लोकेन्द्र यादव
बोदेबरसाईन । मुलुकमा संघीय लोकतन्त्र गणतन्त्र स्थापना पछिका दुई कार्यकालसम्म राजविराज नगरपालिकाले स्थानीय सरकार पाए पनि शहरको मुटुमा रहेको ऐतिहासिक कल्टुदास पोखरीको अवस्था भने दयनीय बनेको छ।
उक्त पोखरी क्षेत्रमा जथाभावी फोहोर फालिने क्रम बढ्दै गएको छ। पानी प्रदूषित हुँदै जाँदा वातावरणीय तथा सौन्दर्य पक्षमा नकारात्मक प्रभाव परेको स्थानीय संचरकर्मी दिपेश देवले गुनासो गरेका छन्।
स्थानीय बासिन्दाका अनुसार नगरपालिकाले पोखरी संरक्षण र नियमित सरसफाइमा खासै ध्यान नदिँदा पोखरी दुर्दशामा पुगेको हो। पोखरीको दक्षिणीपट्टि भैरव काली मन्दिर समेत रहेको छ । हिन्दु धर्म अनुसारका परम्परागत धार्मिक कार्यहरू आयोजना हुने पोखरीको अवस्था दयनीय हुनु चिन्ताको विषय रहेको छ।
स्थानीय नागरिक अगुवा तथा भाषाविद् डा. सूर्य प्रसाद यादवले शहरको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पोखरीप्रति स्थानीय सरकारको बेवास्ता भएको आरोप लगाएका छन्।
“जनतासामु ठुलठुला विकासका कुरा गर्ने स्थानीय सरकारका जनप्रतिनिधिहरूको ध्यान आखिर यो पोखरीतिर किन जान सकेको छैन ?” उनले प्रश्न गरे।
पोखरी सौन्दर्यीकरणका नाममा विभिन्न समयमा बजेट खर्च भए पनि त्यसको परिणाममूखि प्रभाव देखिएन स्थानीय राजन चाैधरीको भनाइ छ।
उचित व्यवस्थापन र नियमित सरसफाइ नहुँदा पोखरीको अवस्था झन् बिग्रँदै गएको छ।
स्थानीयले नगरपालिकासँग तत्काल सरसफाइ, संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि ठोस योजना ल्याउन माग गरेका छन्।
प्रतिक्रिया