logo
  • २०८२ माघ १२ | Mon, 26 Jan 2026
  • विकासको दिवास्वप्न 

    विकासको दिवास्वप्न 

    तोमनाथ उप्रेती

    देशको कुन कुनामा कुखुराको राज चल्छ,
    जंगलको पनि मन्त्रिपरिषद् छ—भाले बाँच्छ, बाँच्न दिन्न अरूलाई,
    वनकुखुरा उड्दैन, तर बजेट उडाउँछ,
    हात्तीले गिज्याउँछ—”अब त तिमीहरू पनि नेता भयौ!”

    पग्लिएको कालो पदार्थको नशा छ सांसदका आँखामा,
    तेल होइन त्यो—जनताको पसिनाको निचोरेको घाम हो,
    चिलाउने खोकी बजेटको बेमौसमी चिठ्ठा हो,
    र खोक्दा निस्किन्छ—संसद्‌को घन्कोमा मिसिएको दलालहरूको घोषणापत्र।

    अरिङ्गाल बोल्दैन, टोक्छ—जस्तै बिचौलिया,
    गुणस्तरविहीन विकास योजनाका नालामा डुबेको सपना हो त्यो,
    अरिङ्गालको रानी भनेको हो–”पार्टी केन्द्रीय समिति”,
    जहाँ काम भन्दा पनि ‘कमिसनको मधुमास’मा झुमिन्छ देशको भविष्य।

    गाडीको साइरनमा गाउँ उठ्छ,
    तर त्यो गाडी चढ्ने ‘विदेश भ्रमण’को कार्ड हो–”स्पोन्सरशिप!”
    गाउँको धुलो नदेख्ने मान्छे युरोपको हरियालीमा नीति बनाउँछ,
    पशुपतिमा चिउरीको फूल सुक्दै जान्छ, जेनेभामा ‘सस्टेनेबिलिटी’को गीत गुञ्जन्छ।

    जनताले भोकै पेटमा बजेट पारित गरेको हेरे,
    बजेटको पाना उल्टाउँदा भाउजुको एम्बुलेन्स बिजनेस भेटिन्छ,
    र ससुरालीको बाँझो खेतमा “एग्रो प्रोजेक्ट” लेखिन्छ,
    योजना कार्यान्वयनको चियामा चीनी बढी भयो–किनभने निर्णय ‘सेक्रेट’ रेसिपी हो।

    यहाँ अनुगमन भन्नु भनेको फोटो सेसन हो,
    त्यसपछि “फाइल नचला, मन्त्रीज्यू दौडनु” कार्यक्रम सुरु हुन्छ,
    जनताको पीडामा ‘प्लास्टिक मुस्कान’ मिसाइन्छ,
    र देशको बजेटमा ‘सेल्फी फिल्टर’ थपिन्छ।

    सडकमा लडेका छन् सपना—पुराना योजना झैँ च्यातिएका,
    सडकमा उभिएका छन् नेताहरू–फोनमा नयाँ डिल गर्दै,
    अनि एउटा पत्रकार सोध्छ—”सर, जनताको अवस्था?”
    जवाफ आउँछ–”यो त हामीले पत्ता लगाइसकेका छौँ, अब त कार्यान्वयन तिर जानुपर्छ!”

    त्यही कार्यान्वयन हुन्छ–ठेकदारको ‘भान्जा’को कम्पनीमार्फत,
    जो हालै बनाइएको पुल तेस्रोपटक भत्काइसकेको छ,
    पुल होइन त्यो–भविष्यको सपनाको गेट हो,
    जहाँ ‘समृद्ध नेपाल’ लेखिएको बोर्ड ‘अस्थायी रूपमा हटाइएको’ छ।

    राति जनताको पीडा सुत्दैन,
    दिनमा उनीहरू श्रम गर्छन्, नीतिको टोपी लगाउनेहरू सपना बेच्दछन्,
    एकजनाले भन्यो–”म देश बनाउन विदेश गइँ,”
    ऊ फर्किँदा देश अझै बनिरहेको थिएन, तर विदेशले ऊ निर्माण गरिसकेको थियो।

    यसरी छ राष्ट्र निर्माणको कथा–
    वनकुखुरा, अरिङ्गाल, कालो पदार्थ र खोकी मिलेर लेखिएको,
    जहाँ स्पोन्सरशिपमा उडाइन्छ धूलो,
    र बन्छ नयाँ ‘कार्ययोजना’—“जनताको पीडामा डिप्लोमासँग फोटो खिचौं अभियान!”

    रतुवामाइ, ५ मोरङ_

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १६, शुक्रबार ११:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP