logo
  • २०८२ चैत्र २० | Fri, 03 Apr 2026
  • डिजिटल प्रशासनको गीत (कविता)

    डिजिटल प्रशासनको गीत (कविता)

    डिजिटल प्रशासनको गीत (कविता)

     

    तोमनाथ उप्रेती

    प्रशासन अब झ्याल ढोका खोलेर होइन,
    इन्टरनेटको स्पर्शमा झुल्किएको छ बिहान,
    फेसलेस, पेपरलेस, क्यासलेस यात्रामा
    माउसको क्लिकमा फाइल बग्दैछ बिद्रोही नदीजस्तै।

    र, मान्छेहरू लाइनमा बस्न छाड्दैछन्,
    उभिँदा उभिँदा ढाड दुखाउने भीड हराउँदै छ,
    बटन थिच्दा, पञ्जा नचुम्दा पनि
    सेवाहरू आइपुग्छन् मोबाइलको स्क्रिनमा।

    हरेक सेवामा वर्षा हुन्छ—
    सूचनाको बादलबाट डेटा झर्छ,
    नक्शामा सीमाहरू बिस्तारै मेटिँदै,
    डिजिटल नेपालको रंग भर्दैछन्
    माइक्रोचिपहरू, फाइबरहरू, बिट र बाइटहरू।

    सेवाग्राहीको अनुहार छैन,
    सेवाप्रदायकको दाँत देखिएको छैन,
    पनि, सेवा आइपुगेको छ,
    घरमै, छातीमै, मोबाइलकै मुटुमा।

    “काले काले मिलेर खाउँ भाले”
    भन्दै हाँस्नेहरूसँग इन्टरनेट रिसाउँछ,
    रुपैयाँका बन्डलहरूको गन्ध हराउँदै छ,
    ‘भनसुन’ र ‘चाकरी’ हराउँदै छ,
    र भ्रष्टाचारको गन्ध डिजिटल फायरवालमा पुरिँदै छ।

    हात हाल्ने ठाउँ हराएपछि,
    ईमानको बास आउँछ भनिन्छ,
    कागजका फाइलहरू च्यातिँदैनन्, हराउँदैनन्,
    अहिले डिजिटल फाइलहरूको
    प्यालेस बन्दैछ नेपालको प्रशासन।

    स्मार्ट मिटरले बिजुली पढ्छ,
    ट्राफिक सिग्नलले बाटो देखाउँछ,
    ई-बैंकिङले पैसा बोक्दैन,
    लाम ठेलमठेलका रेखाहरू
    अब हावामा मेटिँदै छन्।

    विवेकशील युवाहरू, घरमै बसेर
    विश्वका कम्पनीमा काम गर्छन्,
    नेपालमै बसेर अमेरिकामा रोजगार,
    अमेरिकामै बसेर नेपालमा कर बुझाउँछन्।

    कागजका नोटहरू, सिक्काहरू
    एउटा ‘क्लिक’ मा हराउँछन्,
    डिजिटल लेनदेनको गल्लीमा
    खल्ती, ई-सेवा, कनेक्ट आइपीएस,
    दैनिकीलाई सरल बनाउँदै,
    पैसाको हुल बोक्ने डर हराउँदैछ।

    लकडाउनको डरमा पनि
    सेवा रोकिन्न,
    अनलाइन आवेदन, अनलाइन कर,
    राष्ट्र सानो, सफा, पारदर्शी हुँदैछ।

    यो भौतिक समाज,
    डिजिटल समाजमा बदलिँदै छ,
    फेसबुकमा हैन,
    सार्वजनिक सेवामा पनि फेसलेस हुँदैछ,
    सेवाको गतिमा गतिको संगालो,
    सुशासनको उज्यालो पोषाक।

    डिजिटल नेपाल,
    सूचनाको सुनामीमा नडुबेर,
    सूचनाको जहाजमा चढेर
    विश्व मानचित्रमा अंकित हुँदै छ,
    सूचना प्रविधिका ताराहरूले
    नेपालको आकाश रङ्ग्याउँदै छ।

    डिजिटल प्रशासन भनेको केवल प्रविधि होइन,
    यो सुशासनको व्रत हो,
    यो नयाँ युगको सुरुवात हो,
    जहाँ सेवाग्राहीको अनुहार होइन,
    उसको अधिकार बोल्दछ।

    र, यो यात्रामा हामी सबै यात्रु हौँ—
    जहाँ ‘डिजिटल’ मात्र होइन,
    ‘नैतिक प्रशासन’ को सङ्कल्प पनि छ,
    हाम्रो देशको, हाम्रो समाजको, हाम्रो मुटुको
    सपना बनेर।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन १, बुधबार १७:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP