logo
  • २०८२ फाल्गुन २८ | Thu, 12 Mar 2026
  • धर्म, चेतना र मानवता

    धर्म, चेतना र मानवता

    धर्म, चेतना र मानवता

    तोमनाथ उप्रेती

    धर्म मानव जीवनको चेतना र संस्कारको मूल आधार हो। तर जब धर्मको नाममा हिंसा प्रकट हुन्छ, तब यसले सम्पूर्ण सामाजिक संरचनामा नै गहिरो असन्तुलन सिर्जना गर्छ। धर्मको वास्तविक अर्थ कर्तव्य, न्याय र जीवनशैलीसँग सम्बन्धित छ, जुन प्रेम, करुणा र अहिंसामा आधारित हुन्छ। तथापि, बलिप्रथा, युद्ध वा अन्य हिंसात्मक अनुष्ठानहरूले धर्मलाई साधन होइन, विकृति बनाइदिन्छन्।

    सामाजिक दृष्टिले धार्मिक हिंसा चेतनाको अवरोध हो। जब बालबालिकाले धर्मकै नाममा हिंसात्मक क्रियाकलाप देख्छन्, उनीहरूको मानसपटलमा नैतिक द्वन्द्व अंकुरित हुन्छ। उदाहरणका लागि, गढीमाई मेलामा जनावरको सामूहिक हत्या केवल एक धार्मिक उत्सव होइन—यो वास्तवमा करुणा र सहिष्णुताविरुद्धको चेतनात्मक प्रशिक्षण हो। यस्तो संस्कारले बच्चालाई धर्म डर, पाप र दण्डसँग जोडेर बुझ्न बाध्य पार्छ। दीर्घकालीन रूपमा यसले सामाजिक व्यवहारमा हिंसा, असहिष्णुता र अहंकारको बीज रोप्छ।

    दार्शनिक दृष्टिले हेर्दा, धार्मिक हिंसा आत्म–साक्षात्कारको मार्गमा ठुलो बाधा हो। वेदान्त दर्शनले आत्मज्ञानको सीढीमा चढ्न अहिंसा, विवेक र नैतिक जीवनलाई अपरिहार्य मानेको छ। उपनिषद्हरूले स्पष्ट रूपमा भन्छन्—“अहिंसा परमो धर्मः।” यदि धर्मको नाममा नै हिंसा अभ्यास हुन्छ भने त्यो धर्म होइन, अज्ञानको पराकाष्ठा हो।

    श्री शंकराचार्यले “नित्य कर्मसु संग फल त्याग” भन्ने उपदेश दिनुहुँदा कर्मको मूल्य परिणाममा होइन, यसको नैतिकता र विवेकमा निहित हुन्छ भन्ने कुरा स्पष्ट पार्नुभएको छ। तर धार्मिक हिंसाले कर्मलाई नैतिकताको बाटोबाट विचलित गरेर केवल बाह्य क्रियामा सीमित पारिदिन्छ। यसले कर्मलाई शुद्ध पार्नुको साटो, समाजलाई अज्ञान र विभाजनतर्फ धकेल्छ।

    यदि धर्म जीवनलाई शुद्ध बनाउन आएको हो भने हिंसा त्यसको प्रतिपक्ष हो। भगवान् बुद्धले दुःखको मूल कारण अविद्या र तृष्णा भएको बताउँदै हिंसालाई दुःखको पुनरुत्पादन भनेका छन्। गीता भन्छ—दैवी सम्पत्तिमा अहिंसा, दया, शान्ति, सत्य र करुणा छन्; आसुरी सम्पत्तिमा क्रोध, हिंसा र घृणा। धार्मिक हिंसाले मानिसलाई दैवी बाटो होइन, आसुरी मार्गतर्फ धकेल्छ।

    मानव सभ्यताको मूलमा धर्म र आस्था निहित छ। धर्मको वास्तविक उद्देश्य आत्म–शुद्धि, सत्यको खोज र समाजमा शान्ति स्थापनामा केन्द्रित हुन्छ। उपनिषद्ले भनेको छ—“सत्यं वद, धर्मं चर।” अर्थात् सत्य बोल, धर्मको आचरण गर। तर इतिहासले देखाउँछ कि यही आध्यात्मिक सत्य, जसले मानव जीवनलाई प्रकाशतर्फ डोहोर्याउनुपर्ने थियो, कतिपय अवस्थामा सामाजिक द्वन्द्व र हिंसाको आधार बनेको छ।

    दार्शनिक दृष्टिले धर्मको सार नै चेतनाको उन्नति हो। प्लेटोले आदर्श राज्यमा न्यायलाई सर्वोच्च मूल्यका रूपमा प्रस्तुत गरे, बुद्धले दुःखको मूल कारण तृष्णा देखाउँदै करुणा र अहिंसाको बाटो सिकाए। यी सबै शिक्षाहरूले स्पष्ट पार्छन् कि धर्मको सत्य पक्ष आत्म–साक्षात्कार र सहअस्तित्वमा निहित छ। तर जब धर्मलाई संकीर्ण राजनीतिक, जातीय वा व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिन्छ, त्यतिबेला यो सत्य विकृत भई हिंसाको रुप लिन थाल्छ।

    संस्कार समाजको आधार हो। यदि संस्कार करुणा, सहिष्णुता र समानतामा आधारित हुन्छ भने समाजमा शान्ति र सहयोग फैलिन्छ। तर जब संस्कारलाई कट्टरता र उग्रतालाई पोषण गर्ने माध्यम बनाइन्छ, तब सामाजिक द्वन्द्व अपरिहार्य हुन्छ। इतिहासका धार्मिक युद्धहरू, जातीय हिंसा, र सम्प्रदायबीचको द्वन्द्व यसको प्रत्यक्ष उदाहरण हुन्। यहाँ आध्यात्मिक सत्यको प्रकाश अन्धकारमा परिणत हुन्छ।

    आधुनिक दृष्टिकोणले धार्मिक हिंसालाई चेतनाको संकटका रूपमा व्याख्या गर्छ। विश्व नागरिकता, मानव अधिकार र सहअस्तित्व आजका युगका मुख्य मूल्य हुन्। जब मानिस केवल आफ्नो सम्प्रदायलाई सर्वोच्च ठान्छ र अन्य आस्थालाई अस्वीकार गर्छ, तब सामाजिक सद्भाव भत्किन्छ। आधुनिक दर्शनले देखाउँछ कि धर्मको सार सार्वभौमिक सत्य हो, जुन जात, भाषा वा भूगोलले सीमित गर्न सकिँदैन।

    हिन्दू दर्शन स्पष्ट भन्छ—धर्मको मूल मर्म अहिंसा र सत्य हो। मनुस्मृतिमा अहिंसा, सत्य र इन्द्रिय–निग्रहलाई धर्मको मेरुदण्ड भनिएको छ। महाभारतमा सबै प्राणीप्रति दया गर्नु नै कर्तव्य भनिएको छ। ऋग्वेदले ‘पशु’लाई जनावर नभई मानवका लोभ, मोह, क्रोध र अहंकारको प्रतीक मानेको छ, जसलाई बलिदान गरेर आत्म–शुद्धि गर्नुपर्छ। तर आजको समाजले यो सूक्ष्म व्याख्यालाई त्यागेर स्थूल हिंसालाई ‘संस्कार’ मानेको छ।

    श्रीमद्भगवद्गीतामा कृष्णले अहिंसा, दया, शान्ति र कोमलतालाई दैवी सम्पत्ति भनेका छन्। देवी–देवता स्वयं करुणा र प्रेमका मूर्तरूप हुन्, उनीहरू निर्दोष प्राणीको रगतबाट प्रसन्न हुन सक्दैनन्। यसैले, बोका वा राँगाको हत्या धर्मको आत्मामा चोट पुर्याउने कुसंस्कार हो।

    अब समय आएको छ कि हामी आफ्ना संस्कारको पुनर्व्याख्या गरौं, धर्मको पुनराविष्कार गरौं र करुणाको क्रान्तिमा आफूलाई समर्पित गरौं। बलिप्रथा अन्त्य होस्, करुणा आरम्भ होस्। मानव चेतनामा प्रेम, न्याय र अहिंसाको दीप प्रज्वलित होस्। यही सत्य आध्यात्मिक विजय हो—जहाँ धर्म, चेतना र मानवता एकाकार भई साँचो पवित्रता प्रकट गर्छ।

    ( नेपाल सरकारका उपसचिव उप्रेती  पुर्वीय दर्शन, मानव मूल्य र अध्यात्मवादमा कलम चलाउँछन् ।)

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २८, बिहीबार ०७:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP