भाग २:
माटो र पसिनाको स्वरूपमा बक्राहा
तोमनाथ उप्रेती
“यो खोला हाम्रो भाग्य हो, कहिले रक्तरङ्गी लाल बन्छ, कहिले शोकको कालो। तर जबसम्म बगिरहन्छ, हामी बाँच्छौं, किनकि खोला बग्नु भनेको जीवन बग्नु हो।”
यो वाक्य बक्राहाको आत्मकथा हो, जसले समयका प्रत्येक पानामा गाउँको पसिना, आँसु र मुस्कानका दागहरू छोडेको छ। प्रकृतिको कठोर पाठशालामा सिकेको उनीहरूको दर्शन हो यो, जहाँ स्थायित्व होइन, बग्न जान्ने लचकताले मात्र अस्तित्व जोगिन्छ।
रातको आँधीले बालुवा र हिलोले छोपिएका खेतहरूमा बिहान पुगेर लिम्बू महिला माटोको नमी छाम्छिन्। उनका खैरो, कामले कठोर भएका हातहरू माटोमाथि मन्द तर अडिग स्नेहसाथ फिर्दै भन्छन्,
“माटो बग्यो, तर हाम्रो माटोको पूजा कहिल्यै बग्दैन। खोलाले माटो बगाउँछ, तर माटोमा हाम्रो आत्मा बाँकी रहन्छ।”
उनको स्वरमा आँधीले ढाक्न नसक्ने गहिरो श्रद्धा र मातृत्व मिसिएको हुन्छ, जसले हिलो र पसिनाको सुगन्धलाई पूजा बनाउँछ। उनी जान्छिन्, प्रकृतिको क्रोध क्षणिक हुन्छ, तर माटोको प्रेम शाश्वत।
मुसलमान मियाँ बिहानको फजिरमा हात उठाउँदा, खोला छेउमै बसेर नमाजको स्वर खोलाको गडगडाहटसँग मिसिन्छ। उनको मुर्मुरिएको स्वर बक्राहाको गर्जनसँग गुञ्जिन्छ,
“पानी र प्रार्थना एउटै हुन्, दुबैमा हाम्रो आत्मा पग्लिन्छ।”
यो पग्लनु भनेको अस्तित्वको कठोरता चिरेर न्यानोपनमा विलीन हुनु हो। खोला र प्रार्थना एउटै लयमा बग्छन्, जहाँ पानीको छाल र प्रार्थनाको शब्द एउटै निस्तब्ध संगीतको अंश बन्छ।
तर रातमा आँधी आउँदा खोला जब अन्धकारलाई चिरेर उर्लिन्छ, गाउँलेहरू कराउँदै बाँच्न दौडन्छन्। उनीहरूका पाइलामा डर छ, तर ती पाइलामा जिउने साहस पनि मिसिएको हुन्छ। हिलो र पानीले डुबेका आँगनहरूमा दौडिँदै गर्दा उनीहरूले जीवनको मूल्यलाई पुनः महसुस गर्छन्। उनीहरूलाई थाहा छ, डुब्नु मृत्यु होइन, डुबेर उठ्नु नै जीवन हो।
नेताहरूका खोक्रा भाषणका शब्दहरू बाढीको भेलमा गुम्छन्, उनीहरूले बाँडेको आश्वासनहरू बालुवाका जस्ता हुन्छन्, जसलाई खोलाले बगाउँछ। बक्राहाले तिनीहरूको खोक्रोपनलाई धोइदिन्छ, तर गाउँलेहरूको साहस कहिल्यै धोइदिन्न।
खोलाको छालहरू पसिनालाई धोइदिन्छ, आँगन र खेतहरूलाई पखालिदिन्छ, तर मानिसको साहस, आस्थाको आद्रता र संघर्षको झिल्कोलाई कहिल्यै पखाल्न सक्दैन। खोला बगिरहन्छ, गाउँका सपना र संघर्षसँगै, अस्तित्वको गीत गाएर। त्यो गीत कुनै सुनेर बिर्सिने धुन होइन, त्यो जीवनको आधारभूत संगीत हो, जसले सम्झाउँछ: पानी बहिरहेछ भने जीवन पनि बहिरहेछ।खोला उर्लिए पनि, मानिसको हिम्मत उर्लिन्छ।आँधी आए पनि बिहान पर्छ, उज्यालो फिर्ता आउँछ।
बक्राहा खोला गाउँको पसिना, सपना र साहसको जीवित महाकाव्य हो। यो महाकाव्य शब्दमा होइन, पानीको गर्जन, आँसुको स्वाद, पसिनाको गन्ध र हिलोको आत्मामा लेखिन्छ। बक्राहा बगिरहन्छ, र बग्ने क्रममा मानिसलाई सम्झाइरहन्छ:“बाँच्नु भनेको बग्नु हो, र बग्नु भनेको नअड्किने साहस हो।”
बक्राहा एक खोलाको नाम मात्र होइन । यो मिथकको स्पन्दन, माटोको गन्ध र पसिनाको राग भएर बगिरहेको जीवनको धारा हो। यसको प्रत्येक छालमा अतीतका कथाहरू मिसिएका छन्, प्रत्येक गर्जनमा अधुरा आशाहरूको चीत्कार मिसिएको छ ।बक्राहा गाउँका मानिसहरूको अस्तित्वको नाडीजस्तै भएर धड्किरहेको छ, जसले उनीहरूको दुःख, संघर्ष र श्रद्धालाई एकैपटक साक्षी राख्न सकेको छ।
यो खोलाले नागराजको कथामा बाँकी रहेको दिव्य भयलाई बोकेको थियो। खोलाको बाङ्गो धार नागराजको अचेतन हाँसोजस्तै खेतका कान्लामा सर्पिन्थ्यो। कहिले पानीको छालमा नागको आकृतिहरू देखिन्छन् भनी वृद्धहरू किम्बदन्ती सुनाउँथे। ती कथाहरू गाउँका बच्चाहरूका निद्रामा बिचित्र सपना बनेर पस्थे, तर खोलासँगको सम्बन्ध कहिल्यै टुट्दैन थियो। बक्राहा गाउँका मानिसहरूको कल्पनामा मात्रै होइन, उनीहरूको खेतको कान्लामा, उनीहरूको थकाइमा र उनीहरूको श्रद्धामा बगिरहेको थियो।
माटोमा अन्नको गन्ध मात्रै थिएन, हलोको फलामले धोएको पसिनाको धूवाँजस्तो गन्ध मिसिएको हुन्थ्यो। खेत जोत्न थालेपछि हलोको फलाम र पसिनाको गन्ध मिलेर एक पवित्र बास्ना बन्थ्यो, जसले किसानलाई आफ्नो परिश्रमप्रति श्रद्धा जगाउँथ्यो। पसिनाले सिँचिएको माटो जननीको काखजस्तो न्यानो हुन्थ्यो। त्यही न्यानोपनमा सिमान्त किसानका सपनाहरू हुर्कन्थे। उनीहरूको थाकेको शरीरले माटो समाउँदा, उनीहरूको रित्तिएको पेटले खेतको हरियाली हेर्दा, र उनीहरूको सिसकिरहेको मनले बादलहरूमा जून देख्दा, बक्राहा त्यसको साक्षी हुन्थ्यो।
बक्राहाको पानीले हरेक बिउमा जीवात्मा झैं चेतना हाल्थ्यो। असारको बाढी र भदौको बर्सातमा खोलाले खेतमा पस्दा बिउहरू माटोमा मिसिन्थे, तर खोलाको पानीले तिनलाई झैँजै चेतनाले छुन्थ्यो। हरेक सासमा खेतको पवित्रताको मन्त्र घन्काउँथ्यो। बर्खामा उर्लिएको खोला कहिले विनाशको दूतजस्तो लाग्थ्यो, तर उही खोलाले बिउको कणमा जीवनको मन्त्र फुक्थ्यो। यही विरोधाभास बक्राहाको सौन्दर्य थियो।
यस्तो थियो बक्राहाको स्नेह र शोकले मिश्रित मिथक। कहिले श्रद्धाको पवित्र पीठ बनेर, कहिले खोलाको पर्खालमा आँसुका चिहानहरू खोपेर। खोलामा कतै जलदेवीको करुणा मिसिएको हुन्थ्यो, कतै बुढापाकाका दुःखका कथा। हरेक बाढीपछि खेतमा जमेको गहिरो माटोमा आशाका हरियाली अंकुरिन्थे, अनि किसानले भनिदिन्थे, “खोला बगिरहेछ, जीवन बगिरहेछ।”
बक्राहाले सिकाउँथ्यो कि जीवनमा बाँच्नु केवल सास लिने क्रियामा सिमित छैन। बाँच्नु भनेको हरेक डुबाइलाई, हरेक कटानलाई, हरेक आँधीलाई अँगालेर अगाडि बढ्नु हो। खोलाको गर्जनमा डर नलाग्नु हो। पसिनाको गन्धमा श्रद्धा राख्नु हो। सपनाहरू डुबेर हराउँदा पनि तिनलाई फेरि उठाउने हिम्मत राख्नु हो। बक्राहा यही बाँचाइको मिथक हो, जुन कहिले विनाशको नदी बन्छ, कहिले जीवन दिने आमा बन्छ, तर जहिल्यै सत्य बन्छ।
यही कारण बक्राहा कहिले केवल खोलाको नाममा सिमित रहन सकेन। यो एउटा भौगोलिक नाम होइन, यो समाजको सामूहिक चेतना, संघर्षको साझा गाथा र आशाको अदृश्य दीप बन्यो। जब बक्राहाले आफ्नो धारमा पसिनाको स्वाद, आँसुको नुनिलो स्वाद, र बालबालिकाको हाँसो मिसायो, तब त्यसको बहाव मात्र जलको होइन, जीवनको बहाव बन्यो।
बक्राहा गाउँको कथा बन्यो—जहाँ झुपडीहरू बग्छन्, तर साहस डुब्दैन। जहाँ माटो फाट्छ, तर सपनाहरू अंकुरिन्छन्। जहाँ बाढी आउँछ, तर मानिसको आँट थप बलियो हुन्छ। खोलाको गर्जनमा मानिसहरूको हार नमान्ने प्रतिबद्धता मिसिन्छ र प्रत्येक बाढीपछिको बिहान एउटा नयाँ जीवनको सूर्य उदाउँछ।
मानिसको संघर्षको सन्देश बन्यो—जब नेताहरूका वाचा खोलामा हराउँथे, बक्राहाले सिकाउँथ्यो कि वास्तविक विकास धरातलमा पसिना बगाउनेहरूबाट हुन्छ। यसको छालहरूले सधैं सम्झाइरहन्छन् कि विनाशपछि पनि निर्माण सम्भव छ, र पराजयमा पनि पुनर्जन्मको बीउ लुकेको हुन्छ।
हरेक पुस्ताको स्मृतिमा बाँच्ने एउटा अमर आवाज बन्यो—बुबाले भनेका कथाहरू, आमाले सुनाएका दुःखका गीतहरू, र नातिहरूको जिज्ञासु प्रश्नहरू सबै बक्राहाको बहावसँग मिसिएर एउटा समयपारको स्मृति बने।
बक्राहाको बगाइमा जीवनको अर्थ बाँचिरहेको छ—जसले केवल सँगै बग्नेलाई मात्र होइन, किनारामा बसेर हेर्ने आँखालाई पनि जीवन बुझाउने शक्ति दिन्छ। खोलाको छालमा परिरहेको सूर्यको किरणझैं, बक्राहाले हाम्रो हृदयमा आशाको उज्यालो फिँजाइरहन्छ, र जीवनको सच्चा मूल्य सम्झाइरहन्छ।
बक्राहा जलदेवीको कोप, आकाशको क्रोध र आँधीको उन्माद लिएर बग्थ्यो। जब असारका बादलहरू कालो गर्जन्को गर्जनमा आकाशमा ओच्छ्याइन्थे, खोला एकाएक रूप बदल्थ्यो। मुस्किलले जूनको मधुर छायाले खोलाको छालमा नाच्ने सौन्दर्य देखाउँथ्यो, तर आँधी र बर्सातको उन्मादमा त्यो सौन्दर्य छिनमै हराएर जान्थ्यो।
त्यो रात, किसानका सन्तानहरूको हाँसो जूनसँगै खोलामा बग्थ्यो। माटोका चुल्हामा पfक्दै गरेको अन्नको बास्ना र बालबालिकाको हाँसोको लय खोलाको बगाइमा मिसिन्थ्यो। तर बिहान बक्राहाको उर्लेको गर्जनले उनीहरूको झुपडी च्यातिदिन्थ्यो। पसिनाको महत्त्व बुझ्दै गरेका ती साना आँखाहरू आँधीसँगै रोइरहन्थे, तर आँसु पुछ्दै फेरि रित्तो करुवामा पानी लिन जाने साहस पनि उनीहरूकै हुन्थ्यो।
