पूर्वीय दर्शन र शासनमा कर्तव्य, धर्म र आत्मानुशासनको प्रभाव
तोमनाथ उप्रेती
उपसचिव,नेपाल सरकार
पूर्वीय दर्शनले शासन र नेतृत्वमा नैतिकता, कर्तव्य र आत्मानुशासनको महत्वलाई केन्द्रमा राख्दछ। यो दर्शन भन्छ कि शक्ति मात्र शासनको आधार हुँदैन; शासकले आफ्नो निर्णय, व्यवहार र नीति निर्माणमा नैतिक मूल्य, न्याय, करुणा र विवेकको पालन गर्नुपर्छ। सत्ता मात्र व्यक्तिगत वा दलको लाभका लागि होइन, समाजको कल्याण र राष्ट्रिय हितका लागि प्रयोग हुनुपर्छ। यस दृष्टिकोणले शासनलाई प्रशासनिक संरचना नभई एक सामाजिक र नैतिक जिम्मेवारीको रूप दिन्छ।
पूर्वीय चिन्तनमा शक्ति–केन्द्रित शासनलाई कर्तव्य–केन्द्रित लोक–सेवामा रूपान्तरण गर्न विशेष जोड दिइन्छ। शासकको कर्तव्य कानुनी वा राजनीतिक बाध्यतामा मात्र सीमित हुँदैन; उसले आफ्नो कर्म, नीति र निर्णयमा सत्यता, न्याय र सामाजिक हितको ध्यान राख्नुपर्छ। सत्य विना शक्ति स्वेच्छाचारमा परिणत हुन्छ, कर्ममा उत्तरदायित्व विना निर्णय भ्रष्टाचार र अस्थिरता निम्त्याउँछ, र आत्मज्ञान विना शासन स्वार्थ र मोहमा आधारित रहन्छ। यसैले शासन र नेतृत्वमा आत्मानुशासनको अभ्यास आवश्यक छ, जसले शासकलाई विवेकपूर्ण निर्णय लिन सक्षम बनाउँछ र दीर्घकालीन स्थायित्व सुनिश्चित गर्छ।
नेपाल जस्तो बहुसांस्कृतिक र बहुभाषिक समाजमा पूर्वीय मूल्यमा आधारित शासन अझ महत्त्वपूर्ण हुन्छ। यहाँ विविध जातीय, धार्मिक र भाषिक समूहहरू छन्, जसको अपेक्षा र आवश्यकतालाई सन्तुलित ढंगले व्यवस्थापन गर्नुपर्ने हुन्छ। पूर्वीय दर्शनले नीति–निर्माणमा सामाजिक न्याय, समावेशिता र सांस्कृतिक पहिचानलाई ध्यानमा राख्न प्रेरित गर्छ। जब नीति र प्रशासन नैतिक र दायित्वपूर्ण ढंगले सञ्चालन हुन्छ, तब समाजमा विश्वास, सहकार्य र सामाजिक स्थायित्व सुनिश्चित हुन्छ।
नीति निर्माणमा धर्म र कर्तव्यको समावेशीकरणले दीर्घकालीन विकास र राष्ट्रिय एकताको आधार तयार गर्छ। उदाहरणका लागि, पारिस्थितिक संरक्षण, शिक्षा, स्वास्थ्य सेवा, र सामाजिक न्यायका कार्यक्रमहरू कानुनी दायित्वका रूपमा नभई समाजको भलाइ र भविष्यका लागि कर्तव्यको रूपमा कार्यान्वयन गर्दा प्रभावकारी हुन्छन्। यसले न शासनको प्रभावकारिता बढाउँछ, तर समाजमा नैतिक मूल्य र जिम्मेवारीबोध पनि अभिवृद्धि गर्छ।
