logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • संस्कारबाट उदाएको स्वाभिमान

    संस्कारबाट उदाएको स्वाभिमान

    संस्कारबाट उदाएको स्वाभिमान

    तोमनाथ उप्रेती

     

    जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने प्राचीन श्लोकले मातृभूमिको पवित्रता र महत्त्वलाई अत्यन्त गहिरो रूपले उद्घाटित गर्छ। मातृभूमि केवल एउटा भौतिक माटो होइन; त्यो चेतनाको आधार हो, आत्माको धुरी हो, जहाँ मानवीय अस्तित्वले गहिरो जरा गाड्छ। हिमालका सेता शिखरहरूजस्तै अटल र सप्तरङ्गी सूर्यकिरणझैँ उज्यालो, मातृभूमिको माटो हाम्रो मनको गहिरो अङ्ग हो—यसको अस्तित्वमा जीवनको सार र चेतनाको विम्ब विद्यमान छ।

    माटोको सुगन्ध मात्र होइन, यसको स्वभावले हामीलाई कर्तव्य र संस्कृतिको अनुभूति गराउँछ। यो पवित्रता हाम्रो मनमा निष्ठा, समर्पण र कर्मयोगको भाव जगाउँछ। मातृभूमि प्रति प्रेमले नै मानिसको जीवनमा उच्चतम नैतिकता र सामाजिक उत्तरदायित्वको बीउ रोप्छ। मातृभूमिको सेवा केवल भौतिक श्रम होइन; यो आत्माको तपस्या हो, जसले हामीलाई निरन्तर विकास र समृद्धितर्फ डोर्याउँछ।

    यसै चेतनाले नेपाली हृदयमा राष्ट्रसेवाको दिव्य ज्योति बाल्छ—त्यो प्रकाश जुन पसिनाका मोती झार्ने प्रेरणादायक ऊर्जा हो। मातृभूमि प्रति यो प्रेम र सम्मानले मात्रै व्यक्तिलाई उच्च चरित्रको आधार दिन्छ र राष्ट्रलाई उन्नतिको पथमा अघि बढाउँछ। यसकारण मातृभूमि हाम्रो मात्र होइन, हाम्रो चेतना र संस्कृतिको पनि गहिरो आध्यात्मिक केन्द्र हो।

    जब हामी स्वदेशको पवित्र हिमाललाई मनको सिंहासनमा राख्छौं र त्यसै भूमि माथि श्रम गर्छौं, तब हाम्रो पसिनाले त्यो भूमिलाई मात्र भिजाउँदैन, बरु उत्पादनको बीउको रूपमा पल्लवित गराउँछ। यस बीउबाट उन्नतिको बिरुवा फुल्छ, जो अन्ततः समृद्धिको ठूला वृक्षमा परिणत हुन्छ। यस अर्थमा, विकास केवल भौतिक उन्नति होइन, दुःखबाट सुखतर्फको यात्रासँगै चेतनाको आध्यात्मिक जागरण पनि हो। आर्थिक प्रगति भन्दा माथि उठेर यो सामाजिक शुद्धिकरण र मानवीय मूल्यहरूको पुनर्स्थापनाको प्रक्रिया हो।

    संस्कार भनेको कुनै पनि समाज वा व्यक्तिको जीवनको आधारभूत मूल्य, आचारव्यवहार, र सांस्कृतिक पहिचान हो। संस्कारले मात्र कुनै व्यक्तिको चरित्र निर्माण गर्दैन, त्यो समाजको स्वाभिमानको पनि परिचायक हुन्छ। जब हामी संस्कारलाई गहिरो अर्थमा बुझ्छौं, तब त्यसले हामीलाई हाम्रो जरा र पहिचानसँग जोड्दछ र स्वदेशप्रतिको प्रेम र आत्मगौरवको भाव जगाउँछ।

    संस्कार जीवनको नैतिक आधार हो। यो आचार, आदर्श र मूल्यहरूको सङ्ग्रह हो जुन हामीले परिवार, समाज र राष्ट्रबाट ग्रहण गर्छौं। संस्कारले हामीलाई सधैं सही बाटो देखाउने प्रकाशस्तम्भको काम गर्छ। जब कुनै व्यक्तिमा संस्कार हुन्छ, तब उसले आफ्नो स्वाभिमानलाई उचाइमा राख्छ र आफ्नो देश, भाषा र परम्पराप्रति गहिरो माया राख्छ। संस्कारले नै हामीलाई आफ्नै पहिचान र संस्कृति प्रति गर्व गर्न सिकाउँछ।

