द बफेलो हन्टरः नरसंहार, विश्वास र भयको ऐतिहासिक संग्राम
तोमनाथ उप्रेती
पृष्ठभुमि
स्टिफन ग्राहम जोन्स समकालीन अमेरिकी भय–साहित्यका अग्रणी लेखक हुन्। उहाँ ब्ल्याकफिट समुदायसँग सम्बन्धित हुनुहुन्छ। उहाँ आफ्ना कृतिहरूमा आदिवासी इतिहास, सांस्कृतिक स्मृति तथा पहिचानका विषयलाई भयको शैलीमा प्रस्तुत गर्नुहुन्छ। उहाँका उपन्यासहरूमा अन्याय र सामाजिक हिंसा “भय” को रूपमा चित्रित हुन्छ। द ओनली गुड इन्डियन्स जस्ता कृतिले उहाँलाई अन्तर्राष्ट्रिय चर्चा दिलाएको छ। उहाँको लेखनशैली तीक्ष्ण, मनोवैज्ञानिक र प्रतीकात्मक छ। साहित्यिक गहिराइ र सांस्कृतिक चेतनाका कारण उहाँ आधुनिक भय–साहित्यका प्रभावशाली र मौलिक आवाज मानिनुहुन्छ। आधुनिक भय–साहित्यका शिखर व्यक्तित्वमध्ये एक मानिने जोन्सले आफ्नो नवीन कृति द बफेलो हन्टर मार्फत उहाँले अमेरिकी इतिहासको एउटा घाउ खोलिदिएका छन्।
सन् २०२५मा प्रकाशित यो कृति स्मृतिको प्रतिशोध हो। यो उपन्यासले अमेरिकी आदिवासी समुदायमाथि भएका ऐतिहासिक नरसंहार, सांस्कृतिक विनाश र धार्मिक–औपनिवेशिक हस्तक्षेपलाई भयको सौन्दर्यशास्त्रभित्र पुनः जीवित बनाउँछ।
कथासार
कथा सन् १९१२ मा लेखिएको एक लुथेरन पादरीको डायरी फेला पर्नेसँगै आरम्भ हुन्छ। चर्चको पुरानो पर्खालभित्र सावधानीपूर्वक लुकाइएको उक्त डायरी समयको धुलोले ढाकिएको भए पनि भित्र भयावह स्मृतिहरू बोकेर बसेको हुन्छ। सुरुमा त्यो सीमावर्ती क्षेत्रमा गरिएको धार्मिक सेवा, प्रार्थना र दैनिक घटनाको सामान्य अभिलेखजस्तो देखिन्छ। पादरीको भाषा संयत र श्रद्धाभावले भरिएको छ, जसले पाठकलाई कुनै असाधारण घटनाको संकेत दिँदैन। तर पानाहरू पल्टिँदै जाँदा शब्दहरू क्रमशः अँध्यारो बन्दै जान्छन्। डायरीले अन्ततः एउटा क्रूर सत्य उद्घाटित गर्छ—हिउँले ढाकिएको मैदानमा २१७ जना ब्ल्याकफिट समुदायका मानिसहरूको सामूहिक मृत्यु। त्यो योजनाबद्ध नरसंहारको परिणाम थियो।
यस ऐतिहासिक दस्तावेजसँगै अर्को महत्वपूर्ण भाग पनि अघि बढ्छ—गुड स्टाब नामका एक ब्ल्याकफिट पुरुषसँग गरिएका अन्तर्वार्ताहरू। यी अन्तर्वार्ताहरू सरल प्रश्न–उत्तर जस्तै देखिए पनि भित्र गहिरो पीडा लुकेको छ। गुड स्टाब आफ्ना अनुभवहरू खुलेर सुनाउँछन्। उनी आफ्नो बाल्यकाल, आफ्नो परिवार, आफ्नो समुदाय र उनीहरूले भोगेको दुःखबारे बोल्छन्। उनका शब्दहरूमा चोट छ, तर साहस पनि छ।
