तोमनाथ उप्रेती
आधुनिक समाजमा डर, घृणा र रिस प्रायः नकारात्मक भावना हुन्, जसले व्यक्तिगत जीवन मात्र होइन, समाजमा पनि अस्थिरता र द्वन्द्व उत्पन्न गर्छ। डर भविष्यमा हुने संभावित हानि वा अप्ठ्यारो अवस्थाप्रति अनुभव गरिने मानसिक असुरक्षा हो। यो भावना व्यक्तिको निर्णय क्षमता र सामाजिक सम्बन्धमा प्रतिकूल प्रभाव पार्छ। अत्यधिक डरले मानिसलाई सामाजिक सहभागिता र नवीनता अपनाउनबाट रोक्छ, जसले विकासशील समाजमा रचनात्मकता र सहकार्यमा बाधा पुर्याउँछ।
घृणा कुनै व्यक्ति, समूह वा वस्तुप्रति गहिरो अरुचि, विद्वेष वा नकारात्मक भावना हो। यो केवल असहजता वा असन्तुष्टिको अनुभव मात्र होइन, तर गहिरो मनोवैज्ञानिक प्रतिक्रिया हो जसले सोच, व्यवहार र सामाजिक सम्बन्धलाई प्रभावित गर्छ। आधुनिक समाजमा घृणा प्रायः प्रतिस्पर्धा, सामाजिक असमानता, सांस्कृतिक भिन्नता, आर्थिक विभाजन र व्यक्तिगत अपेक्षाबाट उत्पन्न हुन्छ। उदाहरणका लागि, जातीय, धार्मिक वा राजनीतिक मतभेद भएका समूहबीच घृणा देखा पर्न सक्छ, जसले सहयोग र सहिष्णुतालाई कमजोर पार्छ। घृणाले केवल व्यक्तिगत मनोविज्ञानलाई नभई समाजको समग्र संरचना र सामाजिक मेलमिलापलाई पनि क्षति पुर्याउँछ। यसले हिंसा, भेदभाव, दुर्व्यवहार र असहिष्णुताको वातावरण सिर्जना गर्छ।
रिस वा क्रोध पनि नकारात्मक भावना हो, तर यो तत्कालिक प्रतिक्रिया स्वरूप प्रकट हुन्छ। जब व्यक्ति वा समूहले आफ्नो अपेक्षा, अधिकार वा हितमा अन्याय वा बाधा अनुभव गर्छ, तब रिस उत्पन्न हुन्छ। आधुनिक समाजमा समयको अभाव, उच्च दबाब, असफलता र व्यक्तिगत आकांक्षाले रिसलाई अझ तीव्र बनाउँछ। यदि रिसलाई नियन्त्रण नगरियो भने यसले सम्बन्ध बिगार्ने, हिंसात्मक व्यवहार उत्पन्न गर्ने र मानसिक तनाव बढाउने काम गर्छ।
डर, घृणा र रिस बीच गहिरो अन्तरक्रिया छ। डरले घृणा उत्पन्न गर्छ, किनभने मानिसले आफ्नो सुरक्षा, स्वार्थ वा परिचित जीवनशैलीलाई खतरामा महसुस गर्दा अरूको विरुद्ध नकारात्मक भावना विकास गर्छ। यसैगरी, घृणाले रिसलाई प्रवाह दिन्छ; जब व्यक्तिले वा समूहले अरूप्रति घृणा अनुभव गर्छ, तब उनीहरू सजिलै क्रोधित वा आक्रामक व्यवहारमा उत्रन्छन्। उदाहरणका लागि, सामाजिक असमानता वा राजनीतिक अन्यायको डरले समूहगत घृणा जन्माउँछ, जसले हिंसात्मक आन्दोलन, विरोध प्रदर्शन वा द्वन्द्वमा परिणत हुन सक्छ।
यस प्रकार, डर, घृणा र रिस केवल व्यक्तिगत मनोवैज्ञानिक प्रतिक्रियाहरू नभई सामाजिक अस्थिरता र संघर्षका मूल कारण पनि हुन्। तिनीहरूको आपसी सम्बन्ध बुझ्न र नियन्त्रण गर्न सक्दा मात्र व्यक्तिको मानसिक स्वास्थ्य र समाजको शान्ति सुनिश्चित गर्न सकिन्छ।
रिस, डर र घृणा तीनवटै भावना मानव मनोविज्ञानका बिभिन्न तहसँग सम्बन्धित छन्। यिनीहरू एकआपसमा जोडिएका हुन्छन्। रिसको जरो धेरै हदसम्म डरभित्र लुकेको हुन्छ। जब मानिसले आफूलाई असुरक्षित, कमजोर वा अपमानित महसुस गर्छ, तब त्यस डरलाई ढाकछोप गर्न रिसको रूपमा प्रतिक्रिया दिन्छ।
डरले मानिसलाई बच्न वा लड्न प्रेरित गर्छ, तर कहिलेकाहीँ त्यो डर प्रत्यक्ष रूपमा देखाउन कठिन हुन्छ। यस्तो अवस्थामा घृणा उत्पन्न हुन्छ, जसले अन्ततः रिसलाई जन्म दिन्छ। यस्ता भावना लामो समयसम्म मनमा रहिरहेमा मानसिक र शारीरिक स्वास्थ्यमा प्रतिकूल असर पर्छ। त्यसैले डरलाई स्वीकार्ने, घृणालाई समझदारीले बुझ्ने र रिसलाई सकारात्मक रूपमा व्यवस्थापन गर्ने उपाय अपनाउनु जरुरी हुन्छ। सच्चा आत्मज्ञान, ध्यान, र संवादको माध्यमबाट यस्ता नकारात्मक चक्रबाट मुक्ति सम्भव हुन्छ। रिसमुक्त जीवन सुखी, सन्तुलित र समृद्ध जीवनको आधार हो।
रिस एक नकारात्मक भावना हो, जुन प्रायः डर वा असुरक्षाबाट उत्पन्न हुन्छ। डर लुकाउन खोज्दा व्यक्तिको व्यवहारमा रिस प्रकट हुन्छ। यो भावना कायरताको संकेत मानिन्छ र पीडाले भरिएको हुन्छ। रिसले शारीरिक रूपमा हृदयको दर र रक्तचाप बढाउँछ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। रिसका अनेकौं रूपहरू छन्—दुख, द्वेष आदि। यदि रिस तुरुन्त व्यक्त नभएमा ती रूपहरूमा बदलिन्छ र मानसिक तथा शारीरिक रोग निम्त्याउँछ। धेरै मानिसलाई कहिलेकाहीँ रिस उठ्छ, तर कमैले मात्र यसलाई सही तरिकाले व्यवस्थापन गर्न सक्छन्। यदि रिस नियन्त्रण बाहिर गयो भने व्यक्तिगत स्वास्थ्य, सम्बन्ध र सामाजिक जीवनमा गम्भीर समस्या निम्तिन सक्छ। पारिवारिक समस्या पनि पर्छ। करियरमा पनि असर पर्छ। बढी रिसाउने मानिसलाई कसैले पनि मन पराउँदैन। पछि गएर ऊ एक्लै हुन जान्छ।
रिस एक स्वाभाविक तर नकारात्मक भावना हो, जुन प्रायः डर, पीडा वा सामाजिक उपेक्षाबाट उत्पन्न हुन्छ। यो भावना सोच्ने र बुझ्ने क्षमतामा बाधा पुर्याएर मानिसलाई समाजको नजरबाट खसाउने काम गर्छ। उपेक्षित, घृणित वा कमजोर ठानिएका व्यक्तिहरूमा रिसको मात्रा बढी देखिन्छ, किनभने उनीहरू आफ्नो अस्तित्व पुष्टि गर्न यस्ता क्रियाकलापमा संलग्न हुन्छन्। रिसले पारिवारिक, सामाजिक तथा कार्यक्षेत्रमा सम्बन्ध बिगार्न सक्छ, र यदि नियन्त्रण नगरिएमा शारीरिक तथा मानसिक रोगको कारण बन्न सक्छ। रिस उत्पन्न हुनु स्वाभाविक हो, तर यसको सही व्यवस्थापन अत्यावश्यक छ, नत्र यसले मानिसको जीवनमा गम्भीर नोक्सान पुर्याउँछ।
रिसको कारण पेट पोल्ने समस्या हुन्छ र बढी रिसाउने व्यक्तिलाई ग्यास्ट्रिक, अल्सरसमेत हुन सक्छ। रिसाउँदा शरीरबाट रसायनतत्व (हार्मोन्स) निस्किन्छन्। यी रसायन तत्त्वले मुटुको गतिलाई अनियमित पार्नुको साथै रक्तचापलाई पनि बढाउँछ। अत्यधिक रिसाएको बेला मुटुमा रक्तसञ्चार गर्ने नलीहरू खुम्चने हुँदा हृदयाघात पनि हुन सक्छ। विभिन्न अनुसन्धानले के देखाएको छ भने धैरे रिस गर्ने व्यक्तिलाई छालासम्बन्धी रोगहरू हुने सम्भावना हुन्छ। रिसलाई दबाउन खोजेमा टाउको दुख्ने, जिउ काम्ने तथा दुख्ने पनि हुन सक्छ।
रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ जस्ले गर्दा अव्यवहारिक, तर्कहीन बोली र व्यवहार प्रस्फुटीत हुन सक्छ। रिस उठेको अवस्थामा हामीले प्रभावकारी ढंगले आफ्नो विचार ब्यक्त गर्न अथवा सन्चार गर्न सक्दैनौं जसले गर्दा पारस्परिक सम्बन्धमा नकरात्मक असर पर्न सक्छ।प्रायः जसो परिस्थिति अनुसार रिस ब्यक्त गर्नु स्वस्थवर्धक प्रतिकृया नै हुन सक्छ। तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यस्ले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्याउन सक्छ। यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ। काममा, ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ।
रिस उठेको बेला म रिसाइरहेको छु भन्ने कुरा मान्न तयार हुने हो भने रिस स्वतः घट्छ। रिसको झोंकमा आँखा देखिन्न भन्ने गरे पनि रिस उठेको बेला आँखा देख्नु नै स्वीकार गर्नु आँखा देख्नु हो। रिस उठेको बेला अंकलाई उल्टो गिन्ती गन्नु उत्तम हुन्छ। यसो गर्दा सोचाइबाट ध्यान अन्यत्र जान्छ र रिसको आवेग कम हुँदै जान्छ। बिस्तारै केहीबेर लामो श्वास तान्नले पनि रिस कम गर्न सकिन्छ। रिस कम भएपछि आफ्नो सबैभन्दा मिल्ने साथीलाई रिस उठेको कारणबारे भन्नु राम्रो हुन्छ, मन हल्का हुन्छ। रिस उठेको बेला आवेगमा आएर कुनै पनि निर्णय लिनु हुँदैन।
रिस किन र कसरी उठ्यो, त्यसको कारणलाई किटान गर्नुस्, सम्बन्धलाई प्राथमिकता दिनुस्, वर्तमानमा ध्यान केन्द्रित गर्नुस्, माफ गर्न इच्छुक हुनुस्, दोष दिने अथवा आरोप प्रत्यारोप लगाउने काम नगर्नुस्।महात्मा गान्धीले भनेका थिए–‘रिस एक क्षणको पागलपन हो ।जो क्षणिक हुन्छ तर यसले ठूलो क्षति निम्त्याउने सार्मथ्य राख्छ ।हुन पनि मानवीय संवेदनाको एक हिस्सा रिस केहीबेरका लागि पागलपन मात्र हो । रिस सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन् । अन्यथा रिसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरु पाइन्छन् ।रिसको आवेगमा गरिएको कामले मानिसलाई कालान्तरमा पछुतो बाहेक अरु केहि दिँदैन । त्यसैले आफ्नो रिसमाथि विजय पाउन आवश्यक हुन्छ ।चेतना विकास, मानसिक प्रशिक्षण, सहिष्णुता र सामाजिक मूल्यहरूको प्रवर्धन आवश्यक छ। शिक्षा, सकारात्मक संवाद र सहकार्यको माध्यमबाट डर, घृणा र रिसलाई नियन्त्रण गर्न सकिन्छ। जब व्यक्तिहरू आत्म–सन्तुलन र समझदारी अपनाउँछन्, तब मात्र समाजमा स्थिरता, शान्ति र सहिष्णुता कायम हुन्छ।
आधुनिक समाजमा डर, घृणा र रिसका कारणलाई बुझेर त्यसको परिणाम नियन्त्रण गर्नु मात्र व्यक्तिगत जीवनमा होइन, समग्र समाजमा दीर्घकालीन शान्ति र विकासको आधार तयार पार्न महत्वपूर्ण छ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)
प्रतिक्रिया