शुद्ध अन्तर्मनमार्फत शान्तिपूर्ण र समावेशी समाजको निर्माण
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
मानव सभ्यता हजारौँ वर्षको यात्रामा ज्ञान, विज्ञान र प्रविधिमा असाधारण उन्नति गर्न सफल भएको छ। तर, आजको संसारमा देखिने असहिष्णुता, हिंसा, विभेद र संघर्षहरूले एउटा प्रश्न खडा गर्छ—“के मानिसले बाहिरी संसार जित्दै जाँदा आफ्नो अन्तर्मनलाई पराजित गरिरहेको त होइन?” सामाजिक सद्भाव र शान्तिको खोज बाहिरी संरचनामा मात्र होइन, भित्रको अन्तर्मनमा शुद्धताको अभ्यासमा पनि निर्भर हुन्छ। अन्तर्मन शुद्ध नहुँदा कुनै पनि बाहिरी व्यवस्थाले समाजलाई दीगो शान्ति र समावेशीता दिन सक्दैन।
मनुष्यलाई “सूक्ष्म ब्रह्माण्ड” भनिन्छ। वेद उपनिषद्देखि बौद्ध दर्शनसम्म सबैले मनको शुद्धतालाई समाजको स्थिरतासँग जोडेर देखाएका छन्। गीता भन्छ—“मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः।” अर्थात् मन नै मानिसको बन्धन र मुक्ति दुवैको कारण हो। जब मनमा लोभ, ईर्ष्या, द्वेष र अहंकारको अधिपत्य हुन्छ, तब त्यो व्यक्ति मात्र होइन, उसको व्यवहारले समाज नै असन्तुलित हुन्छ। उल्टो, शुद्ध अन्तर्मन भएको व्यक्तिको उपस्थितिले समाजमा करुणा, विश्वास र प्रेम फैलिन्छ।
रामायणमा रावणलाई महान् विद्वान्, शिवभक्त र शक्तिशाली राजा भनिएको छ। तर, उसको अन्तर्मन कामवासना र अहंकारले दूषित थियो। यसै कारण सीताको अपहरण गरेर उसले आफ्नो राजवंश नै विनाश गरायो। यो कथाले एउटा सत्य उजागर गर्छ—बाहिरी ज्ञान र शक्तिले मात्र शान्ति सम्भव हुँदैन; अन्तर्मन शुद्ध नभए समाजमा विनाश निवार्य हुन्छ। उल्टो, रामको चरित्र अन्तर्मन शुद्धताको प्रतीक हो, जसले प्रेम, धर्म र करुणामार्फत समाजलाई समेट्न सके।
अन्तर्मन शुद्धिको मूल आधार आत्मानुशासन हो। बौद्ध परम्परामा “शील, समाधि र प्रज्ञा” को त्रिविध साधनमा पहिलो स्थान नै शील अर्थात् नैतिक अनुशासनलाई दिइन्छ। यसको कारण स्पष्ट छ—जब व्यक्ति नैतिक मूल्यमा दृढ हुन्छ, तब उसको मन स्वतः शुद्ध हुन्छ। यस्तो शुद्ध अन्तर्मन भएको व्यक्तिले अरूलाई विभेद नगरी समान दृष्टिले हेर्छ। यसरी आत्मिक शुद्धि सामाजिक समावेशीकरणको मूल आधार बन्न जान्छ।
मानवको अन्तर्मनमा रहेका करुणा, दया र प्रेम नै सामाजिक सद्भावका स्तम्भ हुन्। महाभारतमा विदुरले भनेका छन्—“करुणा नै धर्मको प्राण हो।” यदि समाजमा करुणा हरायो भने त्यस समाजमा केवल कानून र दण्डले मात्रै स्थायित्व दिन सक्दैन। उदाहरणका लागि, युधिष्ठिरलाई धर्मराज भनिनुको कारण उनको शक्ति होइन, बरु सत्य र करुणामा आधारित निर्णय गर्ने क्षमता थियो। यसले देखाउँछ कि शुद्ध अन्तर्मनले मात्र न्यायपूर्ण समाज सम्भव हुन्छ।
शुद्ध अन्तर्मनले मानिसलाई “स्व” र “पर” को भेद मेट्न सिकाउँछ। उपनिषद् भन्छ—“आत्मवत् सर्वभूतेषु” अर्थात् सबै प्राणीलाई आफ्नै आत्माजस्तै अनुभव गर। यस्तो चेतनाले विभेद र असमानता हट्छ। जात, वर्ग, लिंग वा धर्मको आधारमा समाजलाई टुक्र्याउने प्रवृत्ति केवल अस्वच्छ अन्तर्मनको प्रतिफल हो। जब अन्तर्मन शुद्ध हुन्छ, तब समाजमा विविधतालाई स्वीकार गर्ने संस्कार जन्मिन्छ। यही संस्कारले समावेशी समाजको निर्माण सम्भव बनाउँछ।
आजका दिनमा डिजिटल युग, भौतिकवाद र उपभोक्तावादले मानिसलाई बाहिरी सफलता र सुखमा मात्र केन्द्रित गरिरहेको छ। तर, यसैबीच मानसिक तनाव, असहिष्णुता र आत्मविनाश बढ्दै गएको छ। श्रीलङ्कादेखि अफ्रिकासम्म देखिएका राजनीतिक–आर्थिक संकटहरूको जरामा पनि स्वार्थ र भ्रष्ट अन्तर्मनको प्रभाव छ। यस्तो संकटको समाधान प्राविधिक मात्र होइन, नैतिक र आत्मिक पनि हुनुपर्छ। शुद्ध अन्तर्मनले मात्र नेताले निष्पक्ष शासन गर्न सक्छन्, नागरिकले सहिष्णु व्यवहार गर्न सक्छन्, र समाजले साझा मूल्यमा बाँच्न सक्छ।
अन्तर्मन शुद्ध गर्नु भनेको व्यवहारिक जीवनमा करुणा, सत्य, दया र सहानुभूतिको अभ्यास हो। जब व्यक्तिको मन शुद्ध हुन्छ, तब उसको भाषा र क्रियामा शान्ति झल्किन्छ। यस्तो शान्ति क्रमशः परिवार, समुदाय र राष्ट्रसम्म फैलिन्छ। यसैले, शुद्ध अन्तर्मन नै शान्तिपूर्ण र समावेशी समाज निर्माणको वास्तविक मेरुदण्ड हो।
।(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)
प्रतिक्रिया