कथा अगाडि बढ्दै जाँदा पाठकले बुझ्न थाल्छ कि त्यो ठूलो त्रासदीबाट केही असामान्य जन्मिएको छ। एउटा रक्तपिपासु, तर सामान्य डर लाग्दो पात्र जस्तो होइन। ऊ अन्धाधुन्ध मानिस मार्ने रगतपिपासु प्राणी मात्र होइन। उसको अस्तित्वको कारण छ। उसले भोगेको अन्यायले उसलाई चलायमान बनाएको छ।त्यो रक्तपिपासु वास्तवमा दफनिएको इतिहासको प्रतीक हो। ऊ बदला लिन मात्र होइन, सत्य देखाउन चाहन्छ। ऊ सम्झाउन चाहन्छ कि अन्याय बिर्सिए पनि मेटिँदैन। त्यसैले उसको यात्रा डरभन्दा बढी न्यायको खोज हो।
संरचना र कथन–प्रविधि
उपन्यासको संरचना साँच्चै नै बहुस्तरीय र सोच्न बाध्य बनाउने किसिमको छ। कथा दुई फरक माध्यमबाट अघि बढ्छ—एकतर्फ १९१२ मा लेखिएको डायरी र अर्कोतर्फ गुड स्टाबसँग गरिएका अन्तर्वार्ताहरू। डायरी औपनिवेशिक दृष्टिकोणको प्रतिनिधित्व गर्छ। त्यहाँ घटनाहरू पादरीको नजरबाट प्रस्तुत गरिएका छन्। उनको लेखाइमा धार्मिक विश्वास, आफ्नो कर्तव्यप्रतिको धारणा र कहिलेकाहीँ देखिने अज्ञानता मिसिएको छ। उनले देखेका र बुझेका कुरा मात्र लेखेका छन्, जसले सत्यको सीमित रूप देखाउँछ।
अर्कोतर्फ, गुड स्टाबको आवाज व्यक्तिगत र आत्मीय छ। उनले आफ्नो अनुभव, दुःख र सम्झनाहरू सिधा शब्दमा व्यक्त गर्छन्। तर उनको कथनमा पनि केही रहस्य छ—सबै कुरा स्पष्ट हुँदैन, केही कुरा संकेतमा मात्र भनिन्छ।यी दुई दृष्टिकोणसँगै कथा पढ्दा पाठकले एउटै घटनाको फरक–फरक अर्थ देख्छन्। यही कारणले लेखकले पाठकलाई प्रश्नहरू सोध्न प्रेरित गर्छन्—सत्य वास्तवमा कसको हो? कसलाई पीडित भन्नु उचित हुन्छ, र कसलाई अपराधी? इतिहास लेख्ने मानिसले कसको पक्ष रोज्छ?
परिवेश:
यस कृतिमा खुला मैदान, हिउँले ढाकिएको विशाल भूमि, र बिस्तारै हराउँदै गएको भैंसीको संसार नै भयको प्राकृतिक रंगमञ्चको रूपमा प्रस्तुत गरिएको छ। यहाँको वातावरण केवल पृष्ठभूमि होइन; यो कथाको भावनात्मक र ऐतिहासिक तनावलाई अझ प्रगाढ बनाउने तत्व हो। परम्परागत गोथिक साहित्यमा प्रायः महल, अँध्यारा कोठा र रहस्यमय गल्लीहरू हुन्छन्। तर जोन्सले यसलाई फरक ढंगले रूपान्तरण गरेका छन्—खुला आकाश, सुनसान मैदान, कठोर हिउँ र मौन हिमपात नै डर र अनिश्चयको वातावरण सिर्जना गर्छ।
हिउँ प्रतीकात्मक छ। यसले लुकाइएको इतिहासको याद दिलाउँछ, मौनताको अनुभव गराउँछ र रगतले रङिएको स्मृतिलाई उजागर गर्छ। यसमा खुलाइएको दृश्यले पाठकलाई भूतपूर्व नरसंहार र अन्यायको सामना गराउँछ।
भैंसीको विनाश आर्थिक दृष्टिले ठूलो क्षति थिएन; यो सांस्कृतिक अस्तित्वमाथिको आक्रमण थियो। भैंसी प्लेन्स आदिवासीहरूको खाद्य स्रोत, आर्थिक सुरक्षा र सांस्कृतिक पहिचान जीवनको आधार थियो। यसको विनाशले आदिवासी समाजमा असर पुर्यायो। लेखकले यस विनाशलाई समुदाय र परम्परागत जीवनमाथिको प्रत्यक्ष आक्रमणको रूपमा चित्रण गरेका छन्। यसले पाठकलाई भूतपूर्व पीडा र सांस्कृतिक हानिको गहिरो अनुभव गराउँछ।
