सिरहा, २३ मङ्सिर : सिरहामा पछिल्लो समय युवाहरुमा लागुऔषध दुव्र्यसन तीव्र गतिमा
फैलिँदै जाँदा त्यसले समाज र शिक्षामाथि पारेको नकारात्मक प्रभावप्रति सरोकारवालाले
गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार दुव्र्यसनले अपराध, हिंसा र मानसिकसमस्या बढाउँदै युवा पुस्ताको भविष्य नै जोखिममा पारिरहेको छ ।
ग्लोबल एस एस कलेज लहानले आज यहाँ कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत गर्न
आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले युवालाई लागुऔषधको दलदलबाट
जोगाउन शिक्षा क्षेत्र, परिवार, समुदाय र सरकारी संरचनाबीच समन्वय अझै सुदृढ गर्नुपर्नेमा
जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीले युवावर्ग बीच लागुऔषधको
दुष्प्रभाव तीव्र रुपमा देखिन थालेको उल्लेख गर्दै भन्नुभयो,“लागुऔषधको दलदलमा
युवाहरू फस्दा समाज प्रभावित बन्दै गएको छ । यसले अपराधिक गतिविधि, हिंसा, तनाव र
आत्महत्याका घटना समेत बढाइरहेको छ । विद्यार्थी भाइबहिनीलाई त्यस्तो बाटो नरोज्न
म विशेष आग्रह गर्दछु ।”
उहाँले स्थानीय सरकार, सुरक्षा निकाय र समुदाय सबैले मिलेर जनचेतनामूलक कार्यक्रमलाई
अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । साथै, लहानलाई शैक्षिक गन्तव्यको हबका
रूपमा विकसित गर्ने आफ्नो प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

त्यसैगरी प्याब्सन सिरहाका वरिष्ठ उपाध्यक्ष उमेश यादवले अनुशासन विद्यार्थीको गहना भएको
उल्लेख गर्दै अध्ययनरत विद्यार्थीलाई अनुशासित रहँदै शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्न
प्रेरित गर्नुभयो ।
कार्यक्रममा वक्ता तथा एसएस कलेजका संस्थापक भोलाजीत नेपालले सीमा नाका नजिकको
भूगोलकै कारण लहान क्षेत्रमा लागुऔषधको पहुँच सजिलै हुने र त्यसले शिक्षा क्षेत्रमै
चुनौती सृजना गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“लागुऔषधका कारण युवाहरु
भड्किँदै जानु चिन्ताको विषय हो । यस्तो चुनौतीपूर्ण वातावरणमा विद्यार्थीलाई सुरक्षित र स्वस्थ
राख्न अभिभावक, शिक्षक र समुदाय सबैले सक्रिय भूमिका खेल्नुपर्छ ।”
उहाँले आफ्नो कलेजले समयअनुसार प्रविधिमैत्री शिक्षा प्रणालीलाई आत्मसात् गर्दै प्लस–टू तहमा
अत्याधुनिक र प्रयोगमुखी अध्यापन सुरु गरिसकेको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा सहभागी अन्य सरोकारवालाले समेत युवालाई सकारात्मक मार्गदर्शन, नियमित
परामर्श, विद्यालय–अभिभावक सहकार्य, तथा खेलकुद र सिर्जनात्मक गतिविधिमा सहभागी गराउने
कार्यक्रमलाई बढाउन सुझाव दिएका थिए । कार्यक्रममो बीचबीचमा कलेजका विद्यार्थीद्धारा सांस्कृतिक नाचगान पनि भएको थियो ।
कलेज प्रशासनले विद्यार्थीलाई उच्च गुणस्तरको शिक्षा, सुरक्षित वातावरण र सुरक्षित भविष्यमुखी मार्गदर्शनप्रति प्रतिबद्ध रहने प्रतिज्ञा व्यक्त गरेको
थियो ।
प्रतिक्रिया