यो त युद्धको सर्कस हो
तोमनाथ उप्रेती,
“नरसंहार वैध!”
नेता चिच्याउँछन्,
“प्रतिरोध अपराध!”
उनीहरू हाँस्दै चिया खान जान्छन्,
प्यालेस्टाइनका बालबालिका भने
बारुदमा चिनी खोजिरहेका छन्।
दुई प्लेनमा स्प्रे हाले,
सरकार करायो: “आतंक!”
पचास हजार बालबालिका खतम पार्दा भने,
नेता मुस्कानसहित भन्छन्: “सुरक्षा!”
“लोकतन्त्रको रक्षा” भन्दै
ड्रोन उडाउँछन्, बम फ्याँक्छन्,
बालबालिकाको छातीमा लोकतन्त्र
धन्नु लाउँछन्, बारुदको अक्षरले!
प्यालेस्टाइन एक्सन? खतरनाक!
त्यसैले १४ वर्षको जेल,
किनकि उनीहरूले ‘नरसंहार नगर्नू’ भनेर लेखेका छन्
एउटा युद्धविरोधी ब्यानरमा।
नेता भन्छन्:
“गाजामा हतियार बेच्नु देशभक्तिको कदर!”
“बेलायतको नाइटहुड पाइन्छ,
सैन्य सम्झौतामा हस्ताक्षर गर्दा!”
तर,
“हतियार बन्द गरौं” भन्दै
स्प्रे हालेपछि,
“गद्दार!” “आतंककारी!” “देशद्रोही!” भनेर
गाडीमा लोड गरेर जेल पठाइन्छ।
“हामीले कानून मानेर,
शान्तिपूर्ण तरिकाले आन्दोलन गर्नुपर्छ।”
ठिकै छ,
तर कानून त ‘नरसंहारलाई वैध’ ठहर गर्ने छ,
र शान्तिपूर्ण विरोधमा ‘आतंकको मोहर’ लगाउने छ!
हे नेता हो!
तिमीलाई युद्धको बमभन्दा,
स्प्रे–पेन्टको रंग किन डर लाग्छ?
तिमीलाई शान्तिको शब्दभन्दा,
सत्यको आवाज किन चुभ्छ?
यो त युद्धको सर्कस हो,
जहाँ बारुदको थालमा,
लाशको भात पाक्छ,
नेता भोजमा जाँदा,
‘शान्ति–सम्झौता’को टोपी लगाएर
सस्तो हाँसो गर्छन्।
“कुन मरे, कुन बाँचे?”
कुनै फरक छैन तिनका लागि,
किनकि उनीहरूले युद्ध जितेका हुन्छन्,
लाशहरूलाई राष्ट्रिय झण्डाले छोपेर!
“शान्ति चाहियो!” भन्नका लागि,
हामीले जेलको डर मान्न छोड्नुपर्छ।
हामीले युद्धको ठेकेदार नेताहरूलाई,
हाम्रो हाँसो र कविताले हाँसोको गोली हान्नुपर्छ।
(रतुवामाई, ५ मोरङ¬)
प्रतिक्रिया