logo
  • २०८२ माघ २९ | Thu, 12 Feb 2026
  • मोरङको माटोको मलिनता र मुस्कान

    मोरङको माटोको मलिनता र मुस्कान

    मोरङको माटोको मलिनता र मुस्कान

    तोमनाथ उप्रेती

    मोरङको माटो, उर्बर र उदार, थकाइको तरलता र तृष्णाको ताप बोकेको हुन्छ। यहाँ उष्णता र आर्द्रताले सँगसँगै नाच्ने गर्छन्, ४०.५ डिग्रीको घामले पसिना चुहाउँदा १८१२ मि.मि.को वर्षाले खेतहरूलाई शीतल स्पर्श दिन्छ। तराईको समथल भूमि, मालिलो र मृदुल, धानका पातहरूमा हावाको सङ्गीत झिक्छ, अनि गहुँका बाला, मकैका बोटहरू र तरकारीका हरिया पातहरूमा जीवनको लय सुनाउँछ। यी खेतहरूमा पसिनाले जल जस्तै बहन्छ, मलिलो माटोमा मेहनतका छापहरू छोड्दै। तर, भावरका  माटोमा फाटेका पाखुराहरूको फसिलो स्वर कहिल्यै हराउँदैन। पहाडका फाँटमा सुन्तला र कागतीका बोटहरू तिमीलाई मुस्कुराउँछन्, तर बजारको दूरीले ती मुस्कानमा मलिनताको छाया हाल्छ। मोरङको हावा, कहिले मधुर, कहिले मद्धिम, कहिले मोनोलग गीत गाउने, कहिले करुण काव्य गाउने, यी सबै किसानको पौरखमा पस्दछ।

    यी खेतका आलीहरू  पानीका बहावका लागि खनिएका नाली मात्र होइनन्, ती श्रमका प्रवाह हुन्, पसिनाका पवित्र पोखरी हुन्, जसले किसानको प्यास मेटाउँछन्। खेतका कान्लाहरूमा बसेर काग र मयुरले कहिले हाँस्छन्, कहिले रुन खोज्छन्, र ती ध्वनिहरूमा माटोको इतिहासको आवाज घुल्छ। हरेक भिजेको माटोले किसानका खुट्टामा आफ्नो अस्तित्व चुमेर भनिरहेझैँ लाग्छ—“म तिमीलाई धान दिन तयार छु, के तिमी मलाई पसिनाको पानी दिन तयार छौ?” पसिना यहाँ  शरीरको निस्क्रियता हैन, यो श्रमको साक्षात्कार हो। हरेक बूँद पसिना गोडाको छापमा खस्दा, त्यो माटोमा सुनको बीउ रोपेर जान्छ।

    मोरङको खेतहरूमा अन्नका बाला मात्र हुर्किँदैनन्, संघर्षका सपना पनि अंकुरिन्छन्। बिहान चार बजे नै खाटबाट उठेर टचर्को उज्यालोमा खेततिर जाने किसानको आँखामा निद्राको बादल छैन, त्यहाँ भविष्यका सपना झुल्किरहेका हुन्छन्। बगरका पर्खालहरू छिचोलेर खेतमा पुगोस् वा आकाशको बादल फाटेर पानी परोस्, ती खेतहरूले कहिल्यै मलिनताको मुस्कान गुमाउँदैनन्। किनकि मोरङको माटोले बाँच्न सधैं संघर्ष माग्छ, र संघर्षले नै जीवनको सौन्दर्य रचना गर्छ।

    संघर्ष यहाँ उत्सव हो। पसिना चुहाएर गहुँ उमार्दा, चुल्होमा रोटि पाक्छ, अनि त्यो रोटिको वास्नामा छरिएका हुन्छन् संघर्षका अक्षरहरू। कहिले बाढी, कहिले सुक्खा, कहिले बालीको रोग—यी सबै बाधाहरूले किसानको हिम्मतको परीक्षा लिन्छन्। तर, मोरङको किसान मुस्कुराउँछ, किनकि उसलाई थाहा छ, संघर्षपछि मात्रै माटोले धन दिन्छ। माटोको मलिनता र किसानको मेहन्गी मुस्कान एउटै धागोमा गाँसिएका छन्, जसले जीवनको वस्त्र बुनिरहेको छ।