    स्वदेशप्रतिको स्वाभिमान संस्कारबाट उत्पन्न हुन्छ। यदि संस्कार बलियो छ भने मानिसले आफ्नो देशलाई अरूभन्दा तल राख्दैन। उसले आफ्नो मातृभूमि र त्यसको माटोमा गर्व गर्छ। संस्कारित समाजले आफ्ना परम्परा, भाषा, कला र सांस्कृतिक सम्पदालाई जगेर्ना गर्छ र भविष्यका पुस्तामा सन्देश प्रवाह गर्छ। संस्कार नै हो जसले हामीलाई आफ्नो देश र जनताको लागि समर्पित बनाउँछ र देशको समृद्धिमा हातेमालो गर्न उत्प्रेरित गर्छ।

    आजको विश्वमा जहाँ आधुनिकता र प्रविधिले मानव जीवनलाई छिटो गतिमा परिवर्तन गरिरहेको छ, त्यहाँ संस्कारले नै हामीलाई हाम्रो जरा सम्झाइरहेको छ। प्रविधि र आधुनिक जीवनशैलीले हाम्रो जीवन सजिलो बनाएको भए पनि संस्कारले नै हाम्रो आत्मालाई मजबुत बनाउँछ। संस्कारविहीन जीवन भनेको पहिचानविहीन जीवन हो। जब संस्कार कमजोर हुन्छ, तब मानिसमा आफ्नो देशप्रतिको माया, आत्मगौरव र कर्तव्यपरायणता घट्छ। यसले दीर्घकालीन रूपमा राष्ट्रको अस्तित्वलाई नै जोखिममा पार्न सक्छ।

    युवाहरूमा संस्कारको विकासले उनीहरूलाई मात्र होइन, समग्र राष्ट्रलाई पनि बलियो बनाउँछ। संस्कारित युवाहरू देशप्रतिको जिम्मेवारी बुझ्छन्, आफ्नो क्षमता र सीप विकासमा लगानी गर्छन्, र स्वदेशमै योगदान दिन चाहन्छन्। उनीहरू विदेश पलायनको सट्टा स्वदेशमै बस्न, काम गर्न र समृद्धि ल्याउन अग्रसर हुन्छन्। संस्कारले युवालाई आफ्नो इतिहास, भाषा, संस्कृतिप्रति सम्मान र गर्वका साथ अघि बढ्न सिकाउँछ।

    स्वदेशको स्वाभिमान मात्र व्यक्तिगत गर्व होइन, त्यो सामाजिक, सांस्कृतिक र राष्ट्रिय चेतनाको अभिव्यक्ति हो। संस्कारले नै यस्तो चेतना जन्माउँछ जुन व्यक्तिलाई आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी बोध गराउँछ। यसले व्यक्तिलाई न्याय, समता र मानवताको मूल्य बुझ्न र पालन गर्न प्रोत्साहित गर्छ। स्वाभिमानी व्यक्ति आफ्नो समाजको उत्थानमा सक्रीय भूमिका निर्वाह गर्छ र असमानता, विभेद र अन्यायविरुद्ध आवाज उठाउँछ।

    मानव पुँजी नै विकासको आधार र पहिलो शर्त हो। सीप, श्रम र साहसको संयोजनले मात्र राष्ट्रलाई उज्यालो बनाउन सकिन्छ। युवा शक्ति नै राष्ट्रको भविष्य र विकासको प्रमुख चालक शक्ति हो। उनीहरूको जोश र जाँगरले नै स्वदेशको स्वाभिमानलाई बलियो आधार प्रदान गर्छ। तर, समकालीन समयमा विदेश मोहले यी युवाहरूलाई आफ्नो मातृभूमिबाट टाढा राखेको छ। यसले राष्ट्रको उन्नतिमा ठूलो अवरोध पैदा गरेको छ। चाणक्यका वचन अनुसार, “उद्योगले दरिद्रता हटाउँछ, जागरुकता भयलाई हराउँछ।” यही शिक्षालाई आत्मसात गर्दै, युवाहरूलाई स्वदेशमै आत्मनिर्भर बन्न, श्रम गर्न र राष्ट्र निर्माणमा सक्रिय हुन आह्वान गर्न आवश्यक छ।

    विकासलाई केवल आर्थिक सूचकांकबाट हेर्ने संस्कारलाई परित्याग गर्दै, यसलाई चेतनाको नदि मान्नु पर्छ जसले राजनीतिक, सामाजिक, आर्थिक र वातावरणीय सबै पक्षलाई समेट्छ। यस नदीलाई सही दिशामा प्रवाहित गर्न सकिए मात्र राष्ट्रको मुटुमा गतिशीलता र सामाजिक रगतमा स्वाभिमान मिसिन सक्छ। पश्चिमी राष्ट्रहरूले मानव संसाधनलाई मानव पुँजीमा रूपान्तरण गरेर गरेको विकासको सफलतालाई हामीले उदाहरण मान्नुपर्छ। जापान, सिंगापुर, दक्षिण कोरिया जस्ता राष्ट्रहरूमा युवाहरूलाई सीप र सिर्जनशीलतामा पुर्याएर विकासको उच्चतम शिखरमा पुर्याइएको छ।

