आत्मस्नेह र सामाजिक सद्भावमा निजानन्द दर्शन
तोमनाथ उप्रेती
निजानन्द दर्शनले मानव जीवनलाई आन्तरिक प्रेम, सच्चरित्रता, र सामाजिक सद्भावतर्फ उन्मुख गराउँछ। यस दर्शनको मूल आधार आत्मस्नेह हो—आफ्नो अस्तित्व र चेतनाप्रति गहिरो सम्मान र प्रेम। आत्मस्नेह बिना व्यक्ति न त आफ्नो जीवनको अर्थ बुझ्न सक्छ, न त समाजसँग सच्चा सम्बन्ध विकास गर्न सक्छ। जब व्यक्तिले आफूलाई स्वीकार्छ र आत्मसम्मानको भावना विकास गर्छ, तब उसले अरूलाई पनि सम्मान र प्रेमका साथ हेर्न सक्छ।
निजानन्द दर्शनले सच्चरित्रतालाई आत्मस्नेहको अभिव्यक्ति मान्दछ। जीवनमा सत्य, नैतिकता र पारदर्शिता अपनाउँदा मात्र आत्मस्नेह पूर्ण हुन्छ। सच्चरित्र व्यक्तिले आफ्नो आन्तरिक मूल्यलाई बाहिरी क्रियाकलापमा प्रस्तुत गर्दछ। यस्तो व्यक्तित्वले सामाजिक सम्बन्धमा स्थायित्व ल्याउँछ, विश्वास र सम्मानको आधार तयार गर्छ।
सामाजिक दृष्टिले, निजानन्द दर्शनले सद्भाव र सहजीवनको महत्त्व स्पष्ट रूपमा उजागर गरेको छ। जब व्यक्तिले आत्मस्नेह र सच्चरित्रता अपनाउँछ, उसले अरूसँग सहयोग, सहिष्णुता र समझदारीको व्यवहार गर्दछ। यस दर्शन अनुसार, समाज केवल व्यक्तिगत लाभको माध्यम होइन; यो सहजीवन र सामूहिक विकासको मार्ग हो। प्रत्येक व्यक्ति आफ्नो आन्तरिक चेतना र मूल्यको प्रकाशले समाजमा सद्भावको वातावरण सिर्जना गर्न सक्छ।
आत्मस्नेह र सामाजिक सद्भाव एकअर्कासँग गहिरो सम्बन्धित छन्। आफ्नो मन, विचार र कर्मप्रति प्रेमले मात्र हामीले अरूलाई समझदारी र माया प्रदान गर्न सक्छौं। यसले द्वन्द्वको सट्टा सहयोग, असहमतिको सट्टा संवाद, र प्रतिस्पर्धाको सट्टा सहकार्यलाई प्रोत्साहित गर्दछ।आत्मस्नेह र सामाजिक सद्भावमा निजानन्द दर्शनले व्यक्तिलाई समाजिक जीवनमा स्थायित्व, सम्मान र सहजीवनको वातावरण सिर्जना गर्न प्रेरित गर्दछ।
श्री प्राणनाथजीको श्रीमुखबाट उद्गारित “तारतम वाणी” आत्मज्ञान र ब्रह्मानुभूतिको सजीव संवाद हो। यस वाणीमा ‘क्षर पुरुष’, ‘अक्षर पुरुष’ र ‘पुरुषोत्तम’ को तात्त्विक अवतरणद्वारा आत्मा–परमात्मा सम्बन्धको गूढतम व्याख्या गरिएको छ। यस दर्शनले आत्मालाई सच्चिदानन्द ब्रह्मको अंशस्वरूप देख्ने दृष्टिकोणले, मानवीय चेतनालाई सीमित संकीर्णताबाट मुक्त गराएर सार्वभौम आत्मसमरसताको अनुभूति गराउँछ। यिनै आधारहरूमा, निजानन्द दर्शनले वेद, उपनिषद्, कुरान, बाइबल र अन्य धर्मदर्शनहरूलाई भाषागत भिन्नता हुँदाहुँदै भावगत ऐक्यमा बाँधेर—‘सोई खुदा सोई ब्रह्म’ को घोषद्वारा सम्पूर्ण मानवतासँग संवाद गराउँछ।
