तोमनाथ उप्रेती
विराटनगरका सडकहरूमा,
धूलो उड्छ, पसिनाको गन्ध फैलिन्छ,
चिम्नीहरू धुवाँ फुक्छन्,
तर त्यस धुवाँमा सपना मिसिन्छ।
जुट मिलको साइरनले बिहान झक्झक्याउँछ,
त्यो आवाज कुनै हुलाक होइन,
कर्मयोगको घण्टी हो,
जसले सहरलाई जागरणको साधनामा बसाउँछ।
मजदुरका हातहरूमा फुटेका छाला,
ठेलागाडाको चर्को आवाज,
चिया पसलमा उम्लिरहेको तातोपानी,
यी सबै तपस्या हुन्, मन्त्र हुन्, ध्यान हुन्।
विराटनगरको हावामा पसिनाको सुवास छ,
धुवाँमा संघर्षको गन्ध छ,
गल्लीहरूमा हिड्ने प्रत्येक पाइला,
भुईँलाई पवित्र गर्दै जान्छ।
चिम्नीबाट निस्केको धुवाँ,
आकाशको निलोमा हराउँदा,
त्यो हराउँदैन, रूप बदल्छ,
र कर्मको स्वर बनेर फर्किन्छ।
यहाँ श्रम पूजा हो,
कर्म ध्यान हो,
र पसिना अभिषेक हो,
यी तीनै आत्मालाई ईश्वरतिर लैजान्छन्।
मजदुरका आँखा भिजेका छन्,
भोकका धागोहरूले नयन गाँसेका छन्,
तर ती आँखा हारेका छैनन्,
उनीहरूमा आशाका चाङहरू पलाउँदै छन्।
विराटनगरका सडकहरू,
केवल आवागमनका लागि बनेका छैनन्,
यी तीर्थ छन्, जहाँ श्रम शिवलाई चढाइन्छ,
र प्रत्येक पाइला आराधना बन्छ।
चिया पसलका धुवाँका रेखाहरू,
जुन आकाशमा हराउँछन्,
तिनीहरू प्रार्थनाका स्वर हुन्,
जुन मौन भएर पनि गुन्जिन्छन्।
आकाशमा चम्किने ताराहरू,
कारखानाका बत्तीहरू,
यी कुनै सजावट होइनन्,
यी श्रमका दीप हुन्, संघर्षका ज्योति हुन्।
विराटनगर भन्छ—
“कर्म गर, त्यसैमा ईश्वर भेटिन्छ,
पसिनालाई चुम, त्यसैमा जीवनको रस भेटिन्छ,
संघर्षलाई अँगाल, त्यसैमा आत्माको उज्यालो भेटिन्छ।”
रात पर्छ, बत्ती बल्छन्,
त्यो उज्यालो मजदुरको सपना हो,
मजदुरका हातहरू, पसिनाका थोपाहरू,
यी सबैले भोलिको बिहान सिर्जन्छन्।
विराटनगरको व्यस्तता अध्यात्म हो,
यसको व्यथा प्रार्थना हो,
यी व्यस्त पाइला, यो धुलो, यो धुवाँ—
यी सबैमा ईश्वर बस्छन्।
प्रतिक्रिया