शान्तिको शिखरमा एउटा दीप:गुरूजी मंगलदासजी महाराज
तोमनाथ उप्रेती
धूलोले ढाकिएको मानव चेतनाको फाटमा करुणाको कुसुम फुलाउने ती पुज्य पुरुष, श्री १०८ मंगलदासजी महाराज, केवल आध्यात्मिक गुरु मात्र होइन, मानवता, प्रेम र न्यायका जाग्रत ज्योति थिए। उहाँको जीवन एउटा सजीव उपदेश थियो, जहाँ सेवा स्वास थियो र करुणा उहाँको कर्मको काव्य थियो।
जब लोभ र लम्पटता, शक्ति र स्वार्थले मानवताको मर्म मिच्दै थियो, तब उहाँले शान्तिको शब्द र करुणाको कण छर्दै हिंड्नुभयो। उहाँका कदमहरूले जहाँ टेक्थे, त्यहाँ अहिंसाको अमृत झरि झर्थ्यो, अनि असहिष्णुता र अन्यायका काँडाहरू फुलमा बदलिन्थे।
गुरुजीको दृष्टिमा ‘अहिंसा’ निर्बलताको निर्जीव प्रतीक होइन, बरु यो त आत्मसंयमको अग्निपरीक्षामा उज्यालो भएर निस्किएको साहसको सन्देश थियो। अपमान र घृणा, अन्याय र लोभलाई मानसिक हिंसाका अमिलो अन्धकार ठानी उहाँले आत्मशुद्धिको आलोकमा जलाएर राखिदिनुभयो।
उहाँका उपदेशहरू सरल शब्दमा गहिरो सागर थिए, जहाँ ‘सेवा नै साधना’ बन्न पुग्थ्यो, ‘प्रेम नै पूजा’ बन्न पुग्थ्यो, अनि ‘मानवता नै परम धर्म’ बन्न पुग्थ्यो। उहाँको सोचाइमा धर्म कुनै ढोंगी कर्मकाण्डको आडम्बर थिएन, बरु समाज रूपान्तरणको शक्ति, सेवामा स्वर्गको सुमन, र प्रेममा परमात्माको प्रकाश थियो।
उहाँको जीवन संघर्षको सप्तस्वर थियो। इलामको हरियाली मेहेलबोटेको काखमा जन्मिएर, आसामका घाटहरूमा निजानन्द दर्शनको गहिरो नदीमा पौडिनु, गुरु पीताम्बरदासको सान्निध्यमा तारतम सागरको गहिराइ छाम्नु, अनि अखण्ड पारायणको समर्पणमा साक्षात्कार गर्नु—यी सबै उहाँको आत्माको आकांक्षाहरूको आकाश थिए, जहाँ आध्यात्मिकताको उज्यालो सितारा बनेर उहाँ चम्किनुभयो।
‘गुरुजी प्रणामी मिसन ट्रष्ट’ को स्थापनासँगै उहाँले धर्म र समाजलाई एउटै सूत्रमा गाँस्नुभयो—‘सेवासे पाओगे पार’। यो वाक्यांश कुनै नारा मात्र थिएन, यो त उहाँको जीवनको नाडी, उहाँको आत्माको आशय, र उहाँको समर्पणको स्वर थियो।
उहाँले मन्दिर, आश्रम, गौशाला, अस्पताल, अनाथ सेवा केन्द्र, सत्संग भवन, संस्कृत पाठशालाहरू स्थापना गर्दै मानवताको महाकाव्य रच्नुभयो। जातपात, छुवाछुत, हिंसा र अन्धविश्वासका विरुद्ध उहाँको जीवन एउटा विद्रोही दीप थियो, जसले अज्ञानताको अँध्यारो भत्काएर चेतनाको उज्यालो ल्यायो।
आजको युग जब अन्धविश्वास र आडम्बरले धर्मलाई व्यापारमा बदलिरहेका छन्, तब मंगलदासजीको जीवनले हामीलाई साँचो धर्मको परिभाषा दिन्छ—जहाँ प्रेम नै प्रार्थना हो, सेवा नै साधना हो, र मानवताको रक्षा नै परम धर्म हो। उहाँले हामीलाई सिकाउनुभयो, शान्ति शक्ति हो, करुणा क्रान्ति हो, अनि अहिंसा नै अमर विजय हो।
उहाँको उपस्थितिले मात्र पनि द्वन्द्वग्रस्त हृदयमा शान्तिको स्पन्दन ल्याउँथ्यो। उहाँका नयनहरू करुणाको काश्मीर थिए, उहाँका शब्दहरू सान्त्वनाको सागर थिए, र उहाँको मौनता पनि एक उपदेश थियो।
हामीले उहाँबाट बुझेका छौं—
जब शोषणको शीतलहरले समाजलाई कठोर बनाउँछ, तब करुणाको किरण बन्नु नै हाम्रो कर्तव्य हो।
जब स्वार्थको आँधीले सहिष्णुताको छाता उडाउँछ, तब सेवाको शरण बन्नु नै हाम्रो स्वाभिमान हो।
जब घृणाको गडगडाहटले प्रेमको संगीतलाई दबाउँछ, तब प्रेम नै प्रतिकार बन्नु नै हाम्रो साहस हो।
गुरुजी श्री १०८ मंगलदासजी महाराजको जीवन एक उज्यालो शिखर हो—जहाँ सेवा, समर्पण र सत्यका उज्वल रश्मिहरू अनन्तकालसम्म चम्किरहेका छन्। उहाँको व्यक्तित्व कुनै पद र प्रतिष्ठाको वैभव थिएन, त्यो त करुणा, सहिष्णुता र आध्यात्मिक निष्ठाको अमृत स्रोत थियो। उहाँले देखाएको अहिंसा र प्रेमको मार्ग आज पनि कलुषित र स्वार्थी समाजमा आस्थाको अक्षय दीप बनेर बलिरहेको छ।
हामीले पनि जब आफ्ना हृदयमा सहिष्णुता, सेवाभाव र प्रेमको दीप जलाउन सक्छौं, तब मात्र गुरुजीको जीवनदर्शनको सच्चा सम्मान हुनेछ। उहाँले जीवनभर जपेको मन्त्रलाई हामीले पनि आफ्ना कर्म र आचरणमा उतार्न सक्छौं भने मात्र शान्ति, न्याय र करुणाको युग सम्भव छ।
गुरु श्री १०८ मंगलदासजी महाराज, तपाईंको शिक्षामा हामी हिँड्दैछौं, तपाईंको करुणामा हामी नुहाउँदैछौं, र तपाईंको सेवामा हामी बाँची रहेका छौं। तपाईं हाम्रो आत्मा र समाजका लागि शान्तिको शिखरमा बलिरहेको एक अक्षय दीप हुनुहुन्छ।
प्रतिक्रिया