    तर हाम्रो देशको दशा फरक छ। सात दशक लामो विकास यात्रामा आर्थिक बजेटहरू आए पनि, उत्पादन र आत्मनिर्भरता आकाशमै टाँसिएका छन्। ऋण मात्र बढ्दै गएको छ, तर समृद्धिको सपना अधुरो नै छ। विदेश पलायनले परिवारको आर्थिक अवस्था केही हदसम्म सुधार गरेको भए पनि सामाजिक सम्बन्धहरू कमजोर भएका छन्। परिवारका सदस्यहरू बिछुटिएका छन्, पीर र पिडा बटुलिएका छन्, र मातृभूमिको खेत बाझो भएका छन्।

    विदेश पलायनको यथार्थता र यसको प्रभावमाथि गहिरो चिन्तन गर्न आवश्यक छ। के यो अवसर हो वा चुनौती? आर्थिक रूपमा सफल भए तापनि सामाजिक, सांस्कृतिक र भावनात्मक रूपमा यसले ठूलो कमी ल्याएको छ। त्यसैले युवा शक्तिलाई स्वदेशमै लगानी गर्न, आफ्नो मातृभूमिमा सीप र श्रमले विकासको क्रान्ति ल्याउन प्रेरित गर्न आवश्यक छ। युवा नै राष्ट्रका मूर्धन्य शिल्पी हुन्, जसले स्वर्ण युगको निर्माण गर्नेछन्। उनीहरूको जागर, जाँगर र जीवटता नै राष्ट्र उन्नतिको इन्जिन हो।

    राजनीति परिवर्तनको साधना हो। यो सत्ता मात्र प्राप्त गर्ने माध्यम होइन, बरु राष्ट्र निर्माणको तपस्या हो। लोकतन्त्रको सार भनेको जनताको अपेक्षा र आक्रोशलाई विधिपूर्वक व्यवस्थापन गर्ने कला हो। नेतृत्वमा शिक्षित, विवेकी र ऊर्जाशील युवाहरूको उपस्थिति भए बिना समृद्धि र सुशासन सम्भव छैन। राजनीतिमा, प्रशासनमा, उद्योग र शिक्षामा युवाहरूले सक्रिय र हस्तक्षेपकारी भूमिका लिनुपर्छ।

    चाणक्यले भनेझैं, “उद्योगले दरिद्रता हटाउँछ, जपले पाप हटाउँछ, मौनले झगडा हटाउँछ, जागरुकता भय हटाउँछ।” हाम्रो आवश्यकता उद्योगलाई कर्ममा, जपलाई चिन्तनमा, मौनलाई समन्वयमा र जागरुकतालाई सक्रियतामा परिणत गर्ने हो। विकास चेतनाको निरन्तर प्रवाह हो, जसलाई हाम्रो मातृभूमिको माटो, भाषा र पहिचानमा प्रवाहित गर्नुपर्छ। अन्यको नक्शामा होइन, आफ्नै नक्शामा विकासको यात्रा तय गर्नुपर्छ।

    अन्ततः संस्कार र स्वाभिमानबीच गहिरो सम्बन्ध हुन्छ। संस्कारले नै हामीलाई स्वाभिमानका साथ जीवन बिताउन सिकाउँछ। यो स्वाभिमानले व्यक्तिलाई मात्र होइन, राष्ट्रलाई पनि उज्वल भविष्यतर्फ उन्मुख बनाउँछ। संस्कारबाट जन्मिएको स्वाभिमानले देशप्रति हाम्रो प्रेमलाई गहिरो र सजीव बनाउँछ, जसले समृद्धि र विकासको मार्ग प्रशस्त गर्छ। त्यसैले संस्कारलाई निरन्तर जगेर्ना गर्दै, नयाँ पुस्तालाई यसको महत्त्व बुझाउँदै अगाडि बढ्नु नै स्वदेशको स्वाभिमान हो।

    हाम्रो युवाहरूलाई नेतृत्वको ठाउँमा ल्याएर मात्र हाम्रो मातृभूमि गौरवशाली बन्न सक्छ। नेपाली माटोमा चेतना र कर्मको उज्यालो फैलाउँदै आत्मनिर्भरता र समृद्धिको गीत गाउने दिन नजिकै छ।

    (रतुवामाई ५, मोरङ)

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र २३, सोमबार २१:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP