युद्धको चस्माभित्र
तोमनाथ उप्रेती
नेतान्याहु भन्छन्,
“हामी शासन गर्न चाहन्नौं, बस नियन्त्रण मात्र गर्छौं,
जसरी प्रेमिका ‘तिमीलाई बाँध्दिनँ’ भन्छे,
तर फोनमा लोकेशन ट्र्याक राख्छे !”
हमास रिसाउँछ —
“यो त युद्ध अपराध हो !”
तर आफूले बम पठाउँदा
त्यो केवल ‘रातको आतिशबाजी’ रे !
संयुक्त राष्ट्रसंघ चिन्ता गर्छ,
जसरी ब्यूटी पार्लरमा अनुहार पोतेर पनि
फेसबुकमा फोटो नआउला कि भनेर डराउँछ ।
अरब देशहरूले शान्ति माग्छन्,
तर चिया पसलको तास खेल झैँ
पर्दापछाडि अझै बाजी लगाइरहेका हुन्छन् ।
गाजाका बुढा भन्छन्,
“म आफ्नै घरमा मर्न चाहन्छु,”
तर नेताहरूको नजरमा
बुढा-बुढी त ‘फर्निचर’ हुन् —
जहाँ युद्ध छ, त्यहाँ नयाँ ‘इंटेरियर’ चाहिन्छ !
नेतान्याहु अमेरिकामा —
एकातिर चुनावी भाषण,
अर्कोतिर सुरक्षाको चश्मा लगाएर
‘हाम्रो हमला त प्यारको अँगालो हो’ भन्दै फोटो खिचाइ ।
हामीलाई त लाग्छ,
गाजा र इजरायलको यो प्रेमकथा
एकदमै बलिउड शैलीको छ —
गोलाबारी, आँसु, र अन्तमा
“हामी दुबै जित्यौँ” भन्ने झूटो टाइटल कार्ड !
प्रतिक्रिया