बक्राहा, एक विरोधाभासको प्रवाह थियो। कहिले करुणामयी आमाजस्तै, जसले बुढाबुढीको कडा हाडहरूलाई राहत दिन खेतमा पानी पुर्याउँथ्यो। कहिले गर्जन्को विद्रोह लिएर बर्सातको रातमा खेतको कान्लामा पसिनाको साडी सुकाइदिन्थ्यो, जहाँ सुक्दै गरेको कपडामा कफनको लहर मिसिन्थ्यो। जलदेवीको कोपमा लुकिएको मातृत्व र विनाशको विरोधाभास थियो बक्राहामा। नुनिलो पानीले अन्नको बास्नामा विग्रह हाल्थ्यो, र आँधीले खेतमा पसिनाको पूजा भत्काइदिन्थ्यो।
बक्राहा कुनै नदी मात्र थिएन। यो शोकगाथाको गीत थियो, जीवनरागको लहर थियो र समयको लय थियो। यसको बगाइमा माटोको ताजा गन्ध मिसिन्थ्यो। पसिनाको लुनाजन्य स्वाद बगाइसँगै हराउँथ्यो, तर त्यस स्वादले जीवनको अर्थ दिन्थ्यो। बक्राहा किनारका सिमान्त किसानहरूको पसिनाका थोपाहरू बक्राहामा बगेका थिए। तिनका सपना खोलाको बगाइसँगै बेलाबेला डुब्थे, तर आश्चर्य, ती सपनाहरू फेरि उफ्रिन्थे। किनकि जीवनमा डुब्नु पनि एउटा शिक्षाशास्त्र हो, र डुबेर उठ्नु नै साहसको परिभाषा।
बक्राहाको धार कहिले उनीहरूको पसिनामा पालिएको बिउको संगीत बन्न पुग्थ्यो। धानको बिउ रोप्दा किसानको हातका छाला फुट्थे, र ती फुटेका हातहरू खोला धोएपछि खोलाको शीतलता र पीडालाई एकसाथ अनुभूत गर्थे। कहिले उनीहरूको रित्तिएको थाल र रित्तिएको सपना भएर बग्थ्यो, र तिनका आँसुको लयमा बज्थ्यो। खोलामा पसिनाको पूजा, माटोको प्रार्थना र समयको क्रूरता मिसिएको हुन्थ्यो। त्यही क्रूरता जीवनको स्थायी शिक्षक बन्न आउँथ्यो, किनकि क्रूरता बिना मानिसको साहस कहाँ निखारिन्छ?
बक्राहा बग्दै गर्दा, त्यो बगाइमा एउटा कथा हुन्थ्यो। त्यो कथाले भनेको हुन्थ्यो, “जीवन बग्नु नै हो, र बगाइमा नै अस्तित्वको अर्थ लुकेको छ।”
खोला बग्दाखेरि त्यसको आवाज कुनै बाजा भन्दा शक्तिशाली हुन्थ्यो। त्यस गर्जनमा किसानको थकाइ बग्थ्यो, मजदुरको करुण क्रन्दन मिसिन्थ्यो, तर त्यही गर्जनमा साहस पनि हुन्थ्यो। बक्राहा बग्दै जाँदा खेतका कान्लाहरू कटान गर्थ्यो, तर त्यस कटानसँगै किसानका आँखामा नयाँ खेत बनाउने सपना पलाउँथ्यो।
किसानलाई थाहा छ, बक्राहाले आफूसँगै थोरै माटो पनि बगाउँछ, तर त्यो माटो कहिल्यै नहट्ने गरी होइन। बरु त्यो बगेको माटो कुनै नयाँ खेतमा जम्छ, र त्यसमा पुनः हरियाली अंकुरिन्छ। त्यही भएर खोला बगेको देखेर किसान डराउँदैन, बरु त्यसको बगाइमा भविष्यको सम्भावना देख्छ।
बक्राहा एक परीक्षा हो। यो प्राकृतिक परिक्षक हो, जसले मानिसको धैर्य, एकता, र संघर्षको क्षमतालाई नाप्छ। जब खोला बग्छ, गाउँका मुसलमान, हिन्दू, राजबंसी, लिम्बू, ताजपुरिया सबैको घरमा पस्छ। खोलाले उनीहरूलाई कहिल्यै जात र धर्मको आधारमा छुट्याउँदैन। यसले सबैको आँसु बराबरीमा बगाउँछ, र सबैको पसिनालाई उस्तै नुनिलो बनाउँछ। यही बक्राहाको शिक्षा हो—“मानवता नै एक मात्र सत्य हो। बाँकी सबै बिभाजन अस्थायी हुन्।”
बक्राहाले गाउँलाई धेरै पाठहरू सिकाएको छ। सबैभन्दा महत्वपूर्ण पाठ के भने, जीवन संघर्ष हो, र संघर्ष नै अस्तित्व हो। पानी बग्नुको अर्थ जीवन बग्नु हो। यदि खोला सुक्छ भने, माटो सुक्छ, र माटो सुक्यो भने मानिसको पेट सुक्छ। त्यसैले खोला बगिरहुनुपर्छ, जीवन बगिरहनुपर्छ।
खोला बग्दा कहिले विनाश ल्याउँछ, तर त्यो विनाशले मानिसलाई आफ्नो वास्तविकता चिनाउँछ। पानीको रफ्तारले झुपडी भत्काउँछ, तर त्यो भत्किएको झुपडीका भित्ताले मानिसलाई सम्झाउँछन्—“तिमी आफ्ना घरको भित्तामा होइन, आफ्नो हिम्मतमा बस्छौ।”
खोला विनाश मात्र होइन, निर्माण पनि हो। बाढीको पानी पछि बचेको मलिलो माटो, त्यसमा उम्रेको अन्न, र त्यस अन्नले चुल्होमा बालिएको आगो—यी सबै बक्राहाकै उपहार हुन्। यस्तै छ बक्राहाको दर्शन, जहाँ विनाश र निर्माण एउटै प्रवाहमा मिसिन्छन्।
खोलाको लय कुनै कविताको लयभन्दा कमजोर हुँदैन। यसको छालहरू कहिले कोमल हुन्छन्, कहिले कठोर। तर दुवै अवस्थामा, खोला सत्य बोल्छ। सत्य के हो भने—परिवर्तन नै स्थिरता हो। जीवन स्थायी छैन, तर परिवर्तनमा निरन्तरता छ। जुन दिन परिवर्तन बन्द हुन्छ, त्यही दिन जीवनको अन्त्य हुन्छ।
खोलाको पानीमा जूनको झल्को परेका बेला किसानका केटाकेटीहरू त्यसलाई हेरेर रमाउँछन्। आँधीले त्यो झल्को मेटाउँदा उनीहरूका आँखामा आँसु आउँछ। तर उनीहरूलाई थाहा छ, भोलिपल्ट फेरि जून उदाउँछ, र खोलामा फेरि त्यसको छायाँ देखिन्छ। यो नै जीवन हो। दुःखको पछि सुख आउँछ, र सुखको पछि नयाँ चुनौती आउँछ। यही चक्र निरन्तर छ।
यसैले बक्राहा केवल खोला होइन। बक्राहा एक जीवित महाकाव्य हो। हरेक वर्षको असारमा बक्राहाले एउटा नयाँ अध्याय थप्छ। कहिले त्यो अध्याय आँधी र वर्षासँग जोडिन्छ, कहिले किसानका पसिनासँग। त्यो अध्यायमा कहिले झुपडी भत्कन्छ, कहिले नयाँ झुपडी बन्ने सपना पलाउँछ। हरेक वर्षको चैतमा बक्राहाले एउटा नयाँ आशाको पाना पल्टाउँछ। खेतमा नयाँ अन्न अंकुराउँछ, र किसानको निधारमा पसिनाको मुक्ताको चमक फर्काउँछ।
बक्राहा सिकाउँछ—जीवन केवल बाँच्नु होइन, बाँच्दै लड्नु हो। पसिनामा हरियाली अंकुराउनु हो। डुबेर उठ्नु हो। र यो सबै गर्दा आफूभित्र मानवीयता बचाइराख्नु हो।
प्रतिक्रिया