logo
  • २०८२ फाल्गुन ५ | Tue, 17 Feb 2026
  • जब अहंकार मर्छ, आत्मा मुस्कुराउँछ         

    जब अहंकार मर्छ, आत्मा मुस्कुराउँछ         

     

    जब अहंकार मर्छ, आत्मा मुस्कुराउँछ

    तोमनाथ उप्रेती

     

    अहंकार मानव चेतनामा गहिरो रूपमा बसेको त्यस्तो प्रवृत्ति हो, जसले व्यक्तिलाई “म” र “मेरो” को सीमित घेराभित्र बाँधिदिन्छ। यही घेरा भित्र रहँदा मानिस बाह्य उपलब्धि, प्रशंसा र तुलना बाट सुख खोज्न थाल्छ, तर यस्तो सुख क्षणिक हुन्छ र अन्ततः पीडामा रूपान्तरण हुन्छ। अहंकारले मनलाई अशान्त बनाउँछ, सम्बन्धलाई कमजोर पार्छ र आत्मचेतनाको विकासमा अवरोध खडा गर्छ।

    मानव जीवनको गहिराइमा हेर्दा, अहंकार र आत्मा बीचको सम्बन्ध अत्यन्त सूक्ष्म तर महत्वपूर्ण देखिन्छ। अहंकार भन्नाले व्यक्ति आफैंलाई अरूभन्दा श्रेष्ठ ठान्ने, आफ्नो विचार र उपलब्धिलाई मात्र सत्य मान्ने तथा प्रशंसा र प्रभुत्वको चाहना राख्ने प्रवृत्ति हो। प्रारम्भमा अहंकारले आत्मविश्वास जस्तो देखिए पनि, विस्तारै यसले व्यक्ति र समाज दुवैमा दूरी, असन्तोष र द्वन्द्व सिर्जना गर्न सक्छ। जब मानिस आफ्नो अहंकारको प्रभावमा निर्णय गर्न थाल्छ, तब उसले सत्य, सहानुभूति र समन्वयभन्दा आफ्नै स्वार्थलाई प्राथमिकता दिन्छ।अहंकारले दिएको सुख अस्थायी मात्र हो। प्रशंसा र पदको चमक मन्द हुँदै जाँदा, भित्री शून्यता महसुस हुन थाल्छ। यही अवस्थामा आत्मबोधको प्रक्रिया सुरु हुन्छ। जब व्यक्ति आफ्ना कमजोरी, सीमितता र त्रुटिहरूलाई स्वीकार गर्न थाल्छ, तब अहंकार क्रमशः कमजोर बन्छ। विनम्रता, सहिष्णुता र कृतज्ञताको भावना जागृत हुन्छ। यही क्षण हो, जब अहंकार मर्छ र आत्मा मुस्कुराउन थाल्छ।

    जब व्यक्तिले आफ्ना कमजोरी स्वीकार गर्न सिक्छ र अहंकारको बोझ त्याग्छ, तब आत्मसुखको वास्तविक यात्रा सुरु हुन्छ। अहंकारको समाप्ति भनेको आत्मसम्मान गुमाउनु होइन, बरु आफ्नो अस्तित्वलाई व्यापक सत्यसँग जोड्नु हो। यस अवस्थामा व्यक्ति बाह्य स्वीकृतिभन्दा भित्री शान्तिमा रमाउन थाल्छ। आत्मसुख कुनै वस्तु, पद वा प्रशंसामा निर्भर हुँदैन; यो त चेतनाको शुद्ध अवस्थामा अनुभूत हुने स्थायी आनन्द हो।

    पूर्वीय दर्शनले पनि यही सत्यलाई जोड दिएको छ—अहंकार क्षीण हुँदै जाँदा करुणा, विनम्रता र आत्मज्ञान प्रबल हुन्छ। यिनै गुणहरूबाट मन स्थिर बन्छ र जीवन अर्थपूर्ण हुन्छ। त्यसैले, अहंकारको समाप्ति कुनै क्षति होइन; यो त आत्मसुखको उज्यालो उदय हो

