बन्दी आत्माहरूको पुनर्जागरण
तोमनाथ उप्रेती
ध्वंसका धुलाहरूमा जीवनको सुगन्ध फूट्यो,
रगतले लेखिएका पानाहरूमा एक फूल पलायो
त्यो फूल मौन थियो, तर उसको गन्धले बोलेको थियो,
“मनुष्य, तिमी आफैंको कारागारमा कैदी छौ।”
तोप र ट्याङ्कहरूको गर्जनभित्र,
एक बालकले आफ्नो सपनालाई माटोमा गाड्यो
त्यो सपनाबाट बोट उम्रियो, जसले शान्तिको परिभाषा फेऱ्यो,
र संसारले बुझ्यो — आत्मा कहिल्यै हार्दैन।
यो युद्ध, केवल हतियारको होइन, चेतनाको थियो;
जहाँ सत्य र भ्रमबीच द्वन्द्व भयो,
जहाँ आस्थाले धर्मलाई सोध्यो
“के ईश्वर पनि कुनै पक्षमा हुन्छ?”
शरीरहरू बाँधिए, तर विचारहरू उडिरहेका थिए,
राखभित्र आगोको पुनर्जन्म हिजो पनि भयो, आज पनि हुन्छ
मानवताको अस्थिहरूले अझै सुसेल्दै भनिरहेका छन्,
“अहिंसा नै आत्माको साँच्चिकै मुक्ति हो।”
युद्धले सिकायो
शत्रु त केवल नाम हो,
वास्तविक कैदी त हामी हौँ
आफ्नै घृणामा बाँधिएका, आफ्नै द्वेषमा हराएका।
तर हे, जब पहिलो किरणले कारागारको ढोका छोयो,
आत्माहरू उठे — चिहानभित्रबाट,
र पुनर्जन्म लिए — प्रेमको रूपमा, क्षमाको रूपमा,
मानवता फेरि बोल्यो — “म मर्छु, तर म हराउँदिन।”
यसै पुनर्जागरणमा शान्तिको घण्टी बज्छ,
र हरेक मुटु एउटा सन्देश सुनाउँछ —
रक्तले होइन, करुणाले लेख,
किनकि साँचो विजय, आत्माको मुक्तिमा हुन्छ।
प्रतिक्रिया