युद्धदेखि परदेशसम्म(कथा)
तोमनाथ उप्रेती
प्रकाशले पहिलोपटक जीवनलाई युद्धजस्तै देखेको दिन थियो, जब उसले आफ्नो गाउँको चौरमा उभिएर परदेश जाने निर्णय गरेको थियो। त्यो चौर, जहाँ कहिल्यै बन्दुकको आवाज गुञ्जिएको थिएन, जहाँ असारको पानी र गाईको घण्टीको मधुर धुन सुनिन्थ्यो, त्यहीँ उभिएर उसले आफ्नो भविष्य रूसतर्फ मोड्ने कसम खाएको थियो।
घरको भित्तामा टाँसिएको पुरानो नागरिकता, आमाले सिलाएको झोला र बाबुको चुपचाप आशीर्वादयिनै साथ लिएर प्रकाश युद्धको देशतर्फ उडेको थियो। रोजगारीको नाममा, बाँच्ने नाममा, सपनाको शव बोकेर।
मस्कोको चिसो हावाले उसको छाला चिरेको थियो। तालिम शिविरमा दिनहरू बन्दुकको आवाज र आदेशका चिच्याहटमा बग्थे। भाषा बुझ्दैनथ्यो, राजनीति बुझ्दैनथ्यो, तर मृत्यु बुझ्थ्यो। हरेक बिहान ऊ उठ्दा सोध्थ्यो—“आज बाँचिएला त?”
युक्रेनको सीमामा पुगेपछि युद्ध कागजको समाचार रहेन। त्यो त बारुदको गन्ध, छरिएका हातखुट्टा र रातभर नसुत्ने डर थियो। उसको साथी इवान एक दिन हाँस्दै फोटो खिच्यो। भोलिपल्ट रगतमा लडिरहेको थियो। प्रकाशले पहिलोपटक बुझेको थियो—रोजगारी कहिलेकाहीँ शवमा बदलिन्छ।
छ महिना पछि ऊ फर्कियो। शरीर जिउँदो थियो। मन खण्डहर। काठमाडौँ ओर्लँदा उसलाई लाग्यो—शान्ति यहाँ भेटिएला। तर शान्ति कागजमा मात्रै थियो।
गाउँ फर्किँदा आमाले आँसु पुछिन्। बाबु केही बोलेनन्। छिमेकीले भने,
“रूस गएर के ल्यायौ त?”
ऊ मुस्कुरायो। जवाफ थिएन।
प्रकाशले फेरि सुरु गर्ने प्रयास गर्यो। फार्म खोलेर तरकारी उमार्ने सोच बनायो। सहकारी धायो। बैंक गयो। कार्यालयका ढोकामा दिन बिताए। हरेक ठाउँमा एउटै उत्तर—
“भोलि आउनु।”
“कागज पुगेन।”
“सिफारिस चाहिन्छ।”
भोलि कहिल्यै आएन।
एक वर्ष बित्यो। ऋण बढ्यो। आशा घट्यो।
एक साँझ ऊ खोला किनारमा बसेर मोबाइल हेर्दै थियो। फेसबुकमा पुराना साथीहरू दुबई, मलेसिया, कतारमा हाँसिरहेका फोटोहरू। फिल्टरले चम्किएका अनुहारहरू। तर उसले थाहा पाउँथ्यो—त्यो हाँसो पसिनाको मूल्यमा किनेको हो।
त्यही रात उसले निर्णय गर्यो—फेरि जानुपर्छ।
यसपटक युद्ध होइन, मरुभूमि।कतार।
काठमाडौँ आयो। बागबजारको गल्लीमा पासपोर्ट बोकेर हिँड्यो। दलालको अफिस, मेडिकल सेन्टर, म्यानपावर कम्पनी—सबै एउटै जस्तो लाग्थे। भित्तामा टाँसिएका सपनाका पोस्टरहरू, भित्र दलालको मुस्कान।
“छिट्टै उडान हुन्छ।”
“पैसा जम्मा गर।”
“काम राम्रो छ।”
प्रकाशले ऋण गरेर पैसा बुझायो।
दिन बिते। हप्ता बिते। महिना बिते।
फाइल अड्कियो।
कहिले मेडिकल फेल, कहिले भिसा ढिला, कहिले कम्पनीले नाम काट्यो।
ऊ रत्नपार्कको बेञ्चमा बसेर सोच्थ्यो—
“म युद्धबाट बचें, तर व्यवस्थाबाट कसरी बचूँ?”
उसको अगाडि सयौँ प्रकाशहरू थिए। कोही भारत फर्किंदै थिए, कोही खाडी पर्खिंदै, कोही जापानको भाषा सिक्दै। सबैको आँखामा एउटै प्रश्न“यो देशमा हामी किन अटाएनौँ?”
एक दिन ऊ पुरानो डायरी खोल्यो। रूस जाँदा लेखेको थियो—
“फर्केर आफ्नै देशमा केही गर्छु।”
त्यो वाक्य अहिले व्यंग्य जस्तो लाग्यो।
काठमाडौँको एक साँझ, पानी परिरहेको थियो। सडकमा ट्राफिक जाम। पसिनामा भिजेका मजदुर। फुटपाथमा सुतिरहेका बालक। ऊ छातामुनि उभिएर सोच्दै थियो—
“यो देश मसँग किन रिसाएको हो?”
अचानक फोन आयो।
म्यानपावरबाट।
“तपाईंको भिसा आयो।”
प्रकाश चुप लाग्यो।
खुसी हुनुपर्ने बेला थियो। तर मन भारी भयो।
किनभने ऊ फेरि देश छोड्दै थियो। फेरि आफ्नै माटोबाट निर्वासित हुँदै थियो।
त्यो रात ऊ आमालाई फोन गर्यो।
“आमा, फेरि जानुपर्यो।”
आमाले केही भनिनन्। केवल सास फेरेको आवाज आयो।
भोलिपल्ट ऊ त्रिभुवन विमानस्थल उभियो। हातमा टिकट। आँखामा देश।
पछाडि फर्केर हेर्यो। धुम्मिएको काठमाडौं। धुवाँ, भीड, हर्न, सपना।
उसले मनमनै भन्यो—
“म भागेको होइन। म धकेलिएको हुँ।”
जहाज उड्यो।
प्रकाशको कथा सकिएको थिएन। त्यो हजारौँ युवाको कथा थियो—जो युद्धबाट बाँचेर व्यवस्थामा हार्छन्, जो देशलाई माया गर्छन् तर देशले उनीहरूलाई काम दिँदैन।
र कुनै दिन, जब यो देशले आफ्ना प्रकाशहरूलाई रोकिन देला, तब मात्र साँचो उज्यालो फैलिनेछ।
प्रतिक्रिया