पाण्डा र मन्त्रहरूको देश
तोमनाथ उप्रेती
पाँच हजार वर्ष पुरानो घडीमा,
चिनियाँ नदीहरू आफ्ना आत्माको गीत गाइरहेछन्,
ग्रेटवालको ईँटहरू, गुरुत्वाकर्षणभन्दा माथि
पृथ्वीको शान्ति सम्हालेर उभिएका छन्।
त्यहाँ,
कन्फ्यूसियसका शब्दहरू
गङ्गाजल झैं मनमा बगिरहेछन्–
“जनता नै सबैभन्दा महत्वपूर्ण हुन्,”
र शासकहरू उभिन्छन्,
नम्रता र न्यायको दीपक बोकेर।
ओलम्पिकका मशालहरूले आकाश छोए,
पाण्डाको मुस्कानमा परोपकारको कविता सुनियो,
बेइजिङ ओपेरामा शास्त्रका स्वरलहरियाँ घुमिरह्यो,
र बेल्ट एण्ड रोडको सडकहरूले
पृथ्वीका नक्सामा भाइचारा कोरे।
सिल्क रोड त धागो थिएन,
शान्तिको मन्त्र थियो,
बीआरआइ त बाटो थिएन,
हृदयको पुल थियो।
जब माओको आँखा देख्थ्यो,
गरिबीका पहाडहरू झर्दैथिए,
जब देङ सिंगापुरको सडकमा हिंड्थे,
सपना र दृष्टिले कन्फ्यूसियसलाई सम्झिदैथिए।
पाण्डा कूटनीति त फूल हो,
नम्रताको रंगीन पराग बोकेर उड्ने चरी हो,
“जब हामी पानी पिउँछौं, स्रोत सम्झनुपर्छ” भन्ने चेत
त्यही सफ्टपावरको मन्त्र हो।
चीनले जब भाषा सिकाउँछ,
त्यो त अक्षर मात्र होइन, आत्माको पुल हो,
चीनले जब पाण्डा उपहार दिन्छ,
त्यो त अनुहारमा हाँसो, सम्बन्धमा सद्भाव हो।
चीनले जब संस्कृति बाँच्छ,
त्यो त ‘पिसफुल राइज’ को संकल्प हो,
जब शिक्षा र व्यापारको सन्देश फैलाउँछ,
त्यो त हार्डपावरलाई पनि करुणाको घेरामा राख्ने शक्ति हो।
यसरी चिनियाँ सपनाहरूमा
पाण्डाका पाखुराहरू फिजिन थाले,
कन्फ्यूसियसको करुणाले नीति भिजायो,
र अन्तर्राष्ट्रिय सम्बन्धका डोरीहरूलाई
मित्रताको गाँसोले कसेर राख्यो।
शान्ति नै तपस्या हो,
अनि चीन त्यो तपस्याको यात्रा हो,
जहाँ, ओलम्पिकको मशाल,
बीआरआइका पुलहरू,
कन्फ्यूसियसका शब्दहरू,
पाण्डाका आँखा,
सबै शान्तिको एउटै कविता बन्छन्।
र, जुन देश शान्तिको कविता गाउन सिक्छ,
त्यो देशले आफैंलाई पनि भेट्छ,
संसारलाई पनि भेट्छ,
अनि उसको उदय शस्त्र नभएर
शब्द, संस्कार र सपनाले हुन्छ।
प्रतिक्रिया