धनी श्री देवचन्द्रजी महाराजको ३५ वर्षको आत्मसाधना, अन्तर्ज्ञान र अखण्ड तपस्याबाट प्राप्त तारतम बीज महामन्त्र, आत्मिक परिवर्तनको वैज्ञानिक प्रक्रिया हो। यस महामन्त्रले व्यक्ति–चेतनामा समाहित अविद्या, अहंकार र मायाको वलयलाई भेदन गरी ब्रह्म–आत्म मिलनको उच्चतम अनुभूति दिन्छ। जब श्री प्राणनाथजीले उक्त मन्त्रलाई शब्दरूपी ब्रह्म बनाइ संसारमा प्रकट गर्नुभयो, तब निजानन्द दर्शनले सम्पूर्ण मानवजातिको मोक्षदायी मार्ग बन्यो। यही कारण, तारतम सागरका चौपाइहरूले तात्त्विक, वैज्ञानिक र तत्वानुभूतिक भाषालाई समाहित गरेर ‘रस–बोध’ र ‘ब्रह्म–बोध’ को अनुपम समन्वय साकार बनाउँछन्।
आज आधुनिकता र भौतिकताको बाढीले मानवता गलाउँदै लगेको छ। निजानन्द दर्शनले समतामूलक सामाजिक संरचना, अहिंसात्मक जीवनशैली र प्रेममा आधारित अन्तरसम्बन्धद्वारा समाजलाई पुनः जीवन्त बनाउने मूलमन्त्र दिन्छ। यसले धर्मलाई संकीर्ण संस्कार वा जातीय सीमामा बाँध्ने प्रयास होइन, आत्म–सर्वात्म भावमा बाँच्ने मार्गदर्शन दिन्छ। अष्टप्रहर सेवा, शाकाहार, ब्रह्मचर्य, सहिष्णुता र व्यवहारिक भक्ति निजानन्द दर्शनका कार्यगत यमहरू हुन्, जसले सामाजिक अनुशासन, नैतिक चेतना र आध्यात्मिक अनुशासनको सुदृढ जग बसाल्दछन्।
निजानन्द दर्शन एक आध्यात्मिक क्रान्ति हो, जसको केन्द्रविन्दु “प्रेम नै ब्रह्म हो” भन्ने शाश्वत सत्यमा आधारित छ। जात, सम्प्रदाय वा भूगोलको सीमा नमान्ने यो दर्शन आजको विषमता, द्वन्द्व र वैमनस्यले भरिएको समाजलाई समरसता, सौहार्द र सार्वभौम एकताको उच्च आदर्शतर्फ उन्मुख गराउने सार्वकालिक शक्ति हो। यो मानव सभ्यताको आध्यात्मिक पुनर्जागरणको बाणिज्य हो—जसले आत्मा र समाजलाई परमधामको शाश्वत प्रकाशमा स्नात गराउने दिव्य सामर्थ्य राख्दछ।
निजानन्द दर्शन जीवनको गहन आध्यात्मिक चेतना हो, जसले मानव अस्तित्वको अन्तर्निहित सारलाई उजागर गर्छ। यस दर्शनका अनुसार, प्रत्येक प्राणीमा समान आत्मिक मूल्य विद्यमान छ र यही समानताका आधारमा समाजलाई न्यायपूर्ण, करुणामय र समावेशी बनाउन सकिन्छ। वर्तमान विश्व जहाँ असमानता, सामाजिक द्वन्द्व, जातीय र धार्मिक विखण्डन गहिरो हुँदै गइरहेको छ, त्यहाँ निजानन्द दर्शनले चेतनाको स्तरमै परिवर्तन आवश्यक रहेको स्पष्ट देखाउँछ।
निजानन्द दर्शनले बाह्य अधिकार र संरचनामा मात्र न्याय खोज्नु अपर्याप्त ठान्छ; समाजको वास्तविक समावेशिता तब मात्र सम्भव हुन्छ जब व्यक्तिहरू आफ्ना भित्री स्वभावमा समानता, प्रेम र करुणा स्थापनामा विश्वास गर्न थाल्छन्। यसले व्यक्तिको मनोवैज्ञानिक उन्नति मात्र होइन, सामाजिक एकता र दीर्घकालीन स्थायित्वको आधार तयार पार्छ।
यस दर्शनमा “सब प्राणी एक समान” भन्ने मूल मन्त्रले कृत्रिम सीमाहरू—जाति, धर्म, भाषा, वर्ग—भत्काइदिन्छ र सबैलाई सार्वभौमिक चेतनाको दृष्टिले समान अधिकार र सम्मानको अनुभूति गराउँछ। यसरी, निजानन्द दर्शनले व्यक्तिको आत्म-साक्षात्कार र समाजको समावेशिता दुवैलाई एकीकृत गर्दै मानवताको वास्तविक महत्त्व र उच्चतम मूल्यको उद्घाटन गर्दछ।
निजानन्द दर्शनमा ब्रह्म–आत्म एकत्वको अवधारणाले व्यक्ति र समाजबीचको भेद हटाएर आत्मीयताको नयाँ संरचना निर्माण गर्दछ। यसले प्रेम, सेवा र त्यागको मूल्यमा आधारित सामाजिक सम्बन्धहरू निर्माण गर्न प्रेरणा दिन्छ। परब्रह्मको स्वरूपमा सच्चिदानन्दको अनुभूति गराउँदै निजानन्द दर्शनले मानिसलाई भौतिक मोहको जालबाट मुक्त गरी दिव्यता र शान्तिको मार्गतर्फ उन्मुख गराउँछ। आजको प्रतिस्पर्धात्मक र आत्मकेन्द्रित विश्वमा यस्तो चेतनाले समग्र समाजलाई आत्मसाक्षात्कार र पारस्परिक सद्भावतर्फ उन्मुख गराउने सम्भावना बोकेको छ।
समावेशी मानवतावाद सहअस्तित्व र अन्तरसम्बन्धको चेतना पनि हो — जुन निजानन्द दर्शनको मुटुमा अवस्थित छ। ‘प्रेम ब्रह्म दौँ एक हैं’ भन्ने भावले धर्महरूको व्याख्यात्मक द्वन्द्वलाई पन्छाउँदै आत्मिक एकताको घोषण गर्दछ। आज जब सामाजिक मूल्यहरू विघटन हुँदैछन्, आत्मसमर्पण, शुद्ध आचरण र सहिष्णुतामा आधारित यस्तो दर्शनले मानवता पुनः जागृत गराउने क्षमता राख्दछ।
निजानन्द दर्शन मानव जीवनलाई शान्ति र प्रेमको शाश्वत सूत्रमा बाँध्ने पुनर्जागरणको मन्त्र हो।यो चेतनाको महान आन्दोलन हो—जहाँ आत्मा, समाज र समष्टिको समभावपूर्ण सम्बन्ध पुनः परिभाषित हुन्छ। वर्तमान युग जहाँ आध्यात्मिक शून्यता, सामाजिक विघटन र सांस्कृतिक मूल्यहरूको ह्रास तीव्र गतिमा भइरहेको छ, त्यहाँ निजानन्द दर्शन एक दिव्य प्रतिपादन हो, जसले आत्म-प्रबोधनद्वारा समष्टिगत रूपान्तरणको सशक्त सूत्र प्रदान गर्दछ। यो दर्शन शुद्ध तत्त्वबोधमा आधारित भएकाले यसको उद्देश्य पूजा वा कर्मकाण्डमा मात्रै सीमित नभई जीवनलाई नै सत्य, प्रेम र करुणाको अमृतधारामा स्नात गराउनु हो।
यो दर्शन मानवको अन्तर्निहित दिव्यता र सार्वभौमिक चेतनामा आधारित छ, जहाँ प्रत्येक व्यक्तिको अस्तित्व समान मूल्यवान् मानिन्छ। समावेशी समाजको निर्माणमा यही सिद्धान्त आधारभूत हुन्छ, जसले वर्ग, जात, लिंग, सम्पत्ति वा सामाजिक स्थिति अनुसार भेदभाव नगरी सबैलाई समान अधिकार र अवसर प्रदान गर्न प्रेरित गर्छ।
यस दर्शनले आधुनिक समाजका चुनौतीहरू—विवाद, विभाजन, असमानता र अहंकारलाई तिनीहरूको दार्शनिक र आध्यात्मिक समाधान पनि प्रस्ताव गर्दछ। मानव चेतनाको शुद्धिकरण, आत्म-ज्ञान, र परस्पर सम्मानमा आधारित नीति र अभ्यासहरूले समाजलाई निरन्तर प्रगतिशील र समावेशी बनाउँछन्। निजानन्द दर्शनले समाजको वास्तविक शक्ति प्रत्येक व्यक्तिको चेतना, करुणा र निस्वार्थ सेवामा निहित छ।
निजानन्द दर्शनद्वारा उत्प्रेरित समावेशी समाज मानव चेतनाको उच्चतम आयाममा आधारित आध्यात्मिक, दार्शनिक र सांस्कृतिक संरचना हो, जसले सबै व्यक्तिलाई समानता, सहिष्णुता र परोपकारको प्रकाशमा एकीकृत गर्दै मानवताका वास्तविक मूल्यहरूको अनुभूति गराउँछ।
व्यक्तिको बाह्य पहिचानभन्दा आत्मिक गुणलाई उच्च स्थान दिने यसले मानव जीवनलाई अखण्ड मुक्ति प्राप्तिको दुर्लभ अवसर मानेर, प्रेम, अहिंसा, करुणा र सत्यमा आधारित आचरणमार्फत समाज सुधारको मार्ग प्रस्ताव गर्छ। समाजमा व्याप्त छुवाछुत, जातीय अहंकार र धार्मिक कट्टरता जस्ता कुरूप प्रवृत्तिहरूको शमन गर्न निजानन्द दर्शनले प्रेमलाई “परब्रह्मको प्रतिमूर्ति” को रूपमा चित्रण गर्छ, जुन एक यस्तो शक्तिशाली साधन हो जसले सहिष्णुता, समरसता र समवेदना उत्पन्न गर्छ। “पंथ होवे कोटि कलप, प्रेम पोंहोंचावे मिने पलक” भन्ने उद्घोषले बाह्य कर्मकाण्डभन्दा आन्तरिक निर्मलताको वकालत गर्दछ।
निजानन्द दर्शनको परिधि सामाजिक रूपान्तरण र सामूहिक उत्थानको पवित्र घोषणापत्र हो। यस दशर्नले आत्म–विकास र समाज–निर्माणलाई एकै सूत्रमा आबद्ध गर्दै धार्मिक अभ्यासलाई व्यक्तिगत साधना र सामाजिक उत्तरदायित्वबीचको समन्वयमा रूपान्तरित गरेको छ। जाति, वर्ण, वर्ग, लिंग, भाषा वा भौगोलिक विभाजनका कृत्रिम पर्खालहरू यस दर्शनको दृष्टिमा अर्थहीन छन्, किनकि निजानन्दको दृष्टिकोण ‘निज’ अर्थात् आत्माको स्रोतबाट सुरु भएर समष्टिगत एकता अर्थात् ब्रह्मसम्म पुग्दछ—जहाँ सबै अस्तित्व समान चेतनाको अभिव्यक्ति हुन्। गुरु, महाराज वा भक्त—सबैलाई आत्मा–परमात्म सन्दर्भमा समान रुपमा दृष्टिगत गर्ने परम्पराले व्यवस्थागत विकेन्द्रीकरणलाई बल प्रदान गर्छ र समतामूलक सामाजिक संरचनालाई सुदृढ बनाउँछ।
यम–नियममा आधारित आचारसंहिता—अहिंसा, शौच, ब्रह्मचर्य, स्वाध्याय र ईश्वर–प्रणिधान—निजानन्द दर्शनका व्यवहारिक स्तम्भहरू हुन्। व्यावहारिक जीवनमा लागू गर्न सकिने उच्चतम नैतिक मूल्यमान्यताहरू जसले व्यक्तिलाई आत्म–संयम, चेतन अनुशासन र दैनन्दिन जीवनमा सेवा–भावना र सामाजिक सौहार्दका बाटोमा डोऱ्याउँछन् जसले सामाजिक संरचनालाई सुदृढ बनाउँछ।यी मूल्यहरू आत्मिक स्तरमा स्थिरता ल्याउँछ भने सामाजिक स्तरमा सदाचार, अनुशासन र सहिष्णुताको संस्कार सृजना गर्दछन्। यस्ता नियम–आधारित जीवनशैलीले व्यक्तिको चरित्रलाई मात्र निर्मल बनाउँदैन, उसलाई समाज–सेवामा प्रेरित गराउने आदर्श नागरिक बनाउँछ, जसले दीर्घकालीन सामाजिक समृद्धिको जग बसाल्दछ।
निजानन्द दर्शनको सार सत्य, प्रेम, शान्ति र समभावका चतुर्विध तत्त्वहरूमा केन्द्रित छ। जब एक व्यक्ति आफ्नो अन्तरात्मासँग एकाकार हुँदै अन्तःशान्तिको अमृत पान गर्छ, तब उसका व्यवहार, सम्बोधन र सम्पर्कहरूमा सौम्यता, सहिष्णुता र करुणाको उज्यालो फैलिन्छ। यस्तो व्यक्तिको उपस्थितिले मात्र एक परिवार वा समुदाय होइन, सम्पूर्ण राष्ट्र र मानवजातिमा समरसताको प्रभाव पार्दछ। निजानन्द दर्शनको अभ्यासद्वारा उत्पन्न भएको आन्तरिक प्रेम, सच्चरित्रता र सहजीवनको भावना समाजका हरेक तहमा मौलाउँछ, जसले मानव सभ्यतालाई दया, धैर्य र दिव्यतासँग सुसज्जित बनाउँछ। यसरी, निजानन्द दर्शनले आत्म–प्रबोधन, नैतिक पुनर्जागरण र आध्यात्मिक शुद्धिको समवेत यात्राद्वारा समुन्नत, समतामूलक र शान्तिपूर्ण मानव समाजको दिव्य रचना सम्भव बनाउँछ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)
प्रतिक्रिया