तोमनाथ उप्रेती
मोरङको माटो बोल्छ शान्त स्वरमा,
“मलाई छुन आउ, पसिनामा रम्न आउ,
मेरो मलिनतामा, जीवनको सुगन्ध पाउँ,
मेरो कालो छायाँमा, तिमी आफ्नो प्रकाश भेट्टाउँ।”
पसिनाको एक बूँद खस्दा,
माटोले सन्देश लेख्छ,
“संघर्ष बिना कुनै बीउ फक्रिँदैन,
श्रम बिना जीवन मुस्कुराउँदैन।”
घामले पोल्दा शरीरको छाला,
हावा सन्तापको स्पर्श ल्याउँदा,
बजारको कोलाहल टाढा हुँदा,
माटोले आँचल फिजाएर भन्छ—“म यहि छु।”
कृषकका गोडामा लागेको माटो,
धर्तीको आशीर्वाद जस्तो,
पसिनाले चुमिएको खेत,
साधकका ध्यानको शिखर जस्तो।
त्यो सानो बीउ जुन माटोमा राखिन्छ,
त्यही बीउमा सपनाहरू उम्रन्छन्,
त्यही बीउमा भविष्यको रूप साँचिन्छ,
त्यही बीउमा पृथ्वी र आत्माको बन्धन गाँसिन्छ।
मोरङको माटोको मलिनता,
कुनै दीनता होइन,
यो जीवनको सौन्दर्यको रंग हो,
यो आत्मनिर्भरता र कर्तव्यको गीत हो।
पसिना, प्रार्थना, र माटो,
यी तीन पवित्र धागोले बुन्छ जीवनको वस्त्र,
जहाँ संघर्ष नै पूजा हुन्छ,
र खेत नै मन्दिर हुन्छ।
साँझको हावा जब खेतमा सुसाउँछ,
त्यो सुसावटमा आत्माको स्पन्दन मिसिन्छ,
माटो भन्छ—“आऊ, मेरो काखमा विश्राम गर,
किनकि ममा विश्राम छ, र विश्राममा नै ईश्वर छन्।”
मोरङका किसानका आँखामा बल्ने उज्यालो,
कुनै दीप मात्र होइन,
यो श्रमको तेज हो,
यो माटोमा गाडिएको विश्वासको ज्वाला हो।
हे यात्रु!
यदि तिमी जीवनको अर्थ खोज्दै छौं भने,
मोरङको खेतमा नाङ्गो खुट्टा राख,
पसिनाको बास्ना सुँघ,
र आत्माको आवाज सुन।
माटो भन्छ—
“म तिमीलाई धान दिनेछु, तर पसिनाको पानी चाहिन्छ,
म तिमीलाई जीवन दिनेछु, तर संघर्षको संगत चाहिन्छ,
म तिमीलाई आत्मशान्ति दिनेछु, तर मसँग साँचो मित्रता चाहिन्छ।”
मोरङको माटोमा लुकेको छ अध्यात्म,
त्यहाँ छ श्रमको आराधना,
त्यहाँ छ संघर्षको शान्ति,
त्यहाँ छ माटोसँग प्रेम गर्नेहरूको विजयगान।
त्यसैले सम्झ,
मोरङको माटो तिमीलाई बोलाउँछ,
“मेरो मलिनतामा तिमी आफ्नो स्वच्छता पाउँ,
मेरो गन्धमा तिमी आत्माको सुगन्ध भेट,
मेरो मौनतामा तिमी ईश्वरको स्वर सुन्न सिक।”
प्रतिक्रिया