पूर्वीय दर्शनले नेतृत्व र शासनलाई शक्ति प्रयोगको साधन नभई सेवा, दायित्व र आत्मअनुशासनको माध्यम बनाउँछ। शासकमा नैतिकता, करुणा र दायित्वबोध भएमा मात्र समाज अनुशासित र राष्ट्र सुदृढ रहन्छ। सत्ता प्रयोग, नीति निर्माण र प्रशासनको हरेक निर्णयले समाज र राष्ट्रिय हितमा योगदान पुर्याउनु पर्नेछ। नेपालमा पूर्वीय दर्शनमा आधारित शासनले न्याय, शान्ति र समृद्धिको स्थायी मार्ग प्रस्तुत गर्न सक्छ। यसले समाज, नेतृत्व र शक्ति प्रणालीलाई नैतिक, न्यायपूर्ण र स्थिर बनाउँछ, जसले दीर्घकालीन विकास र राष्ट्रिय स्थायित्व सुनिश्चित गर्दछ।
पूर्वीय दर्शनको मूल सन्देश हो—सत्य, कर्म र आत्मज्ञानको माध्यमबाट शक्ति जनताको सेवा र कल्याणमा प्रयोग गर। यही दृष्टिकोण अपनाएमा मात्र शासनले समाजको विश्वास जित्न सक्छ र राष्ट्रलाई स्थिर, समृद्ध र न्यायपूर्ण बनाइ राख्न सक्छ।
र्वीय दर्शनमा कर्तव्य, धर्म र आत्मानुशासनको संगम जीवनको आध्यात्मिक र नैतिक आधारशिला हो, जसले मानवलाई मात्र होइन, सम्पूर्ण सृष्टिलाई सामंजस्यपूर्ण रूपमा अघि बढाउने शक्ति प्रदान गर्दछ। यस दर्शनको मूल प्रवृत्ति यस्तो छ कि प्रत्येक प्राणीको जीवनमा कर्तव्य मात्र होइन, धर्म र आत्मानुशासन पनि अपरिहार्य अवयव हुन्। यी तीनै तत्वहरू एकअर्कामा जडित छन् र एक अर्कालाई पूरक गर्दै मानव जीवनलाई पूर्णता तर्फ उन्मुख गर्छन्।
धर्म पूर्वीय दर्शनमा मानव जीवनको नैतिक र आध्यात्मिक मापदण्ड हो। यो नियमावली वा सामाजिक चलन मात्र होइन, तर संसार र मानवबीचको साम्यताको दिव्य आधार हो। धर्मले कर्तव्यलाई मार्गदर्शन गर्दछ र सुनिश्चित गर्दछ कि ती कर्तव्यहरू व्यक्तिगत स्वार्थमा आधारित नहुन्, तर विश्वकल्याणका लागि कार्यान्वित हुन्। धर्मले सन्तुलन र न्यायको प्रवाह सुनिश्चित गर्छ, जसले समाजमा सामूहिक सौहार्द र शान्ति स्थापना गर्दछ। वेद र उपनिषद् अनुसार, धर्म सबै जीवित प्राणीहरूका लागि समान महत्व राख्ने सार्वभौमिक सत्य हो।
आत्मानुशासन कर्तव्य र धर्मको सार्थक क्रियान्वयनका लागि आवश्यक आन्तरिक नियमन हो। यो बाह्य प्रतिबद्धता मात्र नभई अन्तर्मनको शुद्धता, नियन्त्रण र स्थिरतासँग सम्बन्धित छ। गीता (६.५) मा यसलाई यसरी वर्णन गरिएको छ:
“उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्।”
अर्थात्, मानिसले आफ्नो मन र आत्मालाई उठाउनु पर्छ, न कि त्यसलाई पतनमा धकेल्नु पर्छ। आत्मानुशासनले लोभ, क्रोध, मोहजस्ता मनोवैज्ञानिक बाधाहरूसँग लड्ने क्षमता दिन्छ र व्यक्ति कर्तव्य र धर्मको साँचो अर्थमा जीवन यापन गर्न सक्षम हुन्छ।
यी तीनै अवधारणाहरूको संगमले मानवलाई सामाजिक प्राणी बनाउने मात्र होइन, आत्मिक उन्नतिको बाटोमा पनि उन्मुख गर्छ। कर्तव्यले कार्यको दिशा देखाउँछ, धर्मले त्यसलाई न्याय र नैतिकताका आधारमा स्थापित गर्छ, र आत्मानुशासनले ती कार्यहरू निरन्तर र शुद्धतापूर्वक गर्न आन्तरिक बल प्रदान गर्दछ। यसले व्यक्तिलाई स्वार्थ र भ्रमबाट मुक्त गरी सत्य, करुणा, र समर्पणको मार्गमा डोर्याउँछ।
पूर्वीय दर्शनमा यो संगमले व्यक्तिको मात्र होइन, समग्र समाजको पनि जीवनशैलीलाई प्रभाव पार्छ। जब प्रत्येक व्यक्ति आफ्नो कर्तव्य, धर्म र आत्मानुशासनमा दृढ हुन्छ, तब समाजमा नैतिकता, सद्भाव र शान्ति स्वतः स्थापित हुन्छन्। यसले राष्ट्रिय एकता र विश्वशान्तिका लागि आधारशिला तयार पार्दछ। अतः कर्तव्य, धर्म र आत्मानुशासनको यो संगम पूर्वीय दर्शनको सार हो, जसले जीवनलाई एक उच्चतम आध्यात्मिक र नैतिक रूप प्रदान गर्दछ, र मानव अस्तित्वलाई अर्थपूर्ण बनाउँछ।
पूर्वीय दर्शनको पवित्र पृष्ठभूमिमा कर्म र शुद्धताको संगमले जीवनलाई सत्यताको सुवासित सन्देश दिन्छ। कर्मको कल्याणकारी कन्सेप्टले कर्तव्यपरायणताको कमल फुलाउँछ, जसले आत्माको आँगनमा उज्यालोको उदय गर्छ। शुद्धताको शिखरमा उभिएको जीवनले लोभ, लालच र लम्पटता लत्याएर दायित्व, धैर्य र धर्मका दिव्य दृष्टान्तहरू अंगाल्छ। पूर्वीय दर्शनले कर्मलाई क्रियाकलाप होइन, कृतज्ञताको कर्मकाण्ड मान्छ, जहाँ प्रत्येक प्रयासले आत्मानुशासनको आलोक फैलाउँछ।
नैतिकताको न्यानोपनले समाजमा सहिष्णुता, सदाचार र सद्भावको सुवास छर्छ। यो दर्शनले मानवीय मर्मलाई महसुस गराउँदै, पापको पर्दा पर्खेर बस्ने प्रवृत्तिलाई परास्त गर्छ। कर्म र शुद्धताको सहयात्राले व्यक्तिलाई स्वार्थको सानो साँचोबाट मुक्त गराएर समष्टिको सेवा गर्ने साहस दिन्छ। पूर्वीय मार्गदर्शनले सत्ताको स्वार्थ, स्वार्थको सत्ता र सत्ता स्वार्थको संगठित सञ्जाललाई नैतिकताको निर्भीक नशाले झस्काउँछ।
जब हामी पूर्वीय दर्शनको शुद्धता र कर्मको करुणामा करिश्मा खोज्छौं, तब जीवन बाँच्ने साधन होइन, आत्मोन्नतिको आकर्षक अवसर बन्छ। असल कर्मको आभाषले मनमा मोक्षको मन्जरी फुलाउँछ, र शुद्ध आचरणको आलोकले राष्ट्रलाई न्याय, शान्ति र समृद्धितर्फ लैजान्छ। पूर्वीय मार्गदर्शनले मानवता, मित्रता र मोहबिना कर्ममा केन्द्रित निष्ठाको शिक्षा दिन्छ, जसले जीवनलाई सत्कर्मको सुवास र शुद्ध आचरणको अनुशासनले सुगन्धित बनाउँछ।कर्म र शुद्धतामा आधारित पूर्वीय मार्गदर्शनले जीवनलाई गहिरो, गौरवपूर्ण र गरिमामय यात्रामा रूपान्तरण गर्छ।
पूर्वीय दर्शन संसारका प्राचीनतम र पवित्रतम परम्पराहरू मध्येको एक अमूल्य आभूषण हो, जसले जीवनको गहिरो गूढार्थ खोज्न साधकलाई साधन प्रदान गर्छ। यस दर्शनको दिव्य धरोहरमा सत्य, सत्कर्म, सदाचार र स्व-ज्ञानका सुवासित सूत्रहरू सँगालिएका छन्। सत्यलाई सर्वोपरी सर्वोच्चता दिँदै, पूर्वीय चिन्तनले मान्छेलाई मायाको मोहभञ्जन गरेर अज्ञानको अन्धकारबाट मुक्त गरी यथार्थताको उज्यालोमा उभ्याउँछ। कर्मको कञ्चन सिद्धान्तले कर्तव्यपरायणताको कान्तिकिरण फैलाउँदै भन्छ—“हरेक कर्मको कठोर परिणाम हुन्छ।” सत्कर्मले सुखको सुवास ल्याउँछ भने कुकर्मले कष्टको काँडा कोप्याउँछ। त्यसैले कर्ममा कर्तव्य, करुणा र कन्फिडेन्स अनिवार्य हुन्छ।
