नैतिक चेतना र मानवीय मूल्य: सामाजिक पुनर्निर्माणको सूत्र
तोमनाथ उप्रेती (उपसचिव,नेपाल सरकार),
मानवीय मूल्य भनेको सत्य, न्याय, करुणा, सहिष्णुता र सहयोग हुन्। यी मूल्य बिना समाज बाह्य संरचना र नियममा सीमित रहन्छ। तर जब मूल्य जीवित हुन्छन्, तब नियम र कानुन मात्र नभई मानव व्यवहार नै सुधार हुन्छ। नैतिक चेतना व्यक्तिको अन्तरदृष्टि हो। यसले भित्री सचेतनालाई जागृत गर्छ। जब चेतना सक्रिय हुन्छ, व्यक्ति स्वार्थभन्दा माथि उठेर निर्णय लिन थाल्छ। समाजको आधार मानवीय मूल्य र नैतिक चेतनामा निर्भर छ। जब यी मूल्य कमजोर हुन्छन्, तब असमानता, द्वन्द्व र अविश्वास बढ्छ। व्यक्तिको आचरण र सोच समाजको प्रतिबिम्ब हो। यदि व्यक्ति नैतिक चेतनाले सम्पन्न हुन्छ, तब समाज स्वाभाविक रूपमा सुसंस्कृत र समृद्ध हुन्छ।
सामाजिक पुनर्निर्माण संरचनात्मक सुधारमा सीमित हुँदैन। यसको मूल कारण भनेको मानवीय मूल्य र नैतिक चेतनाको पुनःस्थापना हो। जब प्रत्येक व्यक्ति आफ्नो मन र आचरणमा नैतिकता पालन गर्छ, तब समाजमा विश्वास, सम्मान र सहयोगको वातावरण सिर्जना हुन्छ। यस्तो समाज केवल स्थायी हुन्छ।
समाज मूलतः साझा मूल्य, आचरण र चेतनाको प्रतिबिम्ब हो। जब समाजमा सत्य, करुणा, न्याय, सहिष्णुता र जिम्मेवारीजस्ता मानवीय मूल्य कमजोर बन्छन्, तब सामाजिक संरचना बाहिरबाट जति नै सुदृढ देखिए पनि भित्रबाट खोक्रो बन्दै जान्छ। आज विश्व अनेक प्रकारका संकट—हिंसा, अविश्वास, विभाजन र नैतिक पतन—को सामना गरिरहेको छ। यी सबै संकटको मूलमा मानवीय मूल्यको क्षय लुकेको छ।
आधुनिक विकासले भौतिक उन्नतिमा अभूतपूर्व प्रगति गरेको छ, तर चेतनाको समानान्तर विकास हुन सकेको छैन। परिणामस्वरूप, शक्ति र लाभलाई नै सफलताको मापदण्ड बनाइयो, मानव मर्यादा गौण बनाइयो। जब व्यक्तिको मूल्य केवल उत्पादनशीलता, लोकप्रियता वा उपयोगिताबाट मापन गरिन्छ, तब समाज संवेदनशीलताबाट टाढिँदै जान्छ। यही अवस्थामा मानवीय मूल्यको पुनर्स्थापना सामाजिक पुनर्जागरणको अपरिहार्य आधार बन्छ।
मानवीय मूल्यको पुनर्स्थापना व्यवहार, नीति र संस्थागत संस्कारमा मूल्यलाई जीवन्त बनाउनु हो। शिक्षा प्रणालीले प्रतिस्पर्धासँगै करुणा सिकाउनुपर्छ, शासन व्यवस्थाले शक्ति प्रदर्शनभन्दा न्याय र सेवामा जोड दिनुपर्छ, र समाजले सफलताभन्दा सदाचारलाई सम्मान गर्नुपर्छ।
जहाँ मानवीय मूल्य पुनर्स्थापित हुन्छन्, त्यहाँ सामाजिक विश्वास पुनर्निर्माण हुन्छ। विश्वासले सहकार्य जन्माउँछ, सहकार्यले समावेशी विकास सम्भव बनाउँछ र समावेशिताले दीगो शान्ति सुनिश्चित गर्छ। यस्तो समाजमा भिन्नता द्वन्द्वको कारण होइन, संवादको आधार बन्छ।
मानव मूल्य चेतनशील अस्तित्वका मुटु हुन्, जसले व्यक्तिलाई मात्र होइन, समाजलाई पनि विवेकशील, सभ्य र सुसंस्कृत बनाउँछ। मानवता, सहअस्तित्व, सादगी, सत्यनिष्ठा, निष्पक्षता, आत्मनियन्त्रण र करुणा जस्ता मूल्यहरू कुनै धर्म, जात, भाषा वा राष्ट्रको सीमामा बाँधिन सक्दैनन्, ती त सार्वभौमिक सत्य हुन्, जो कुनै पनि समयमा, समाजमा वा सभ्यतामा जीवनका उच्चतम मानक हुन्। तर, जब शिक्षा प्रणालीले परीक्षा केन्द्रित, अङ्कमुखी र यान्त्रिक ज्ञान मात्र प्रदान गर्छ, तब आत्मिक विकास, नैतिक बोध र सामाजिक दायित्वजस्ता पक्षहरू किनार हुन्छन्। फलतः हामी पुस्ता निर्माण होइन, मेकानिकल मानव निर्माणतर्फ अग्रसर हुन्छौं—जसमा तर्क, विश्लेषण, जानकारी हुन्छ, तर आत्मा, विवेक र अनुभूति हुँदैन। यस्तै शिक्षाले समाजमा ‘शिक्षित अशिक्षा’ को बिउ रोप्छ, जसको परिणाम असंवेदनशील राजनीतिज्ञ, भ्रष्ट प्रशासक र मूल्यविहीन नेतृत्वको रूपमा प्रकट हुन्छ।
प्रशासन, न्यायपालिका, शिक्षा, स्वास्थ्य र सुरक्षाजस्ता सार्वजनिक संस्थाहरूमा मानवीय मूल्यको अभावले व्यापक असन्तुलन र जनविश्वासको संकट निम्त्याएको छ। नातावाद, कृपावाद, चाकरीप्रथा र राजनीतिक हस्तक्षेप जस्ता विकृतिहरूले सुशासनको मर्मलाई गम्भीर चुनौती दिइरहेका छन्। यस्ता समस्याहरूको समाधान कानुनी कारबाही वा प्रशासनिक सुधार मात्र होइन, मूल्य–केन्द्रित मानसिक रूपान्तरणमा आधारित हुनुपर्छ। जब नेतृत्वकर्तामा आध्यात्मिक विवेक, निष्ठा, जनसेवा र मानव कल्याणको भावना हुन्छ, तब नीति स्वयं नै जनहितका लागि सजीव बनिन्छ। तसर्थ, नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक तहमा मूल्यात्मक सोच, आचरण र आत्म–नियन्त्रण आवश्यक हुन्छ। लोकतन्त्रको आत्मा भनेकै जनउत्तरदायिता हो, र त्यो उत्तरदायिता तबसम्म सशक्त बन्न सक्दैन, जबसम्म नेतृत्वमा बस्नेहरूले आत्मकल्याणभन्दा समाज कल्याणलाई प्राथमिकता दिँदैनन्।
आजको समाजमा मानिसको मूल्य आर्थिक पहुँच, प्रविधिसँगको नाता वा सामाजिक मिडियामा देखिएको आभासी छविबाट नापिन थालिएको छ। चरित्र होइन, प्रदर्शन; सहानुभूति होइन, प्रतिस्पर्धा; सेवा होइन, स्वार्थको होडले सामाजिक अन्तरसम्बन्धलाई नाफा-नोक्सानको समीकरणमा रूपान्तरण गरिदिएको छ। यस्तो अवस्थामा ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः’ जस्ता मूल्य केवल भाषणको विषय होइन, व्यवहारको दायित्व बन्नु अत्यावश्यक छ। यदि परिवार, समाज, र राज्यसंयन्त्रहरूले बाल्यकालदेखि नै जीवनमुखी मूल्य शिक्षा, अध्यात्मिक अनुशासन र संवेदनशीलता जगाउने अभ्यास सुरु गरे, मात्र हामी नैतिक पतनबाट समाजलाई उकास्न सक्छौं। यस्ता मूल्यले मात्र विधर्मी शक्तिहरूले उब्जाएका भौतिकवाद, उपभोक्तावाद र स्वार्थपरक सोचलाई प्रतिस्थापन गर्न सक्छन्। राष्ट्रको समृद्धि बुलेट ट्रेन, गगनचुम्बी भवन वा डिजिटल क्रान्तिमा मात्र होइन, नागरिकको आन्तरिक सदाचारमा आधारित हुन्छ।
मानव मूल्यमा आधारित शिक्षा प्रणाली विकास गर्ने कार्य राज्य र नागरिक दुवैको कर्तव्य हो। विद्यालयहरूले केवल ज्ञान होइन, जीवनका लागि आवश्यक गुण–स्वाभाव, आदर्श, मूल्य र चरित्र निर्माणका तत्वहरू प्रदान गर्नुपर्छ। यस्ता शिक्षाले बालबालिकालाई केवल सफलता होइन, सहिष्णुता, सन्तुलन र सहकार्य सिकाउनुपर्छ। अध्यात्मवाद, जसले आत्मालाई अस्तित्वको मूल मान्दछ, शिक्षा र प्रशासनमा मार्गदर्शक शक्ति बन्नुपर्छ, किनभने अध्यात्मले नै व्यक्ति र समाजबीचको बन्धनलाई गहिरो बनाउँछ। नागरिक शिक्षा पनि यति सशक्त र व्यावहारिक हुनुपर्छ कि उसले प्रत्येक नागरिकलाई आफ्नो कर्तव्यबोध, संवैधानिक अधिकार र सामाजिक जिम्मेवारीबारे सजग बनाओस्। यस्ता शिक्षाले मात्र एउटा विवेकशील, उत्तरदायी, र मानवतावादी समाजको निर्माण गर्न सक्छ, जहाँ शिक्षित हुनु भनेको केवल पढ्नु होइन, आत्मा र समाजप्रति उत्तरदायी बन्नु हो।
हामीलाई अबको युद्ध भौतिक पूर्वाधारको होइन, मानवीय अस्तित्वको संरक्षणको युद्ध हो भन्ने गम्भीर बोध हुन जरुरी छ। मानवीय मूल्यको संरक्षण कुनै एक वर्गको जिम्मेवारी होइन, यो सम्पूर्ण मानव समाजको साझा उत्तरदायित्व हो। यदि हामी शिक्षालाई पुनः परिभाषित गर्दै अध्यात्म, मूल्य र जीवनदर्शनसँग गाँस्न सक्यौं भने, समाजको आधारदेखि राष्ट्रको मेरुदण्डसम्म शुद्ध, समर्पित र संवेदनशील संरचना निर्माण गर्न सकिनेछ। आजको युगमा, प्रविधि र आधुनिकता बाढी जस्तो बढ्दैछ। तर मानवीय मूल्य र नैतिक चेतना कमजोर हुँदै गएका छन्। परिणाम स्वरूप, व्यक्तिगत र सामाजिक स्तरमा असन्तुलन बढेको छ। यही असन्तुलनलाई सुधार्न आवश्यक छ—संसारलाई फेरि मानवीय दृष्टिले हेर्न।नैतिक चेतना र मानवीय मूल्य सामाजिक पुनर्निर्माणको मूल सूत्र हुन्। जब यी मूल्य जीवनमा अमल हुन्छन्, तब मात्र समाज स्थिर, न्यायपूर्ण र समृद्ध बन्न सक्छ। यही आधारमा शिक्षा, नेतृत्व र नीति निर्माण गर्नुपर्छ। व्यक्तिको मन उज्यालो भए मात्र समाज उज्यालो हुन्छ। मानवीय मूल्यको पालन नै सामाजिक पुनर्जागरणको साँचो मार्ग हो। छोटकरीमा भन्नुपर्दा—नैतिक चेतना र मानवीय मूल्यको पुनःस्थापना बिना स्थायी समाज असम्भव छ।
प्रतिक्रिया