बोदेबरसाईन।जनता समाजवादी पार्टी (जसपा) नेपालले सप्तरीको बोदेबरसाईन बजारमा भूमि विधेयकविरुद्ध विरोध प्रदर्शन गरेको छ। केन्द्रको निर्देशनअनुसार सप्तरी क्षेत्र नम्बर- ४ का पार्टी आवद्व कार्यकर्ताहरूले विरोध र्याली तथा कोण सभा गरिएको छ ।
बरसाईनको शत्रुधन चोकबाट निस्केको र्याली बजार परिक्रमा गर्दै शत्रुधन चाैकमा कोण सभामा परिणत भएको थियो । कोण सभामा वक्ताहरूले भूमि विधेयक मुलुक र जनताको हित विपरीत रहेको आरोप लगाउँदै विधेयक फिर्ता लिन सरकारसँग माग गरेका थिए ।
कार्यक्रममा सहभागी कार्यकर्ताहरुले “जसपा नेपाल जिन्दावाद”, “उपेन्द्र यादव जिन्दावाद” जस्ता नारासहित विभिन्न मागसहित विरोध जनाएका थिए।
उक्त प्रदर्शनमा “भूमि र वन बचाउ, मधेसलाई मरुभूमिकरणबाट जोगाउ”, “मधेसी विरोधी भूमि विधेयक फिर्ता गर”, “पहिचान–संघीयता विरोधी ओली सरकार मुर्दावाद”, “२२ बुँदे र ८ बुँदे सम्झौता लागू गर”, “जल, जंगल र जमिनको रक्षा गरौं, जनविरोधी भूमि विधेयक खारेज गरौं” लगायतका नारा लगाइएका थिए। सहभागीहरूले सरकारद्वारा गठित खिलराज रेग्मी र गिरिजाप्रसाद लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका थिए।
बरसाईनमा भएको प्रदर्शनमा जसपा नेपाल अनुशासन समिति संयोजक जगदेव यादव, केन्द्रीय सदस्य शैलेन्द्र मोहन झा, डा. बबी सिंह यादव, रमिला साह, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, जिल्ला उपाध्यक्ष लक्ष्मण यादव, बोदेबरसाईन नगरपालिकाकी उपप्रमुख रेणुका साह, खडक नगरपालिकाकी उपप्रमुख रीता चौधरी, युवा नेता दिनेश यादवसहित सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
उनीहरूले मधेसी, थारु, आदिवासी र जनजाति समुदायबीच एकता कायम गर्दै सरकारको मधेस विरोधी नीतिविरुद्ध निरन्तर आन्दोलन गरिने चेतावनी दिएका छन्।
प्रतिक्रिया