नैतिकता जीवनको ज्योतिर्मय ज्योति हो, जसले मानव सम्बन्धलाई सौहार्दताको सन्देश, समाजलाई सहिष्णुताको स्पर्श, र प्रकृतिलाई प्रेमको प्रार्थना गर्न सिकाउँछ। पूर्वीय दर्शनले धर्म र नैतिकतालाई जीवनका अभिन्न अंग बनाउँदै आचरणलाई आदर्शताको आधार बनाउँछ। आत्मज्ञान, अर्थात् आत्माको अडिग अद्वितीयता पहिचान गर्नु, जीवनको परम प्राप्ति हो। आत्मज्ञानले मनुष्यलाई मोक्षको मार्गमा मार्गदर्शन गर्छ, जहाँ मोह, माया र मृत्युका मायाजालबाट मुक्त भई मुक्ति र ममत्वको अनुभव हुन्छ। यसरी पूर्वीय दर्शन सत्यको सन्धान, कर्मको जिम्मेवारी, नैतिक आचरण र आत्मज्ञानमार्फत जीवनलाई सार्थक, सशक्त र सुगन्धित बनाउने मार्गचित्र प्रस्तुत गर्छ।
पूर्वीय दर्शन जीवन, जगत र कर्मको गहन गहिरो अध्ययन हो, जसले सत्य, ज्ञान, नैतिकता र आत्माको आध्यात्मिक अहमियतलाई उच्चतम प्राथमिकता दिन्छ। यसमा कर्मलाई जीवनको कञ्चन कडी मानिन्छ, जसले व्यक्तिको वर्तमान र भविष्यलाई निर्धारण गर्छ। कर्मको सिद्धान्तले मानवलाई सदाचार, सजगता र दायित्वबोधको दिशामा डोर्याउँछ। धर्म, संस्कार, योग, ध्यान र आत्मज्ञान पूर्वीय दर्शनका स्तम्भ हुन्, जसले जीवनलाई दिव्य दिशातर्फ डो-याउँछ।
नेपाल र दक्षिण एसियाको संस्कृतिमा पूर्वीय दर्शनका हिन्दू, बौद्ध र जैन परम्पराले मानवीय आचरण र सामाजिक संरचनालाई स्वर्णिम स्वरूप दिएका छन्। बौद्ध धर्मका चार आर्यसत्य र अष्टाङ्गिक मार्गले दुःखको दमन र शान्तिको संधान देखाउँछन्, हिन्दू दर्शनले कर्म, धर्म र मोक्षलाई जोड्दै आत्मिक उन्नतिको उज्यालो फैलाउँछ। आत्मालाई अमर र शरीरलाई नश्वर मान्दै, पूर्वीय दर्शनले हरेक कर्मको परिणामप्रति उत्तरदायी हुन सिकाउँछ। यसले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा नैतिकता र आत्ममूल्यांकनको माध्यमबाट सन्तुलन र समृद्धिको सञ्चार गर्छ।
पूर्वीय दर्शनले सहिष्णुता, सद्भाव र सहकार्यमा जोड दिँदै, रिस, राग, द्वेष र दम्भको दलदलबाट मानवता मुक्त हुन सिकाउँछ। तेरो–मेरो भन्ने भेदभाव भत्काई, भाइचारा र आत्मीयताको आलोक फैलाउँछ। यसले दिनचर्या, आश्रम व्यवस्था र कानुन पालनामा गहिरो जोड दिंदै नागरिक र राज्यबीचको दायित्वबोध, कर्तव्यबोध र अपनत्वको भावना सृजना गर्छ।
व्यक्तिले शास्त्रीय ज्ञानप्रतिको श्रद्धा बढाउँदै, अहंकार, ईर्ष्या र लोभको लप्काबाट मुक्ति पाई, कुकर्मको काँडाबाट बाहिर निस्केर सत्कर्मको सुवासमा जीवनलाई सिँगार्न पूर्वीय दर्शनको रसपान गर्न जरुरी हुन्छ। सार्वजनिक पदमा रहेको व्यक्तिले व्यक्तिगत स्वार्थको सानो संसारलाई छोडेर, राष्ट्र र जनताको हितमा कर्म र कर्तव्यको प्रतिबद्धता प्रदर्शन गर्नुपर्ने सन्देश यो दर्शनले दिन्छ।
पूर्वीय दर्शनले राष्ट्र निर्माणमा नैतिक नेतृत्व, सदाचार र चरित्रवान नागरिकको महत्वलाई उजागर गर्छ। वेद, भगवद्गीता र बुद्धका चार आर्यसत्य तथा अष्टाङ्गमार्गले शुद्ध आचरण, ईमानदारी र जिम्मेवार नेतृत्वको मार्ग देखाउँछन्। यी मूल्यहरूले नेतृत्व र नागरिक दुवैलाई प्रेरित गर्दै राष्ट्रलाई स्वच्छ, पारदर्शी, निष्पक्ष, समावेशी, सहभागी र भ्रष्टाचारमुक्त बनाउन सहयोग पुर्याउँछन्। कर्म र नैतिकताको दिव्य दीपमा जीवनलाई उज्यालो बनाउँदै, पूर्वीय दर्शन राष्ट्र निर्माणको स्थायी आधार सृजना गर्न हामीलाई सतत् प्रेरित गर्दछ।
नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, दर्पहीन विकास र समृद्धिको सपना बुनेको छ। तर, यस सपना साकार पार्न सामाजिक न्याय, साझा एकता, आर्थिक समानता, श्रम सम्मान, भ्रातृत्व, भागीदारी, सहअस्तित्व र सहकार्यजस्ता मूल्यहरू व्यवहारमा उतारिनुपर्छ। लोकतान्त्रिक शासन केवल सत्ताको सन्तुलन नभई नागरिकको सक्रिय सहभागितासँग सम्बन्धित छ, जसले समाजमा समानता, सहिष्णुता र दीर्घकालीन स्थायित्व सुनिश्चित गर्दछ।
शासन सञ्चालनमा मानवीय मूल्यको अभावले मूर्खता, मतलबी प्रवृत्ति र व्यक्तिगत स्वार्थलाई जन्म दिन्छ। पूर्वीय दर्शनले नागरिक र शासक दुवैलाई जिम्मेवारी, आत्मीयता, शान्ति र भाइचाराको मार्ग देखाउँछ। कला, संस्कृति र संस्कारको सम्मान गर्दै यो दर्शन समाजमा सदाचार, सहिष्णुता, माया, प्रेम, दया र अहिंसाको वातावरण निर्माण गर्छ। बहुधार्मिक, बहुजातीय र बहुभाषिक समाजमा समभाव र सहअस्तित्वका मूल्य यसै दर्शनबाट स्थापित हुन्छन्।
संक्षेपमा, पूर्वीय दर्शनले जीवन, समाज र राष्ट्रलाई नैतिकता, सदाचार र कर्तव्यको मार्गमा अगाडि बढाउन दिशानिर्देशन गर्दछ। यसले व्यक्तिको आचार, परिवारको संस्कार र समाजको सुसंस्कारलाई राष्ट्रनिर्माणको आधार बनाउँछ। कर्म, अनुशासन, धैर्य र विवेकको मिश्रणले मात्र दीर्घकालीन शान्ति, सामाजिक समरसता र दिगो समृद्धि सुनिश्चित गर्न सक्छ। नेपाली समाजले पूर्वीय दर्शनका मूल्यहरू आत्मसात गर्दै सत्य, न्याय, सहिष्णुता र सदाचारको मार्गमा अघि बढेमा मात्र राष्ट्रले सशक्त, स्वच्छ र समृद्ध भविष्यको यात्रा तय गर्न सक्छ।
प्रतिक्रिया