    मोरङको सडकहरूले बिहानका पाइला सम्झिरहेछन्। रबर चप्पलले कुल्चिएका धूलामाटाका पाटाहरू, काखमा बालक बोकेर खेत जान हिँडेका आमाहरू, र साइकलमा मल बोकेर हिँडेका बुवाहरू। सडकले देखेका छन् किसानका पसिनाका धारा, र सुनेका छन् उनीहरूको ओठमा फुसफुसाएका प्रार्थनाहरू। ती प्रार्थना कुनै मन्दिरको घण्टाजस्तो ठूला आवाजहरूमा होइन, माटोमा मिलेर गुम्सिएका हुन्छन्। यी प्रार्थनाहरू श्रमका मन्त्र हुन्, जसले खेतलाई पवित्र बनाउँछन्।

    परिवर्तन यहाँको अर्को नाम हो। बुवा जोतेको खेत अहिले छोराले जोतिरहेको छ, परम्परागत हललाई कहिले ट्र्याक्टरले विस्थापित गरेको छ, तर माटोसँगको सम्बन्धले कहिल्यै विस्थापन भोगेको छैन। बजारको मूल्यले कहिले किसानलाई रुने बनाउँछ, कहिले हाँस्ने बनाउँछ, तर माटोसँगको प्रेमले कहिले विछोड स्वीकार्दैन। परिवर्तन अँगालेर माटोसँग जीवन बाँध्नु मोरङको अध्यात्म हो, जसमा श्रम नै धर्म र माटो नै मन्दिर हो।

    आत्मनिर्भरता मोरङको आत्मा हो। यहाँका किसानहरूका हातहरूमा परिश्रमको पोतो हुन्छ, निधारमा पसिनाको तिलक हुन्छ, र आँखामा आत्मनिर्भरताको तेज बल्छ। उनीहरूले ऋण माग्न जान चाहँदैनन्, उनीहरू माटो माग्न जान्छन्। किनकि उनीहरूलाई थाहा छ, माटोले सधैं फर्काउँछ—पसिनाको ब्याजमा, श्रमको सूदमा, र कर्मको प्रतिफलमा। मोरङका खेतहरू, कोशीका किनारहरू, उर्लाबारीका हरियाली पाटाहरू, अनि सुनबाँसीका आलपत्र खेतहरूमा जीवनको आत्मनिर्भरता सास फेर्छ।

    माटो, यहाँका किसानहरूको पहिलो शिक्षक हो। उनीहरूलाई थाहा छ, माटोले कहिल्यै धोका दिँदैन। पानीले खेतहरू छोड्न सक्छ, घामले सुकाउन सक्छ, तर माटोले कहिल्यै आफ्नो मातृत्व गुमाउँदैन। मोरङका किसानहरूका लागि आत्मनिर्भरता भौतिक मात्र होइन, आत्मिक प्यास पनि हो। जब बिहान सबेरै किसान हल लिएर खेततर्फ लाग्छ, उसको हरेक पाइला आत्मनिर्भरता तर्फको यात्रा हो। उसको हातका दागहरूले उसलाई सम्झाउँछन्, “तिम्रो श्रम नै तिम्रो सबैभन्दा ठूलो सम्पत्ति हो।”

    मोरङको माटो साक्षी छ कि यहाँका मानिसहरू आफ्ना आवश्यकता पूरा गर्न आफ्नै श्रममा विश्वास गर्छन्। उनीहरूलाई थाहा छ, सहयोग माग्नुपर्‍यो भने पनि श्रम गर्नुपर्छ, तर आत्मसम्मान गुमाएर बाँच्नुभन्दा पसिना बगाएर बाँच्नु राम्रो हो। खेतमा उम्रेको प्रत्येक बिरुवामा उनीहरूको मेहनत मिसिएको हुन्छ। उनीहरूको छोराछोरीहरू स्कुलमा पढ्न जान्छन् भने त्यो माटोले दिएको अन्नको सुँगन्ध र पसिनाले आर्जेको पैसाबाट सम्भव भएको हुन्छ।

    यहाँ आत्मनिर्भरता सपना होइन, जीवनको आवश्यकता हो। मोरङका किसानहरूलाई आफ्नो छोराछोरीका लागि ऋणको दासी बनेर होइन, श्रमको बादशाह भएर बाँच्न मन लाग्छ। जब उनीहरू खेतमा काम गर्छन्, कोशीको छेउमा पानी तान्छन्, उनीहरू आत्मनिर्भरताको मन्त्र जपिरहेका हुन्छन्। हरेक पसिना टपक्क झर्दा, त्यो पसिना माटोसँग गाभिन्छ, अनि त्यो गाभिएको पसिना अर्को दिन बिहानको उज्यालोमा अन्नको बिउ बनेर अंकुराउँछ।

    मोरङका खेतहरू कुनै साधारण भूमि होइनन्, ती तपस्वीका कक्षहरू हुन्, जहाँ किसानहरूले आत्मनिर्भरता, धैर्य, करुणा र कर्तव्यको साधना गर्छन्। उनीहरूले दुःखहरूलाई काखमा राख्छन्, अनि आशालाई आँखा अगाडि राखेर दिन कटाउँछन्। उनीहरूको आत्मनिर्भरता नै उनीहरूको सान छ। उनीहरूको स्वतन्त्र आत्मा नै उनीहरूको सम्पत्ति हो। उनीहरूलाई थाहा छ, माटोले नजिक ल्याउँछ, समुदायमा एकता ल्याउँछ, अनि भोलिको दिनलाई सुरक्षित गर्छ।

    यही कारण मोरङका खेतहरूमा बालीनाली मात्र हुर्किँदैन, सपनाहरू पनि हुर्किन्छन्। उनीहरूको आत्मनिर्भरता मोरङको मुटुको धडकन हो। त्यो धडकनले बताइरहेको छ, “तिम्रो श्रम नै तिम्रो भविष्य हो।” त्यसैले मोरङको माटोले बारम्बार सम्झाउँछ—”जहाँ छौ, जसरी छौ, त्यहींबाट आफ्नो यात्रा सुरु गर, माटोसँग मित्रता गर, पसिनासँग सम्झौता गर, र आत्मनिर्भरता अँगाल। किनकि यही आत्मनिर्भरता नै तिमीलाई सुरक्षित राख्ने आमा हो, सशक्त बनाउने गुरु हो, र शान्त बनाउने साधना हो।”

    मोरङको खेतका आलीहरूमा बसेर कहिले सूर्यास्त हेर्नुहोस्, जहाँ आकाश सुनौलो हुन्छ, र हावा चिसो हुन्छ। त्यही बेलामा सुनिन आउने चराहरूको आवाज, खेतमा बसेका किसानको गहिरो सास र माटोको गन्ध—यी सबै आत्मासँगको संवाद हुन्। माटोले भन्छ—“मलाई छु, मलाई सुम्सुम्याउ, मलाई मोल, अनि मलाई बुझ।” माटोसँगको संवाद नै अध्यात्म हो, किनकि माटोले जीवन दिन्छ, र जीवन आफैंमा ईश्वरको उपहार हो। मोरङले सिकाउँछ—“विकासका नाममा माटोलाई बिर्से जीवनले दिशा हराउँछ। साँचो विकास माटोको स्पर्शबाट सुरु हुन्छ।”

    रातको समयमा, जब बिराटनगरका बत्तीहरू टिमटिमाउँछन्, र आकाशमा तारा चम्कन्छन्, खेतका परबाट कहिलेकाहीँ मेघहरूको गड्याङगुडुङ आवाज आउँछ। त्यो आवाजमा माटोका सपना छन्, पसिनाका कथा छन्, र संघर्षका गीतहरू छन्। ती गीतहरू आत्मामा गुन्जिन्छन्, र सिकाउँछन्—“संघर्ष बिना फसल हुर्किँदैन, र श्रम बिना जीवन फक्रिँदैन।”

    मोरङको माटो, यसको मलिनता र  मुस्कानको कथा,  कृषि र अर्थतन्त्रको कुरा होइन, यो हाम्रो आत्माको कथा हो। जुन माटोसँग जोडिएको छ, पसिनासँग गाँसिएको छ, र आत्मसम्मानसँग नाङ्गिएको छ। मोरङका किसानहरूले दैनिक लेखिरहेका छन् एउटा अदृश्य महाकाव्य—जुन महाकाव्यमा आत्मनिर्भरता, श्रमको पवित्रता, संघर्षको सौन्दर्य, परिवर्तनको स्वागत र अध्यात्मिक विकासका श्लोकहरू अंकित छन्।

    मोरङको माटो हरेकलाई बोलाउँछ—“मेरो मलिनता नडराऊ, मेरो गन्धलाई प्रेम गर, अनि तिमीलाई जीवनको गहिराई थाहा हुनेछ। तिमी मेरो बगरमा उभिँदा, तिमी आफ्नो आत्मामा उभिएको हुनेछौ।”

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ३२, बुधबार २०:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP