सत्यको धुलोमा पुनर्जन्म (कविता)
– तोमनाथ उप्रेती
जब युद्धले सूर्यलाई निल्यो
आकाश रगतले रङ्गियो
माटोले श्वास लियो र त्यसै माटोभित्र
मानवताको अन्तिम प्रार्थना गाडियो।
शहरको ढुंगाभित्र एक स्वर फनफनायो
“सत्य मर्छ, तर गुम्दैन,”
र धुलोको सागरभित्र
एउटा बालकको आँसुले नयाँ सुर्योदय कोर्यो।
देहहरू जलिरहे, तर आत्माहरू धुवाँ बनेर उठे
उनीहरूले भनिरहे
“राखमा पनि बीउ हुन्छ,
यदि चेतनाले आँसुको अर्थ बुझ्न सकोस् भने।”
रातको हरेक तारा एक शहीदको आँखाजस्तै चम्कियो,
र चन्द्रमाले पनि कसम खायो
“अब म युद्ध होइन, बोधको साक्षी बन्छु।”
सत्य, जसलाई बारम्बार चिहानमा गाडियो
उही सत्य फेऱी फुल्यो
घृणाको धुलो झारेपछि
प्रेमको आँसुमा धुलिएको मानवीय अनुहार बनेर।
र त्यो क्षण, जब बन्दुकले मौनता ओगट्यो
एक सन्तको स्वर हावामा मिसियो
“यो संसार जित्न होइन, बुझ्न जन्मिएको हो।”
त्यसपछि धुलोले आफ्नो रूप फेऱ्यो
राखबाट फूल, फूलबाट शान्ति,
शान्तिबाट फेरि सत्य, र सत्यबाट पुनर्जन्म।
मानवता फेरि उठी, अन्धकारबाट उज्यालोतर्फ
धुलोभित्र सत्य थियो,
र सत्यभित्र हामी सबैको हराएको अनुहार।
प्रतिक्रिया