चरित्र–विश्लेषण
गुड स्टाब
गुड स्टाब उपन्यासको आत्मा हुन्। उनी पीडित, बाँचिरहेका इतिहासका साक्षी र सम्भावित राक्षसको रूप पनि धारण गर्छन्। उनका अनुभव, विचार र भावनाहरू बहुआयामिक छन्। उनी अस्तित्व–संकटको सामना गर्छन्। सांस्कृतिक विस्थापनको पीडा भोग्छन्। प्रतिशोधको भावना राख्छन् र आध्यात्मिक द्वन्द्वसँग जुध्छन्। यिनै जटिलताले उनलाई एक पात्र भन्दा माथि उठाएर उपन्यासको केन्द्र बनाएको छ। उनको मानवीयता नै पाठकलाई भयको अनुभव गराउँछ, किनकि हामी उनको पीडा, संघर्ष र न्यायको खोजीमा सहानुभूति राख्छौं, जसले कथा अझ प्रभावशाली र गहिरो बनाउँछ।
लुथेरन पादरी
डायरी लेखक पादरी धार्मिक विश्वास र औपनिवेशिक संरचनाको प्रतिनिधि हुन्। उनी पूर्ण रूपमा दुष्ट होइनन्; तर उनी प्रणालीको अंगका रूपमा प्रस्तुत हुन्छन्, जसले उपन्यासमा शक्ति र नियंत्रणको संरचनालाई देखाउँछ। उनका विचार र व्यवहारमा धार्मिक श्रद्धा स्पष्ट छ, तर त्यो आदिवासी जीवन र संस्कृति माथि दबाबको रूपमा प्रकट हुन्छ। पादरीको विश्वास र आदिवासी आध्यात्मिकताको बीचको द्वन्द्वले कथा मात्र होइन, उपन्यासको दार्शनिक गहिराइ पनि थप्दछ। यसले पाठकलाई धर्म, शक्ति, न्याय र सांस्कृतिक दृष्टिकोणबिचको जटिल सम्बन्धबारे सोच्न बाध्य बनाउँछ।
प्रमुख विषयवस्तु
उपन्यासका प्रमुख विषयवस्तुहरूले ऐतिहासिक र सांस्कृतिक सन्देश बोकेको छ। ऐतिहासिक अपराधबोध यसको पहिलो महत्वपूर्ण पक्ष हो। नरसंहार छिपाइएको अपराधबोध हो, जसले समयको पर्खालमा गहिरो चोट छोडेको छ। रक्तपिपासु पात्र इतिहासको पुनरागमनको रूपमा देखा पर्छ—जस्तो कि बिर्सिएको अन्याय फेरि जीवन्त भएको छ। यसले पाठकलाई सम्झाउँछ कि इतिहास बिर्सिँदैन र पीडित स्मृतिहरू सधैं जीवित रहन्छन्। न्याय बनाम प्रतिशोध को विषयले कथा अझ जटिल बनाउँछ। गुड स्टाबको यात्रा केवल बदला लिनको लागि होइन; उसको मनोवैज्ञानिक र नैतिक द्वन्द्वले पाठकलाई सोच्न बाध्य बनाउँछ। उसले न्याय खोज्छ तर प्रतिशोधको इच्छा उसको निर्णयलाई जटिल बनाउँछ, जसले उपन्यासमा गहिरो नैतिक प्रश्न उठाउँछ।
अर्को महत्त्वपूर्ण विषय धर्म र आध्यात्मिकता हो। क्रिश्चियन धर्म र आदिवासी विश्वासबीचको द्वन्द्वले कथामा सांस्कृतिक संघर्षलाई स्पष्ट रूपमा प्रस्तुत गर्छ। पादरीको धर्म र आदिवासी परम्पराको टकरावले शक्ति, विश्वास र पहिचानबीचको द्वन्द्वलाई पाठकको सामु ल्याउँछ। साथै, उपभोग र भोकको प्रतीकात्मकता पनि उल्लेखनीय छ। भैंसीको अन्धाधुन्ध शिकार र रक्तपिपासुको रगतप्रतिको भोकबीच गहिरो सम्बन्ध छ। यसले प्रश्न उठाउँछ—वास्तविक शिकारी को हो? उपनिवेशी आक्रमणकारी कि रक्तपिपासुको रूप धारण गरेको इतिहास? यी विषयहरूले उपन्यासलाई केवल भय कथा नभई ऐतिहासिक, नैतिक र सांस्कृतिक गहिराइ भएको साहित्यिक कृति बनाउँछन्, जसले पाठकलाई भावनात्मक र बौद्धिक रूपले समृद्ध बनाउँछ।
