तोमनाथ उप्रेती
धुलोले ढाकिएको क्षितिजमुनि
कहिले आकाशले देखेको थिएन—
यति धेरै आँसु, यति धेरै रगत।
बिना चिहान गाडिएको इतिहास जस्तो,
गाजा फेरि बोलिरहेको छ:
“हामी बाँच्न खोजेका थियौं, मर्न हैन!”
शिशुहरूको हाँसो होइन,
कुपोषणको पीडा बोकेर चिच्याउने नीरव क्रन्दन छ यहाँ।
जहाँ आँखा कहिल्यै पुरा पेटले निदाउँदैन,
र आमाको दूध सुकिसकेको छ—
न प्रीतिले, न प्रेमले,
भोकले।
एउटा नाङ्गो आकाशमुनि,
ती बालकहरू छन्—
जसका न त खुट्टामा चप्पल छ,
न आँखामा भविष्य।
उनीहरू स्कूल जाँदैनन्—
कागज र कलम होइन,
उनीहरूको हातमा ढुंगा छ,
शब्द होइन,
क्रोधको भाषा छ।
शब्द कहाँबाट ल्याउने तिमीलाई?
जब तिमीले बोकेको भाषा नै
बमको आवाजले लीलिसकेको छ,
जब तिमी बोल्न खोज्छौ
तर तिम्रो सास निस्किँदैन,
किनकि त्यो रन्ध्रमा
धुँवाको भुँइचालो चलेको हुन्छ।
आमाले खाटमा सुताउने होइन,
एक ढुंगाको छायामा निदाउने हो तिनीहरू,
जहाँ सपना—
केवल मृत्युको मुख हेर्ने साहस हो।
“म मर्न चाहन्न,”
एक बालकको अन्तिम शब्द थियो—
तर त्यो शब्द पनि
बुलडोजरले थिचिएको छ।
र त्यो आमा?
उसको छाती खाली छ—
दूध हैन,
दुःखले बगेको
गाढा पीडाको दूध।
उसले खुवाउँछ आफ्ना छोरालाई—
एक हातले आशा, अर्को हातले रुन नपाउने धैर्य।
भोकले उसलाई जन्म दिएको छैन,
मृत्युले आमा बनाएको हो।
संयुक्त राष्ट्रसंघका अधिकारीहरू,
तपाईंको कुर्सी मुनि
कति शिशुका शव गाडिएका छन् थाहा छ?
तपाईंले त रिपोर्ट लेख्नुभयो—
तर त्यो आमाको सास लेख्न सक्नुभयो?
“म आमा हुँ, तर किन मेरो छोरालाई मरेको देख्नु पर्यो?”
उसको प्रश्न, आकाशले मात्र सुन्छ।
र, हे अमेरिका!
तिमीले गिफ्ट दिएका होलान्—
हजारौं डलरका बम,
तर एउटै रोटी पनि
सिमाना पार गर्न पाएन।
मानवता सधैं
तिम्रा राष्ट्रहितको नोटमा बेचीन्छ।
यो युद्ध—
धर्मका नाममा हैन,
अधिकारका नाममा हैन,
मानवताविहीनताको अन्तिम प्रमाण हो।
जहाँ एक राष्ट्रले आफ्ना सीमाना विस्तार गर्न
अरूको चिहान खोसिरहेको छ।
जसरी इजरायली सेनाले
“मानव ढाल” भनेर शिशुलाई गोली हान्छ,
त्यसरी नै हामी—
“डिप्लोमेसिको भाषा” भन्दै
मौन बस्छौं,
पृथ्वी नै एउटा युद्धभूमि बन्छ,
जहाँ न्यायलाई
केवल इतिहासको खण्डहरमा खोज्न सकिन्छ।
शिशुहरूले बनाउने चित्रमा
पहिले सुर्य हुन्थ्यो, आमा हुन्थिन्, फूल हुन्थे—
अब त्यहाँ ट्यांक हुन्छ,
रगतको नदी हुन्छ,
र बम पड्किनु अघि लेखिएको–
“आई लभ यू ममा”
कसैले सुन्दैन त्यो चिठी,
किनकि चिठीले
रातो आँसु बगाइरहेको छ।
कुन दिन सम्झनुहुन्छ?
शिशुको हातले कोरेको हाँसो?
त्यो हाँसो अब छैन।
युद्धले त्यसलाई
अस्पतालको मृत कोठामा लगेर
डोरीले बाँधिदिएको छ।
अन्नको माटोमा रक्तको सिँचाइ गर्नु—
कसरी ‘संविधान’ बन्छ संसारको?
किन युद्ध चाहिन्छ?
के बालबालिकाको लाशबाट
राष्ट्र निर्माण हुन्छ?
के आमाको चिहानमाथि झण्डा फहराउँदा
गर्व गर्छ मान्छे?
केत्यो झण्डा रगतले पनि रङिने छैन?
बोल!
हे राष्ट्रसंघ,
बोल अब!
कागज च्यातिन्छ जब आँसुले लेखिन्छ।
संविधान निरर्थक हुन्छ
जब आमाले आफ्नै गर्भमा भूखले मरेको शिशु बोच्छिन्।
के ‘अकाल’ घोषणा गर्न
कुनै अर्को चिहानको संख्या चाहिन्छ?
पेटको आवाज
प्रस्ताव होइन—
युद्धविराम हो।
रोटी दिने हात
सधैं ट्यांकभन्दा शक्तिशाली हुन्छ।
तर यहाँ युद्ध हुन्छ,
किनकि शान्तिको मूल्य छैन—
मूल्य त केवल हतियार किन्ने अनुबन्धमा छ।
गाजाको बालक,
उ गाह्रोले पनि बाँचेको छैन—
उ “साक्षी” हो,
एक आधुनिक सभ्यताको विनाशमा।
र, एक आमा,
उसको सास पनि अब वक्य होइन—
एक धर्मको पुकार हो,
जसले युद्धका सबै प्रवक्तालाई मौन पार्नेछ।
कसैले सुन्नेछ?
कसैले बोल्नेछ?
कि हामी सबै एकदिन
तिनै बालकको आँखाबाट
हाम्रा आत्मा हेर्न बाध्य हुनेछौं।
त्यस दिन,
हामीले न्यायको नाममा बोलेका सबै शब्द—
आँसुले पखालिनेछन्।
प्रतिक्रिया