logo
  • २०८२ मंसिर ६ | Sat, 22 Nov 2025
  • नेपाललाई भारतले दियो ७० मिटर लामो १० वटा बेलिब्रिज

    नेपाललाई भारतले दियो ७० मिटर लामो १० वटा बेलिब्रिज

    मकवानपुर। भारत सरकारले नेपाललाई फेरि १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) सहयोग उपलब्ध गराएको छ ।
    गतवर्ष असोज अन्तिममा बाढीपहिरोबाट अवरुद्ध भएको सडक सञ्जाललाई जोड्न ३८ करोड मुल्यका १० वटा बेलिब्रिज दिएको भारतले यसवर्ष पनि १० वटा बेलिब्रिज सहयोग गरेको हो ।

    हेटौंडामा आज बिहीवार सडक डिभिजन कार्यालयमा भएको एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई बेलिब्रिज पुल हस्तान्तरण गरेका छन् ।
    भारतीय राजदूत श्रीवास्तवले नेपालको पूर्वाधार विकासमा भारतले सहयोग पुर्‍याउँदै आएको बताए । हाल उपलब्ध गराइएको बेलिब्रिज लामो र टिकाउ रहेको उनको भनाइ थियो । भारत–नेपालको विकासमा लामो सहकार्य रहेको बताउँदै राजदूत श्रीवास्तवले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नेपालको विकासमा भारत संधै सहयोगी बन्दै आएको उनले बताए ।
    भौतिकमन्त्री घिसिङले ७० मिटर लामो १० वटा बेलिब्रिज उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिए । उनले पूर्व–पश्चिम राजमार्गदेखि भित्रि मधेश जोड्ने हुलाकी राजमार्गको निर्माणमा भारतले पुर्‍याएको सहयोगको प्रशंसा गरे । पूर्वाधार निर्माणले मुलुकको आर्थिक वृद्धिदर मात्र नभई नागरिकलाई राष्ट्रसँग पनि जोड्ने घिसिङको भनाइ थियो ।

    सरकारले गत असोजमै भारत सरकारसँग बेलिब्रिज सहयोगका लागि अनुरोध गरेकोले यसवर्ष पनि १० वटा बेलिब्रिज उपलब्ध भएको भौतिक मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए । नेपालमा ५० मिटर लम्बाईसम्मका बेलिब्रिज खरिद गर्न पनि समस्या रहेको बताउँदै भारतले उपलब्ध गराउने १० वटा बेलिब्रिज पुल सिंगल लेनको ७० मिटर लम्बाई र ५ दशमलव २५ मिटर चौडाईका रहेको सचिव शर्माले बताए । यसअघि दिइएको पुल ५० मिटर भन्दा माथि विभिन्न लम्बाईका रहेको जनाइएको छ ।
    तत्काल चार वटा बेलिब्रिज जडान गर्नुपर्ने अवस्था रहेको शर्माले जानकारी दिए । भारतले उपलब्ध गराउने भनिएको १० वटा पुलमध्ये हाल एउटा मात्रै आइपुगेको छ । सचिव शर्माले भारतले पुल जडानमा प्राविधिक सहयोग पनि गर्ने र नेपालका प्राविधिकहरुका लागि नयाँ प्रविधिको सिकाई हुने विश्वास व्यक्त गरे ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ मंसिर ४, बिहीबार १५:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP