जनकपुरधाम।धनुषाको हंसपुर नगरपालिकाले दुईवटा गाडी भाडामा लिएर मात्र महिनामा एक लाख ६० हजार रुपैयाँ खर्चिरहेको छ। एउटा गाडी कार्यालय प्रयोजनका लागि र अर्को उपप्रमुखका लागि लिइएको हो। इन्धन बाहेक, गाडी भाडामै यति ठूलो रकम खर्च भइरहेको छ।
भाडामा लिइएको बा १६ च ९२६ नम्बरको ‘सुमो गोल्ड’ गाडी उपप्रमुख दुर्गा देवी मण्डल प्रयोग गर्दै आएकी छन्। तर उक्त गाडी नगर प्रमुख प्रदीप कुमार यादवकै निजी स्वामित्वको भएको खुलेको छ।
नगरपालिकामा एउटा मात्रै गाडी भएकोले मेयरले त्यो आफैं प्रयोग गर्दै आएका छन्। त्यसपछि उपप्रमुख मण्डलले पनि गाडीको माग गरेपछि मेयरले एक पुरानो गाडी किनेर आफ्नै सम्धीनीको नाममा बिलबुक बनाइ नगरपालिका भाडामा दिएका थिए। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीले सो गाडी भाडामा लिने सम्झौता गरेका थिए।
स्रोतका अनुसार, गाडीको मासिक भाडा ८० हजार रुपैयाँ रहेको थाहा पाएपछि उपप्रमुख मण्डलले उक्त गाडी चढ्न अस्वीकार गर्दै कयौं पटक साँचो मेयरको टेबलमा फ्याँकिएको बताइएको छ। तर कागजमा गाडीको स्वामित्व अन्यको भए पनि वास्तविक धनी मेयर नै भएकोले साँचो फिर्ता गराउने र फेरी बुझाउने क्रम दोहोरिएको छ।
एकजना तत्कालीन प्रमुख प्रशासकीय अधिकृतका अनुसार, “मेरो कार्यकालमै उपप्रमुखले दुईपटक गाडीको साँचो फ्याकेर हिँड्नुभएको थियो। मैले त्यो गाडी हटाउने सल्लाह दिँदा पनि मेयरकै दबाबमा गाडी यथावत् राखिएको हो।”
उपप्रमुख मण्डलका अनुसार, “गाडी सुरुमा भाडामा लिँदा स्वामित्वको बारेमा थाहा थिएन। पछि ८० हजार भाडा तिर्दा पनि पुरानो गाडी चढ्नु अनुचित लागेर साँचो बुझाएकी थिएँ। तर, मेयरले पटक–पटक सम्झाएपछि फेरि लिएकी हुँ।”
उनले थपिन्, “एक पटक अफिस जान लाग्दा त्यही गाडीको दुर्घटनामा परी मेरी नातिनीको ज्यान गयो। त्यसपछि मैले सोचेँ यो गाडी अशुभ छ र साँचो बुझाएँ। तर साँझ मेयरले फोन गरेर अस्पतालमा भर्ना भएको बताउँदै गाडी नचढ्न अरुले सिकाएको आरोप लगाए। म अस्पताल गएर सोध्दा मेयरले भने, ‘तपाईंलाई कसैले गाडी नचढ्न सिकायो’। मैले उल्टै सोधेँ – म गाडी छाड्दा तपाईं किन बिरामी? त्यसपछि भने, चिन्ता नलिनुस्, गाडी म फेरि चढ्छु भनेर फर्किएँ।”
उक्त गाडी मेयर यादवको जेठो छोराको सासूको नाममा दर्ता गरिएको र भाडामा लगाइएको उनले स्पष्ट गरिन्।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी हंसपुरमा निर्वाचनपूर्व मात्र आएको भए पनि उनको नियुक्तिमा तत्कालीन मेयर रामज्ञान मण्डल असहमत थिए। अदालतको आदेशपछि उनी हाजिर भएका थिए। पछि मेयर बनेका प्रदीप यादवसँग निकट सम्बन्ध बनेपछि उनले यादवद्वारा खरिद गरिएको पुरानो गाडी पनि नयाँ दरमा सजिलै सम्झौता गरेका थिए।
नगरपालिकामा एउटा मात्रै गाडी भएको कारण अघिल्लो कार्यकालकी उपप्रमुख रेणु झाले पनि भाडाकै गाडी चढेकी थिइन्। उपप्रमुख पदमा बसेकाहरूले अधिकृतको सिफारिसमा बारम्बार गाडी फेरिरहने प्रचलन समेत देखिएको छ। सभार: मधेशपत्रबाट
प्रतिक्रिया