको नाडी हुन्,
    जहाँ बग्दछन् दुःख, बग्दछन् आकाशका आँसु,
    र तिनै आँसुहरूबाट जीवनको उज्यालो फुल्छ।

    श्रम नै प्रार्थना हो,
    पसिना नै गङ्गाजल हो,
    र आत्मबल नै जीवनको आराधना हो—
    यी नदीहरूले यही दर्शन सुनाउँछन्,
    मौन भएर, तर गहिरिएर।

    जब बक्राहा कराउँछ,
    त्यो केवल जलको चिच्याहट होइन,
    त्यो कर्मयोगी आत्माको घण्टी हो,
    “उठ, हिँड, काम गर,
    र बाँच, किनकि बाँच्नु नै तिमीभित्रको परम ब्रह्म हो।”

    जब चीसाङले खेतका पातहरू सुम्सुम्याउँछ,
    त्यो केवल हावा होइन,
    त्यो अध्यात्मको सास हो,
    “तिमी जहाँ छौ, त्यसै माटोमा फुल,
    आशाका गन्धले, श्रमका रंगले।”

    जब बुढीगङ्गा गर्जन्छ,
    त्यो आत्मालाई जगाउने शङ्खध्वनि हो,
    र जब रतुवा बग्छ,
    त्यो बगाउँछ मोह, पाप र भय—
    तर छोडेर जान्छ आत्मा निखार्ने आशीर्वाद।

    यी नदीहरू,
    जीवन र मृत्युको बिचको अध्यात्मिक पुल हौ,
    पृथ्वी र आकाशको संवाद हौ,
    अस्तित्व र शून्यताको सङ्गीत हौ,
    जहाँ श्रम, आँसु र आशाले जीवनको गहिरो अर्थ लेखिरहेको हुन्छ।

    मोरङका यी नदीहरूमा
    हामी सबैको आत्मा एकपल्ट डुबुल्की मार्छ,
    र जब ती पानीबाट निस्कन्छ,
    आफूभित्रको ईश्वरलाई स्पर्श गरेर फर्कन्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ३२, बुधबार १२:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP