logo
  • २०८२ चैत्र २ | Mon, 16 Mar 2026
  •    कथाः घनश्यामको घरफिर्ती

       कथाः घनश्यामको घरफिर्ती

                                             कथाः घनश्यामको घरफिर्ती

                                             तोमनाथ उप्रेती

    बादल घुमिरहेको थियो—जसरी कुनै पुरानो पीडाको मनोवृत्ति घुम्छ। आकाशले टोलाएको थियो, मानौँ उसले पृथ्वीबाट फर्केर आएको कुनै प्राणीको कथा सुन्न बाँकी राखेको थियो।

    बक्राहा नदी, जसले सधैं बगेर आत्मा पखाल्थी, आज एकटक हेरेर उभिएकी थिई। रतुवाको सतह छचल्किएको थिएन, तर उसले गहिरो श्वास फेरिरहेको अनुभव हुन्थ्यो।

    गगनको रेखाहरू एकाएक च्यातिँदै थिए। चीलहरू झस्किंदै माथि उडे। बासँगै वर्षाका थोपाहरू जमिनमा ठोक्किन थाले—जसरी कुनै भुलिएको नाम फेरि स्मरण हुन लाग्छ।

    रुखहरू झुकेका थिए, तर उनीहरूको पातहरू बादलतिर कुर्लिरहेका थिए। मानौँ, वनस्पतिहरूले चिच्याएर भन्थे—”उनी फर्किंदै छन्। अब फर्किंदै छन्!”

    घामले हिम्मत हारिसकेको थियो। वायुले भने हार मानेको थिएन। गाउँभरि एक किसिमको सुस्केरा फिँकिएको थियो—न त डर, न त उत्सव—केवल प्रतीक्षा।

    कल्याणपुरदेखि उर्लाबारी जाने बाटो—भीडभाड थिएन। बसहरू र गाडीहरू झमझम पानीलाई चिर्दै बिस्तारै बगिरहेका थिए, जसरी कुनै कथा समयको धारसँग बग्छ।

    त्यही सडकको बायाँपट्टि, एउटा पुरानो जीप रोकिएको थियो। त्यो जीप भित्र कुनै स्वर्णमण्डित आकांक्षा थिएन। केवल थकित आँखाहरू थिए, जसले दश वर्षको पसिनालाई बगाएर ल्याएका थिए।

    त्यस जीपको ढोकाबाट एक जोडी खुट्टा निस्किए।

    बालुवाको लवणता बोक्ने, अनि अहिले मोरङको चिसो माटोमा टेकेका—घनश्यामका खुट्टा।

    हावा रोएको थियो।
    कुकुरहरूले एकैपटक भुँकेको थियो।
    पन्छीहरू झाडीभित्र लुकेका थिए।

    तर नदी चुप थियो। रतुवा सुनिन्थ्यो, तर बग्दैनथ्यो।

    र,कथाको यात्रा त्यहीँबाट सुरु भएको थियो—जहाँ सारा प्रकृति बोल्न खोज्दै पनि बोल्न सक्दैनथ्यो।

    त्यो साँझ पनि, हिजोकोजस्तै चिसो थियो। आकाश फेरि घमाइलो हुन सकेको थिएन। कुहिरो गडगडाएर झरिरहेको थियो, र आकाशले प्रायः यस्तै गरिरहन्छ—जब कुनै ठूलो निर्णय जमिनतिर ओर्लिँदैछ।

    घनश्याम चौतारोतिर अघि बढे। पुरानो चौतारो अझै त्यहीँ थियो—काठ अलिअलि गलिसकेको, तर सम्झनाका पाइला अडेस लगाउने ठाउँ चाहिँ सधैंभरिको।

    त्यहाँ आठ जना युवा जम्मा भइसकेका थिए। कोही खेतमा जोत्न छाडेर आएका, कोही पसल बन्द गरेर, कोही मोबाइल बोकेर।

    “तिमी त अब खाडी फर्किँदै छौ भनेर सुनेको थियौँ,” एकजना साथीले भन्यो।

    घनश्याम मुस्कुराए। त्यो मुस्कान कुनै परदेशको होटलमा बचेको टिप्स होइन। त्यो मुस्कान थकित आत्माको सत्य थियो।

    “फर्किँदै छैन,” उनले निश्चित स्वरमा भने। “अब म फर्किसकेको छु।” उनको मुखबाट निस्केको यो शब्दहरूमा एउटा गहिरो अर्थ थियो—दश वर्षको विदेशी जीवनको पीडा, संघर्ष र भोगाइलाई पार गरेर फर्कने निर्णयको दृढता। उनी बोल्दै गए, “दश वर्ष म बाँचें, तर किन बाँचें थाहा छैन। पैसा कमाएँ, तर मुटु हराएँ। सपना देखिन्थे, तर सपनामा म थिएन।” यस कथनमा एउटा गहिरो वेदना र विगतको आलोचना समाहित थियो। थम्किएको हावा र चौतारो छेउको पाकेको पीपलको मौनता त्यो क्षणको भावनालाई अझ गहिरो बनाउँदै थियो, मानौँ प्रकृतिले पनि उनीसँग सहमति जनाएको हो।

    उनी फेरि बोले, “अब म देशमै बाँच्न चाहन्छु। म यहाँका माटोलाई फेरि छोएर उभिन चाहन्छु। तर यो केवल खोर बनाउने कुरा होइन। अब हामी सामूहिक रूपमा सोच्नुपर्छ।” यसो भनिरहँदा उनको आँखामा एक नयाँ ज्वाला बलिरहेको थियो, जुन एक्लो प्रयासबाट होइन, सहकार्य र एकताबाट सम्भव हुने परिवर्तनको सपना थियो। त्यसै समयमा, बाङ्गो टोपी लगाएका एक युवाले उत्सुकतापूर्वक सोध्यो, “साँच्चै के गर्छौ त?” घनश्यामले जवाफ फर्काए, “कृषि। तर आधुनिक। व्यवसायिक। समूहमा आधारित। सीपमा आधारित। र सरकारी सहकार्यमा।” उनीहरूको बीच केही समय मौन भयो। त्यस मौनतामा टाढाबाट बक्राहा नदीको सानो सुस्केरा सुनिन्थ्यो, जसले झारका फेद चुमिरहेको थियो, मानौँ प्राकृतिक शक्ति पनि उनीहरूको योजना र संकल्पलाई समर्थन गर्दै थियो।

    घनश्यामले थपे, “हामी आफै लगानी गर्छौं। हामीलाई जमिन लिजमा चाहिन्छ। नगरपालिकाले प्रविधि, तालिम र पहुँच दिए पुग्छ। हामी कर तिर्छौं। मिहिनेत गर्छौं। तर वातावरण बनाइदिनुपर्छ।” उनको भनाइसँगै एक हल्का हावा चल्यो र पातहरू चुइँकाचुइँका नाच्न थाल्यो। सायद त्यो हावा र नाच्ने पातहरू कुनै ठोस निर्णय र नयाँ सुरुवातको प्रतीक थिए, जसलाई प्राकृतिक बृक्षहरूले पनि अनुमोदन गरिरहेको थियो।

    त्यो साँझ उनीहरू छुट्टिए। तर त्यो छुटाइ अस्वीकृति थिएन, बरु एउटा गहिरो संकल्प थियो। घनश्यामको आँखामा त्यो साँझ बक्राहाले केही भनेझैँ देखिन्थ्यो—”तिमी यसपालि फरक भएर फर्किएको छौ।” र त्यो भन्दा पर, रतुवा नदीले पनि हल्का बगाई दियो—जसरी लामो सुख्खापछि खोला बोल्न थाल्छ। यो संकेत थियो परिवर्तनको, पुनर्जीवनको र आशाको। प्रकृतिको यो प्रतिक्रिया, घनश्याम र उनका साथिहरूका लागि नयाँ यात्राको शुरुवात थियो।

    भोलिपल्ट बिहान घनश्याम नगरपालिकातर्फ लागे। मौसम फेरि भारी थियो। पानी रोकिएको थिएन। आकाश बगेको थियो।

    नगरपालिकाको ढोका अगाडि पुग्दा, हावा सास फेरिरहेको जस्तो लाग्थ्यो। सायद प्रत्येक परिवर्तनको थालनी सँगै प्रकृति पनि झसंग हुन्छ।

    “म नगरप्रमुख भेट्न चाहन्छु,” उनले ढोकामा उभिँदै भने।

    कार्यालयभित्रको वातावरण चिसो थियो। झ्यालबाट बगिरहेको वर्षाले सिसा बजाउँथ्यो, तर त्यो आवाजभन्दा भित्रको मौनता अझ बढी गहिरो थियो। त्यो मौनतालाई नगरप्रमुखको आँखा मात्रले तोड्न सक्थ्यो—जसमा न्यानोपनको छायाँ थियो।

    घनश्यामले अगाडि बढेर भने, “म विदेशबाट फर्किएको छु। र म फेरि जान चाहन्न।”

    उनको स्वर न त बडप्पन थियो, न त गुनासो। त्यो केवल दृढता थियो, जसरी बृक्षहरू आँधीपछिको मौनता बोक्छन्। उनले कागज झिके। “मसँग योजना छ,” उनले भने, “तर यो योजना होइन—सपनाको बीउ हो। म यिनै बीउ गाउँको माटोमा रोप्न आएको छु।”

    नगरप्रमुखले कागज पल्टाए। अक्षरहरू पढे। केही बेर चुप लागे। आँखा उठाएर मुस्कुराए।

    “हामीलाई यस्तै प्रस्तावको खाँचो थियो,” उनले बोले,
    “हामी छलफल गर्छौं। लिजको कुरा मिल्न सक्छ।
    तर युवाहरू दृढ रहनुपर्छ। तब मात्र हामी पछि हट्दैनौं।”

    त्यो वाक्यसँगै घनश्यामको मुटुमा हल्का उज्यालो फैलिएको थियो। उनी धन्यवाद दिँदै बाहिर निस्किए।

    त्यो साँझ, उनी पुरानो खोरतिर फर्किए।

    त्यहीँ—जहाँ उनले कुनै दिन सयौँ कुखुराका बाचेका आवाजहरू सुनेका थिए। अहिले त्यो आवाज हराइसकेको थियो। भत्किएको बार, टुटेको जाली, र खोरको एक कुनामा घोप्टो परेका ढोका देखेर उनलाई लाग्यो—सायद यतिखेर स्यालले यहाँ बास बस्छ।

    तर उनले त्यस खोरलाई विगतको अवशेष होइन, भविष्यको नक्सा देखे।उनले मनमनै भने, “अब यो खोर होइन—यो घाम बनाउने ठाउँ हो।”केही दिनमा गाउँ फेरि ब्यूँतिन थाल्यो।

    जुन चौतारोमा कहिल्यै विचारको स्वर हुँदैनथ्यो, अहिले त्यहीँ बैठकहरू हुन थाले।
    पुराना साथीहरू जुट्न थाले।नयाँ योजना, नयाँ उमंग, र नयाँ सोचको रस आउने थालेको थियो।”यो केवल कृषि होइन,” घनश्यामले चौतारोमा भने,”यो आत्मनिर्भरता हो।यो परदेश जाने लाचारीको अन्त्य हो।यो देशमै भविष्य खोज्ने यथार्थ हो।”

    त्यसैबीच, आरम्भ नाट्य डबलीका युवाहरू पनि योजना बुझ्न आए।
    एकजनाले हाँस्दै भने,
    “यो योजना नाटक होइन—तर इतिहास भने बन्न सक्छ।”

    यही बेला, एउटा पुरानो सन्देश आइपुग्यो। युएईबाट”सर! तपाईं फिर्ता नआउनुहुन्न?”

    घनश्याम त्यतिबेला बसको झ्यालबाट रतुवा खोला हेर्दै थिए।
    जुन खोलाले कहिल्यै आफ्नो आवाज देखाएको थिएन, आज त्यहाँ पानीको सानो छाल आएको थियो।

    उनले जवाफ टाइप गरे—
    “अब मेरो देशमा सपना बाँकी छन्।
    मलाई आफ्नै रतुवा चाहिन्छ, कतार होइन।”

    त्यो साँझ, बक्राहाको छेउमा एउटा हल्का मिठो गन्ध फैलिएको थियो।

    बर्षाको स्पर्शले भिजेको माटोले एउटा नयाँ उत्सव सुँघाएको थियो।
    बक्राहा नदी, जुन सधैं मौन रहन्थ्यो, आज केही बोल्न खोजेजस्तो लाग्यो।

    तर प्रकृति सधैं शब्द प्रयोग गर्दैन। कहिलेकाहीँ गन्ध, हावा, मौनता, र संकेत नै उसका बोली बन्छन्। घनश्यामको जीवनको नयाँ अध्याय सुरु हुँदा पनि प्रकृतिले यही शैली अपनाएको थियो। त्यो साँझ चौतारोमा फैलिएर बसेको मौनता अब डरको थिएन। त्यो संकल्पको मौनता थियो—एकप्रकारको अडान, एकप्रकारको बाचा। त्यो मौनता ठीक त्यस्तै थियो जस्तो बिरुवाले जरामा लुकाएर गरेको निर्णय—अदृश्य, तर अडिग। घनश्याम अब ती मानिस थिएनन् जसले दस वर्ष विदेशी भूमिमा पसिना बगाए, र जब-जब सास फेरे, घरको सम्झनाले थामिएको अनुभव गरे। उनी अब ती बनेका थिए—जो गाउँको हरेक गल्लीमा उज्यालो देख्थे, हरेक बालबालिकाको मुस्कानमा सम्भावना देख्थे, र जसका आँखाले माटोभित्र सुन खोज्न सक्थे। त्यो दृष्टिकोण केवल सपना थिएन, त्यो योजना थियो—सजग, सजीव, र सामूहिक प्रयासमा आधारित।

    उनले साथीहरूलाई भने, “हामीले सरकारी संयन्त्रसँग सहकार्य गर्नुपर्छ। नगरपालिकालाई कर तिर्नुपर्छ। तर हाम्रो आत्मबल हाम्रो पूँजी हो। र हाम्रो समूह, हाम्रो ऊर्जा।” यो भनाइ केवल भाषण थिएन, यो उस सोच थियो जसले उनीहरूको भविष्यको दिशा निर्धारण गर्दै थियो। ती शब्दहरूले युवाहरूमा आशाको झिल्को देखायो, जहाँ लगानी केवल पैसामा सीमित थिएन, आत्मबल र सामूहिकतामा आधारित थियो। त्यही दिन, कल्याणपुरको बस झमझम पानीमा बगिरहेको थियो। सडक चिप्लो थियो, तर दृढ थियो—जसरी घनश्यामको संकल्प। मानौँ गन्तव्य अब धेरै टाढा छैन भन्ने विश्वासले बसको टायरहरू अझ बलियोसँग घिस्रिरहेका थिए।

    बसको झ्यालबाट बाहिर हेर्दा घनश्यामले देखे—साना बालबालिका भीरको छेउमा उभिएर भिजेका पाखामा हाँसिरहेका थिए। ती निर्दोष हाँसोहरूमा अब चिन्ताको छायाँ थिएन, थियो त केवल जीवनप्रतिको सहजता र उज्यालोपन। कुकुरहरू अब चिच्याइरहेका थिएनन्, बरु गाउँले डराउँदैनथ्यो। गाउँ मुस्कुराउँदै थियो। पन्छीहरू फेरि चिरबिर गर्न थालेका थिए, र रूखहरूले फेरि सिउँदो ठाडो बनाएका थिए—मानौँ नयाँ दिनको स्वागतमा उभिएका सेनानीहरू। बक्राहा नदी पनि अब बहन खोजिरहेजस्तो लाग्थ्यो, रतुवा फेरि बग्न थालेको थियो, तर यसपटक उसले सँगै बगाइरहेको थियो गाउँका नयाँ सपना। र माटोले फेरि सपना बोक्ने गन्ध दिन थालेको थियो—त्यो गन्ध जुन किसानका हातले, बालबालिकाको हाँसोले र सहकार्यका सुस्केराले बनाइएको हो।

    घनश्याम न्यौपाने अब गाउँको सपना बनेका थिए। उनी अब ती व्यक्ति थिए जसको उपस्थितिले गाउँका युवामा आत्मविश्वासको बीउ रोपिएको थियो। उनी रतुवामाईको भविष्यका बीउ रोप्ने किसान बनेका थिए। उनले देखेको सपना अब केवल आँखा भित्र सीमित थिएन—अब त्यो सपना गाउँका खेतहरूमा फैलिएको थियो। बारीका आलीहरूमा, सिँचाइको नालीमा, युवाहरूको योजनामा र वृद्धहरूको आशीर्वादमा त्यो सपना अब बाँचिरहेको थियो।

    उनको निर्णयले गाउँलाई आफूभित्र फर्किने बाटो देखाएको थियो—विदेशको भ्रमणपछि भित्रिएको संशय हटाइदिएको थियो। गाउँ अब फेरि आफूभित्र फर्किएको थियो, आफ्नो माटो र पानीप्रति नजिकिएको थियो। त्यही दिन, बक्राहाले सम्झिएकी थिई—”घनश्याम फर्किए। यसपटक सधैंका लागि।” यो वाक्य केवल भावना थिएन; यो भविष्य थियो—स्थायी, सशक्त र सामूहिक। यही हो त्यो पुनरागमन, जहाँ फर्किनु भनेको पछि हट्नु थिएन, त्यो त अघि बढ्नु थियो—गाउँलाई साथमा लिएर।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १८, आईतवार २०:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP