logo
  • २०८२ फाल्गुन ३० | Sat, 14 Mar 2026
  • करुणाको धर्मदीप

    करुणाको धर्मदीप

     करुणाको धर्मदीप

                        तोमनाथ उप्रेती

    संसारमा सभ्यताको सूर्य उदाएको हजारौँ वर्ष बित्दा पनि, कतै पखेटा चुँडिएका परेवा र निर्दोष बोका राँगाको रक्तरङ्गीन चिच्याहट सँगै हाम्रो समाजको कर्णकटु क्रन्दन सुनिन्छ।
    धर्मको नाममा रगतको रेखा कोरिँदा, करुणाको क्यानभास च्यातिन्छ।
    के देवीदेवताको हृदय रगतको रंगमा मात्रै रङ्गिन्छ?
    के पूजा गर्न रगत नै चढाउनु पर्छ?
    धर्मका दीपहरू शान्ति र ममत्वको तेलले बल्छन्, रगतको तापले होइन।

    शास्त्रहरू, उपनिषद् र गीताका गहिरा गर्भगृहमा जब मन पुग्छ, करुणाको कण-कणले आत्मा स्नान गर्छ।
    त्यहाँ कुनै ठाउँ छैन—छुरी, खुकुरी र तरवारका लागि।
    त्यहाँ ठाउँ छ त केवल प्रेमको पाल, करुणाको करिश्मा र ममताको मालाका लागि।
    देवताहरू रगत माग्दैनन्, उनीहरूले माग्छन् निर्दोषताको निसर्गसुगन्ध, अहिंसाको अर्क र शान्तिको सूर्यप्रकाश।

    रक्तरञ्जित रुदन, हिंसाका हर्रा र मोहको मसीले धर्मका पृष्ठमा जब लेखिन्छ,
    त्यो लेखाइ इतिहासको अपमान हुन्छ।
    मोह-मद-लोभको कालो बादल बनेर अन्धविश्वास झरिरहेको छ,
    यसरी विश्वासका फूलहरू कुहिएका छन् र सभ्यताका रङ्गहरू मेटिएका छन्।
    धर्मको नाममा बलिको बली चढाउने,
    स्वार्थका स्वरलहरमा “श्रद्धा” को संगीतमाथि छुरी चलाउने,
    हाम्रो कायरता र अज्ञानताको कलंक हो।

    शिवको शान्तिमा, कृष्णको करुणामा, बुद्धको बाँसुरीमा र माकलुका मुस्कानमा
    रगतको गन्ध छैन।
    त्यहाँ छ त– प्रेमको पुलक, दयाको दीप, ममत्वको मुस्कान।
    हामी कसरी उनीहरूको आँसु र हाँसो बुझ्न चुकेका छौं?
    जब हिंसा हुन्छ, आकाश फाटेझैँ आत्माको स्वर सुनिन्छ–
    “अहिंसा परमो धर्मः”।

    पशुबलि धर्म होइन, त्यो क्रूरताको कर्मकाण्ड हो।
    देवताहरूको प्रसन्नता रगतको प्रवाहमा होइन, प्रेमको प्रवाहमा बस्छ।
    कुनै उपमा भन्दा बढी, करुणा नै धर्मको सर्वोच्च उपमा हो।
    रक्त चढाएर वर माग्ने, पापको साटोमा पुण्य किन्न खोज्ने सोच,
    सभ्यताको सिर्जनाशीलताको शत्रु हो।

    यदि पूजा नै चढाउनु छ भने, करुणा चढाऊ।
    यदि बलि नै दिनु छ भने, आफ्नो लोभ, मोह, अहंकार, मद, ईर्ष्या, द्वेष बलि देऊ।
    यदि दीप नै बाल्नु छ भने, ममत्वको घृतमा शान्तिको बत्ती बाल।
    यदि वर नै माग्नु छ भने, हिंसा छोड्ने बल माग, प्रेम बाँड्ने धैर्य माग, सहनशीलताको साहस माग।

    आधुनिक मानवताको उच्चतम मापदण्ड र सभ्यताको सीप छ—

    दयाको दीप, करुणाको कला, र अहिंसाको अनुशासन।
    अब पनि हामीले धर्मको नाममा रगतको रेखा कोर्नु भनेको आफ्नै आत्माको अपमान गर्नु हो।
    हामीलाई चाहिएको छ सांस्कृतिक पुनर्जागरणको धर्मयात्रा,
    जहाँ पशुबलिको प्रथा होइन, प्रेम र करुणाका तर्पण चढाइन्छन्।
    जहाँ देवी–देवताका मन्दिरहरूमा रगत होइन, फूलको सुवास फैलिन्छ।
    जहाँ समाजका हृदयहरूमा भय होइन, ममत्वको गन्ध बस्छ।
    जहाँ धर्मको सही अर्थ बुझिन्छ— “अहिंसा, प्रेम र करुणा”।

    धर्म भनेको मुटु हो,
    हृदय भनेको पूजा गृह हो,
    प्रेम भनेको प्रसाद हो,
    करुणा भनेको आरती हो,
    र शान्ति भनेको सबैभन्दा पवित्र पूजा हो।

    देवताहरूले रगत माग्दैनन्।
    उनीहरूले माग्छन् तिम्रो हृदयमा सुन्दरता, करुणा र प्रेम।
    त्यो चढाउन हामी तयार छौं कि छैनौं?

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार २४, मंगलवार १९:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP