जनकपुरधाम।धनुषाको विदेह नगरपालिका-२ दुहबी बोर्डर क्षेत्रमा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।
भारतबाट अवैध रूपमा भित्र्याइएको किराना सामान नियन्त्रणमा लिने क्रममा बुधबार साँझ झडप भएपछि प्रहरीले चार राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बल मधेस प्रदेश कार्यालयका अनुसार साँझ करिब ८:१५ बजेतिर तस्करी नियन्त्रणका लागि खटिएको टोलीमाथि तस्कर समूहले ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको हो।
सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डिआइजी कृष्ण ढकालले सुरक्षाकर्मीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताए।
‘सामान नियन्त्रणमा लिँदै गर्दा तस्कर समूहले ढुंगामुढा गर्यो, स्थिति नियन्त्रणमा लिन चार राउन्ड हवाइ फायर गरिएको हो,’ उनले भने।
घटनामा मानवीय क्षति नभएको र हाल क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
सशस्त्र प्रहरीले भन्सार छलीका केही सामग्री बरामद गरेको छ भने घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी खोजी कार्य तीव्र पारिएको जनाएको छ।
प्रतिक्रिया