    अहंकार मानव चेतनाको त्यो सूक्ष्म, तर अत्यन्त प्रबल शक्ति हो, जसले व्यक्ति र समाज दुबैमा द्वन्द्व र असन्तुलन उत्पन्न गर्छ। जब व्यक्तिले आफ्नो अस्तित्वलाई ‘म’ केन्द्रित दृष्टिकोणबाट हेर्छ, तब उसले अरूको अस्तित्व, भावनात्मक अवस्था, अधिकार र आवश्यकता उपेक्षित गर्न थाल्छ। अहंकारले मात्र भौतिक विजय वा छोटो समयको गौरव दिन सक्छ, तर दीर्घकालीन सुख, शान्ति र सन्तुलनको मार्ग बन्द गर्दछ।

    सुखको वास्तविकता अहंकारमुक्त चेतनामा निहित छ। जब ‘म’ को पर्खाल हटाइन्छ, तब सम्बन्ध, समाज र आफ्नै आत्मा खुल्छ। अहंकारको वर्चस्वले प्रेमलाई आदेशमा, मैत्रीलाई प्रतिस्पर्धामा, र समझदारीलाई तर्कको युद्धभूमिमा बदल्दछ। तर जहाँ अहंकारलाई त्यागिन्छ, त्यहाँ प्रेम स्वतन्त्र, मैत्री सशक्त, र समझदारी सुसंगत हुन्छ। आत्मसमीक्षा, विनम्रता र क्षमाशीलता यस प्रक्रियाका मूल मन्त्र हुन्।जीवनको लक्ष्य  भौतिक उपलब्धि वा शक्ति होइन, चेतनाको शुद्धता र आत्मसन्तोष हो। जब अहंकार हटाइन्छ, व्यक्ति  आफ्नो लागि होइन, अरूको लागि पनि सोच्न सक्षम हुन्छ। निःस्वार्थ भावनाले व्यक्तिगत चेतनालाई मात्र नभई सामाजिक चेतनालाई पनि समृद्ध बनाउँछ। ‘म’ हराउने प्रक्रिया व्यक्तिगत मर्यादा र आत्म-ज्ञानको अभ्यास हो, जसले अन्ततः समाजमा शान्ति र समरसताको वातावरण सिर्जना गर्छ।

    अहंकारमुक्त जीवनले भावनात्मक र मानसिक स्वास्थ्यमा पनि सकारात्मक असर पार्छ। जब व्यक्ति स्वार्थमुक्त हुन्छ, उसले द्वन्द्व र तनावलाई कम गर्छ, त्यसैले मनको अवस्था शान्त हुन्छ। मानसिक शान्ति व्यक्तिको जीवनमा स्पष्ट दृष्टि, समन्वय र निर्णय क्षमता ल्याउँछ। अहंकारको उपस्थिति  बाह्य सम्बन्धमा बाधा मात्र होइन, आन्तरिक चेतनामा विकार ल्याउने कारण पनि हो। यसले निर्णयलाई स्वार्थ, क्रोध वा लोभले प्रभावित बनाउँछ, जसले दीर्घकालीन असन्तुलन र पीडा सिर्जना गर्छ।

    बुद्ध धर्मले अहंकारको त्यागलाई मोक्ष र शान्तिको मार्ग मान्छ, भक्ति परम्परामा आत्मसमर्पणलाई परम सुखको आधार मानिन्छ। पौराणिक कथाहरूमा अहंकारी पात्रहरूको पतनले हामीलाई सम्झाउँछ कि अहंकारले छोटो समयको गौरव दिन सक्छ, तर अन्ततः विनाशको बीउ रोप्दछ। यसै सन्दर्भमा, जहाँ स्वार्थ र अहंकार मर्छ, त्यहाँ प्रेम, समझदारी र वास्तविक शान्ति फुल्छ।

    अहंकारको अन्त्यले  व्यक्तिगत जीवनलाई मात्र सुसंगत बनाउँदैन, समाज, परिवार र समुदायलाई पनि एकताको सूत्रमा बाँध्छ। जब ‘म’ को स्थापनामा केन्द्रित सोच ‘हामी’ केन्द्रित चेतनामा रूपान्तरण हुन्छ, तब सह-अस्तित्व, सहयोग र मानवीय सम्बन्ध बलियो हुन्छ। यस्तो अवस्था दीर्घकालीन शान्ति, स्थिरता र दिगो विकासको आधार बनाउँछ।

    आजको युगमा स्वार्थ, लोभ र ईर्ष्याले मानिसको अन्तरात्मा नै क्षीण बनाउँदै लगेको छ। व्यक्तिको सोचाइदेखि लिएर राष्ट्रको नीतिसम्म स्वार्थको प्रभाव देखिन्छ। हरेक निर्णय, सम्बन्ध र व्यवहारमा आत्मकेन्द्रित प्रवृत्तिले स्थान लिएको छ। जसका कारण समाजमा सहयोगभन्दा प्रतिस्पर्धा, करुणाभन्दा घृणा र समर्पणभन्दा स्वार्थ बढेको छ। स्वार्थले मानिसलाई कठोर, संवेदनहीन र विवेकहीन बनाउँछ। यस्तो वातावरणमा आत्मिक शान्ति त के, सामाजिक सद्भाव पनि सम्भव हुँदैन। जबसम्म हामीले स्वार्थ त्याग गर्ने संस्कार विकास गर्न सक्दैनौँ, तबसम्म न त साँचो मित्रता सम्भव हुन्छ, न त स्थायी शान्ति। यसैले, शान्तिको बाटो स्वार्थमुक्त हृदयबाट मात्रै सुरु हुन्छ।जब मानिस स्वार्थ त्याग गर्छ, तब उसको दृष्टिकोण व्यापक हुन्छ। उसले आफूभन्दा अरूको पीडा, भावना र अधिकार बुझ्न थाल्छ। त्याग र समर्पणबाट जन्मिने यही चेतना नै शान्तिको पहिलो फूल हो। परिवारमा स्वार्थभन्दा प्रेम, माया र समर्पण हावी भएमा त्यहाँ कलह होइन, मेलमिलाप हुन्छ। राष्ट्रमा नेताहरूले व्यक्तिगत लाभको सट्टा जनताको हितलाई प्राथमिकता दिए भने राजनीतिक स्थायित्व र समृद्धि सम्भव हुन्छ।

    त्याग   भौतिक वस्तु परित्याग गर्नु मात्र होइन, अहंकार, लोभ, इर्ष्या, घृणा, द्वेषजस्ता नकारात्मक भावनाहरू त्याग गर्नु पनि हो। जब व्यक्तिमा आत्मिक चेतना विकसित हुन्छ, तब उसले आफ्नो स्वार्थभन्दा माथि उठेर समाज र मानव कल्याणको लागि सोच्न थाल्दछ। त्यही सोचबाट त्यागको भावना उत्पन्न हुन्छ।त्यागले व्यक्ति भित्र आत्मिक सन्तोष र मनोवैज्ञानिक स्थिरता ल्याउँछ, जसले शान्तिको अनुभूति गराउँछ। उदाहरणका लागि, महात्मा गान्धीले आफ्नो जीवनभर भोग विलास त्याग गरेर देश र जनताको सेवामा समर्पित भए, जसले उनीप्रति विश्वभर सम्मान र शान्तिको प्रतीकको रुपमा स्थापित गर्यो।

    त्यागले द्वन्द्वको अन्त्य गर्छ र सहिष्णुता, करुणा र सहकार्यको वातावरण बनाउँछ। जब व्यक्तिहरू व्यक्तिगत स्वार्थ त्याग गरेर सामाजिक हितमा क्रियाशील हुन्छन्, तब समाजमा न्याय, समानता र सद्भावको स्थायीत्व रहन्छ।त्यसैले, जहाँ त्यागको भावना हुन्छ, त्यहाँ मनमा र समाजमा पनि शान्ति रहन्छ। अहंकार र लोभले भरिएको संसारमा स्थायी शान्ति सम्भव छैन। शान्ति चाहने हो भने आत्मत्याग, सहिष्णुता र सेवा भाव आवश्यक हुन्छ। साँचो शान्तिको मूल आधार नै त्याग हो।

    आजको संसारमा मानिसहरू भौतिक सम्पत्ति, जमीन–जायदाद र धनको लागि आफन्तसँगै शत्रुता गर्न पनि पछि पर्दैनन्। भाई–भाईबीच प्रेम र एकताको सट्टा ईर्ष्या, प्रतिस्पर्धा र स्वार्थको भावना मौलाएको छ। पद, प्रतिष्ठा र शक्ति प्राप्तिका लागि मानिसहरू मानवता बिर्सिएर जस्तोसुकै नीच र अमानवीय कार्य गर्न तत्पर छन्। नैतिक मूल्यहरू कमजोर बन्दै गएका छन्, । मानवीय सम्बन्धहरू स्वार्थको सिकार बनेका छन्। यस्तो प्रवृत्तिले समाजमा द्वन्द्व, अशान्ति र विघटन निम्त्याएको छ। आत्मकेन्द्रित सोच र लोभको कारण आजको समाज मूल्यहीनताको संकटमा फसेको देखिन्छ। घरमा सासु–बुहारी बीचको विवाद र अधिकारको संघर्षले वैमनस्य उत्पन्न गर्छ, जहाँ सासु त्याग गर्न चाहन्न र बुहारी हर हालतमा अधिकार प्राप्त गर्न चाहन्छ ।

    त्याग  आन्तरिक चेतनाको शुद्धीकरणको मार्ग पनि हो। जब मानिसले आफ्नो स्वार्थ, अहंकार, ईर्ष्या र क्रोधलाई त्याग्छ, तब  व्यक्तिगत मनमा शान्ति स्थापना हुन्छ। त्यागले भावनात्मक असन्तुलन घटाउँछ, मानसिक तनाव कम गर्छ र आत्मा सुन्दर, निर्मल तथा स्थिर हुन्छ। यस प्रक्रियामा व्यक्ति  आफ्नै हितमा होइन, अरूको कल्याणमा पनि संवेदनशील र जिम्मेवार बन्ने क्षमता प्राप्त गर्छ।

    व्यक्तिगत जीवनमा त्यागले अनुशासन र समयको मूल्य सिकाउँछ। अध्ययन, काम वा आत्मविकासका लागि हामीले आफ्नो आराम र मनोरञ्जन त्याग गर्नुपर्छ। त्यागको अभ्यासले हामीलाई दीर्घकालीन लक्ष्यमा ध्यान केन्द्रित गर्न सिकाउँछ र छोटो समयको सुखभन्दा ठूलो लाभ प्राप्त गर्न सहयोग गर्छ। यसैगरी, परिवार र सम्बन्धहरूमा त्यागले समझदारी, सहिष्णुता र सामूहिक प्रेमको निर्माण गर्छ। जब व्यक्ति आफ्नो चाहना वा स्वार्थ केही समयका लागि पछि राख्छ, तब सम्बन्धहरू सुदृढ, सामन्जस्यपूर्ण र प्रेमपूर्ण हुन्छन्।

    त्याग  जीवनको मार्गदर्शन गर्ने आध्यात्मिक र नैतिक शक्ति हो। जहाँ त्याग हुन्छ, त्यहाँ मन, सम्बन्ध, समाज र जीवनमा शान्ति, स्थिरता र सन्तुलनको उदय हुन्छ। जीवनमा साँचो सफलता, सुख र परमात्माको प्राप्ति त्याग बिना असम्भव छ।सामाजिक जीवनमा पनि त्यागको भूमिका अपरिहार्य छ। समाजको हित र न्यायका लागि हामीले आफ्नो व्यक्तिगत स्वार्थ, अहंकार र असुविधा त्याग्नुपर्छ। त्यागले समुदायमा भरोसा, सहकार्य र एकताको भावना जगाउँछ। महात्मा गांधी, भगवान बुद्ध, भगवान राम र अरू महान व्यक्तित्वहरूले देखाएका छन् कि त्यागको अभ्यासले मात्र व्यक्ति महान बन्न सक्छ र समाजमा स्थायी शान्ति र समृद्धि ल्याउन सकिन्छ।

    व्यक्तिगत जीवनमा त्यागले समर्पण, प्रेम र सहानुभूतिको भावना बढाउँछ । जब हामी अरूसँग निस्वार्थ भावले व्यवहार गर्छौं, तब तनाव र द्वन्द्व घट्छ । त्यसैगरी, परिवार र समाजमा पनि त्यागले समन्वय र समझदारी बढाउँछ । एकजना व्यक्तिले अरुको स्वार्थको कदर गरेर आफ्नो अधिकार वा खुशीलाई साइडमा राखेर शान्तिपूर्ण वातावरण बनाउन कोशिस गरे, तब त्यागको प्रभाव समाजमा फैलन्छ र सबैलाई शान्तिको मार्गमा पुर्याउँछ ।जब त्यागको भावना फैलिन्छ, तब समाजमा अहंकार र संघर्ष कम हुँदै शान्ति र सहिष्णुता बढ्छ र त्याग शान्तिको स्थायी स्तम्भ बनिन्छ । गौतम बुद्ध, महात्मा गान्धी, मदर टेरेसा जस्ता व्यक्तित्वहरूले आफूलाई विसर्जन गरी समाजलाई दिशा दिएका थिए।

    अहंकारको अन्त्यमा उदाउने सुख  भौतिक वा क्षणिक आनन्द होइन; यो मानसिक, भावनात्मक, आध्यात्मिक र सामाजिक समग्र शान्ति हो। जहाँ स्वार्थ मर्छ, त्यहाँ जीवनको संगीत फेरि बज्छ—सामूहिक चेतना, निःस्वार्थ प्रेम, गहिरो मैत्री र समझदारीको स्वर समन्वित हुन्छ। यही जीवनको गहिरो दर्शन हो, जसले मानिसलाई शान्ति र वास्तविक सुखको अनुभूति गराउँछ। आजको विषाक्त परिवेशमा स्वार्थ त्याग गर्दै सहिष्णुता, करुणा र समानताको मार्ग अँगाल्ने हो भने मात्र समाजमा शान्ति र सौहार्द कायम गर्न सकिन्छ। यसैले, जहाँ स्वार्थ मर्छ, त्यहाँ शान्ति अवश्य फुल्छ।

    अहंकारको समाप्ति आत्मिक विजय हो। यसले मानिसलाई हलुका बनाउँछ, अनावश्यक प्रतिस्पर्धा र तुलना बाट मुक्त गराउँछ। जब व्यक्ति अरूको सफलतामा खुसी हुन सिक्छ, आफ्ना त्रुटिहरूबाट पाठ सिक्छ र क्षमाशील बन्ने साहस राख्छ, तब उसको आत्मा सन्तुलित र शान्त बन्छ। आत्मसुख बाह्य उपलब्धिमा होइन, आन्तरिक समरसता र सन्तोषमा आधारित हुन्छ।विनम्रता र आत्मबोधले मानिसलाई सम्बन्धमा नजिक ल्याउँछ। परिवार, मित्रता र समाजमा सहकार्य र सम्मान बढ्छ। अहंकारको कारण उत्पन्न हुने विवाद, ईर्ष्या र द्वेष घट्दै जान्छ। यसरी, आत्माको मुस्कान केवल व्यक्तिगत आनन्द होइन, सामाजिक समरसताको आधार पनि हो।

    जब अहंकार मर्छ, आत्मा मुस्कुराउँछ भन्ने कथनले जीवनको सत्य उजागर गर्छ। साँचो शान्ति र सुख बाह्य प्रभुत्वमा होइन, आन्तरिक स्वीकृति र विनम्रतामा निहित हुन्छ। अहंकारको त्यागले मात्र आत्मिक उज्यालो सम्भव हुन्छ, जसले जीवनलाई अर्थपूर्ण, सन्तुलित र सुखद बनाउँछ।

     

    ( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

     

     

     

     

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ २९, बिहीबार २१:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP