आगोका फूलहरू(कविता)
तोमनाथ उप्रेती
विस्तारित नील आकाशको छातीमा,
मृत्युका धुवाँले पखेटा फिजाउँछन्,
रगतको धारा बगाउँछ बेका उपत्यकामा,
आगोका फूलहरू फुल्छन्,
शिशुका सपनाहरूमा चित्कारको बादल बन्छ।
हावा भनाउँछ—
“यो श्वास मैले कति पटक रङ्याएँ,
धर्तीलाई लाली लगाएँ,
बिना प्रेमका बमका आलिङ्गनले!”
तर हावा नै सुनाउँछ,
आत्माले बुझ्ने ती मौन सन्देशहरू।
हिज्बोल्लाहका हुलहरू, रेडवानका रमिताहरू,
इजरायली ईर्ष्या, बारुदका बडप्पनहरू,
तर युद्धको वास्तविक शत्रु त भय हो,
र हरेक गोला हान्दा, आत्मा च्यातिन्छ,
युद्धको प्रत्येक प्रहार, आफ्नै भविष्यमाथि चोट हो।
तिमी भन्न सक्छौ,
यो शान्ति खोज्ने बेताल युद्ध हो,
तर शान्ति कहिले बारुदमा पाइन्छ र?
त्यहाँ त केवल बालकको रोदन,
आमाको डाक, बाबुको थुप्रिएको पसिना—
यी सबै युद्धको मूल्य बन्न जान्छ।
हे मानव!
युद्ध त तिम्रो आफ्नै भयसँगको युद्ध हो,
लोभसँगको युद्ध हो,
शक्ति र अहंकारसँगको युद्ध हो,
अनि जबसम्म तिमी यो युद्ध हार्दैनौ,
शान्ति तिमी कहिले पाउँदैनौ।
विनाशको खरानीबाट उठेका फूलहरू
हाम्रो चेतनामा फक्रिनुपर्छ,
असली युद्ध भनेको बाहिर हैन,
आफ्नै लोभ र हिंसाको बीजसँग हो,
शान्ति भनेको युद्धको विजय नभई,
आत्मा र करुणाको विजय हो।
आउनुहोस्,
हामी युद्धको कथा होइन,
शान्तिको सन्देश लेखौं,
बारुदको धुवाँ होइन,
करुणाका हरित पातहरू फिजाऔं।
हामीले बनाउनु पर्ने राष्ट्र,
बमबाट होइन,
प्रेम र सहकार्यका स्तम्भबाट बनोस्,
त्यसैले, युद्धको प्रत्येक विस्फोटपछि पनि
आत्मा शान्त र निर्मल रहोस्,
जसरी बिहानको घामले अन्धकार हटाउँछ।
प्रतिक्रिया