प्रतीकवाद
उपन्यासमा प्रयोग भएका प्रतीकहरूले कथा र विषयवस्तुलाई गहिरो अर्थ दिन्छन्। भैंसी आदिवासी समुदायको जीवन र संस्कृतिको आधार हो। भैंसीले खानपान, आर्थिक सुरक्षा, धार्मिक अनुष्ठान र सामाजिक सम्बन्धको माध्यम प्रदान गर्थ्यो। यसको विनाश समुदायको पहिचान र अस्तित्वमाथि प्रत्यक्ष आक्रमण थियो।
हिउँ उपन्यासमा मौन इतिहासको प्रतीक हो। हिमपातले घटनाहरूलाई ढाक्छ, तर इतिहासलाई मेटाउन सक्दैन। हिउँले पीडितहरूको कथा र भूतपूर्व अन्यायलाई मौन रूपमा सुरक्षित राख्छ।
डायरी लुकाइएको सत्यको प्रतीक हो। पादरीको डायरीमा लेखिएका शब्दहरू इतिहासको सच्चाइ बोकेका छन्, तर बाहिरी दृष्टिले साधारण अभिलेख जस्तो देखिन्छ। यसले पाठकलाई बुझाउँछ कि सत्य प्रायः सतहमा मात्र देखिँदैन; कहिलेकाहीँ यसलाई खोज्नुपर्छ।
रक्तपिपासु उत्पीडित स्मृतिको पुनर्जन्म हो। ऊ केवल रगत पिउने प्राणी होइन; उसले इतिहासमा भएका अन्याय र पीडालाई जीवन्त बनाउँछ। रक्तपिपासुले पाठकलाई याद दिलाउँछ कि इतिहासको अन्याय कहिल्यै पूर्ण रूपमा मेटिँदैन र पीडित स्मृतिहरू फेरि फर्किन सक्छन्।
यी प्रतीकहरूले उपन्यासलाई सांस्कृतिक, ऐतिहासिक र भावनात्मक गहिराइ भएको साहित्यिक कृति बनाउँछन्।
भाषाशैली
जोन्सको भाषा सरल तर धारिलो छ, जसले पाठकलाई सहजै कथामा प्रवेश गराउँछ। उनी शब्दको छनोटमा सधैं सटीक र विचारशील हुन्छन्, जसले वातावरण, पात्र र घटनाहरूलाई स्पष्ट तर गहिरो रूपमा प्रस्तुत गर्छ। डायरी भागको भाषा विशेषगरी संयत र औपचारिक छ। पादरीको नजरबाट लेखिएका यी पानाहरू धार्मिक र ऐतिहासिक सन्दर्भले भरिएका छन्, जसले पाठकलाई समयको वास्तविकता महसुस गराउँछ।
अर्कोतर्फ, गुड स्टाबको भाषा पूर्णतया भिन्न छ। उनका शब्दहरू भावनात्मक, कहिलेकाहीँ व्यङ्ग्यात्मक हुन्छन्, जसले उनको व्यक्तित्व र अनुभवलाई जीवित बनाउँछ। उनी आफ्ना पीडा, गुनासो, र स्मृतिहरूमा पाठकलाई सहभागी बनाउँछन्।हिंसात्मक दृश्यहरू पनि अतिरञ्जित छैनन्। लेखकले दृश्यलाई अत्यधिक डरावना वा ग्राफिक बनाउने प्रयास गरेका छैनन्; बरु ती दृश्यहरू शीतल, यथार्थपरक र आवश्यक मात्रामा प्रस्तुत छन्। यही संयमले भयलाई अझ प्रभावशाली बनाउँछ, किनभने पाठकले मन–मस्तिष्कले ती घटनाहरू अनुभव गर्छन्।
साहित्यिक मूल्यांकन
यस कृतिले भय–साहित्यलाई मात्र होइन, समग्र साहित्यिक दृष्टिकोणलाई नयाँ दिशा दिएको छ। यसले प्रमाणित गर्छ कि भय ऐतिहासिक, सामाजिक र सांस्कृतिक विमर्शको माध्यम पनि हुन सक्छ। जोन्सले रक्तपिपासुको परम्परागत यूरोपेली छविलाई उल्ट्याएका छन्। यहाँ रक्तपिपासु उत्पीडन, अन्याय र इतिहासमा दबिएका पीडाबाट जन्मिएको प्रतीक हो। अमेरिकी भूमिमा यसको जन्मले परम्परागत राक्षसको कल्पनालाई चुनौती दिएको छ र पाठकलाई डरभन्दा बढी सोच्न र स्मरण गर्न बाध्य बनाउँछ।
समालोचनात्मक दृष्टि
केही पाठकलाई उपन्यास चुनौतीपूर्ण लाग्न सक्छ। पहिलो कुरा, कथाको ढिलाइले सबै घटना एकैचोटि खुल्दैन; कथा विस्तारै, सानातिना विवरण र अन्तर्वार्ताको माध्यमबाट अगाडि बढ्छ। यसले केही पाठकलाई असहज वा ढिलो लाग्ने अनुभव दिन सक्छ। दोस्रो, उपन्यासको जटिल संरचना—डायरी र अन्तर्वार्ताको द्वैध दृष्टिकोण—सत्य र अनुभवको फरक–फरक प्रस्तुति गर्दछ। एउटै घटनाको विभिन्न अर्थ र भाव बुझ्न पाठकले ध्यान दिनुपर्छ। पाठकले स्वयं विचार गरेर न्याय, अन्याय, प्रतिशोध र क्षमाको सीमाना ठम्याउनुपर्छ।
तर यी जटिलताहरू कमजोरी होइनन्। बरु, ती उपन्यासको बल र साहित्यिक मूल्य हुन्। ढिलाइले घटनाहरूको प्रभावलाई गहिरो बनाउँछ, पाठकलाई धैर्यपूर्वक कथा बुझ्न प्रेरित गर्छ। द्वैध दृष्टिकोणले इतिहास र अनुभवको बहुवचनतालाई उजागर गर्छ। अस्पष्ट नैतिक निष्कर्षले पाठकलाई विचारशील बनाउँछ र कथा भित्रको द्वन्द्वमा सहभागी गराउँछ। यी सबै तत्वहरूले उपन्यासलाई केवल मनोरञ्जनको साधन नभई गहिरो, भावनात्मक र बौद्धिक अनुभव दिने साहित्यिक कृति बनाउँछन्। अन्ततः, पाठकले डर मात्र होइन, पीडा, अन्याय, सांस्कृतिक विस्थापन र इतिहासको गहिराइको अनुभूति गर्छन्।
निष्कर्ष
द बफेलो हन्टर स्मृतिको प्रतिरोध हो। यसले इतिहासको अन्याय र नरसंहारलाई जीवन्त बनाउँछ। जब इतिहास दबाइन्छ, त्यो भयको रूपमा फर्किन्छ र भविष्यलाई पनि चुनौती दिन्छ भन्ने भाव जोन्सले देखाएका छन्। कथा भित्रको रक्तपिपासु उत्पीडित स्मृतिको जीवित प्रतिनिधित्व हो जसले पाठकलाई इतिहाससँग जुध्न र स्मरण गर्न बाध्य बनाउँछ।
उपन्यासले नैतिक र ऐतिहासिक प्रश्नहरू उठाउँछ। पाठकले विचार गर्नुपर्छ—सत्य र अन्यायको सीमाना कहाँ छ? प्रतिशोध न्यायको विकल्प हुन सक्छ कि सक्दैन? भयको माध्यमबाट न्याय, पीडा र सांस्कृतिक विनाशको जटिल प्रश्न उठाउने यस्ता सशक्त साहित्यिक कृति दुर्लभ हुन्छन्। द बफेलो हन्टर चेतना र स्मृतिको आवाज बनेको छ।
प्रतिक्रिया