logo
  • २०८३ बैशाख १६ | Wed, 29 Apr 2026
  • कथाः अँधेरी खोलाको पारि

    कथाः अँधेरी खोलाको पारि

    कथाः अँधेरी खोलाको पारि

    तोमनाथ उप्रेती

    तामाकोशी गर्जिरहेको थियो। उसका छालहरू थर्कमान थिए, गगनको रिसले।
    शैलुङ डाँडाहरू कति दिन चुप बसून त? आज उनीहरू पनि थरथराइरहेका थिए—बादलको गर्जनसँगै तालमा नाचेझैँ।
    धरतीमाथि आकाश खनिएको थियो, अनि मान्छेहरू एक–एक गरेर आकाश र पानीको डरले झोलुङ्गे पुलको बाँकी टुक्राहरूमा लटरम्म झुन्डिरहे।

    यो दृश्य थियो—दोरम्बा शैलुङ गाउँपालिका–२, अँधेरी खोला पारिको टुप्लोमा रहेको ढोइगाउँको।

    रत्नबहादुर थापा मगर, ५८ वर्षे गाउँका शिक्षक, लामो समयदेखि दोरम्बा शैलुङको इतिहास बोकेका एक जीवित दस्तावेज जस्तै थिए। उनका सेता कपाल, खैरो र थोत्रो छाला, र झोलिएको काँधले समयको साक्षी दिएका थिए। भर्खरै खोलाबाट फर्किँदै गर्दा, झोलुङ्गे पुलको बीच भागमा उनको पुरानो चप्पल एउटा तिब्र छालसँगै बग्यो—तर त्यो चप्पलसँगै बगेको थियो उनको धैर्य पनि।

    खोलातिर हेरेर उनले हल्का स्वरमा बडबडाए—
    “बर्खा अब सकियो कि अझै बाँकी छ?”

    तर त्यो प्रश्न मौसमलाई भन्दा पनि शासनलाई थियो—जुन एक वर्षदेखि डिपिआरको आश्वासन बाँड्दै बसेको छ, तर न पुल बनायो, न गाउँलेलाई सुरक्षित बनायो।

    उनको छेउमै थिई सिया—१४ वर्षे नातिनी, कक्षा ८ की विद्यार्थी।
    सियाको अनुहारमा खोलाको छायाँ परेको थियो, आँखा थोरै थकित। तीन दिनसम्म मन्थलीमै रोकिएकी उनी, पुराना किताब र भिजेको झोलासँग गाउँ फर्किएकी थिई।

    “बाजे,” सियाले भनिन्,
    “अब हरेकपल्ट यस्तो तर्नुपर्ने हो भने त म विद्यालय जानै छोडिदिन्छु होला।”

    रत्नबहादुरको मुटु त्यस वाक्यले चसक्क चिरियो। उनी शिक्षक थिए—पढाउने, सपनाहरू देखाउने, उज्यालो बाटो देखाउने जिम्मेवारी बोकेका। तर अब आफ्नै नातिनी शिक्षाबाट टाढिन खोज्दै थिई।

    गहिरो सास फेर्दै उनले सियाको काँधमा हात राखे।
    “हामी फेरि तर्छौँ, सिया,” उनले भने,
    “तर यसपटक खोला होइन, व्यवस्था तर्नुपर्छ।”

    गत भदौ। बिहानको चार बजे। गाउँ गहिरो निद्रामा थियो।
    अँधेरी खोलाले आफ्नो आक्रोश फिँजाएर पक्की पुल बगायो—उही पुल जसले मन्थली र दोरम्बा शैलुङलाई वर्षौंदेखि जोडेको थियो।

    ७० वर्षीया झपेनी आमा ढाडमा घुंघुराजस्तो गुन्यू बोकेर भन्थिन्—
    “पक्की पुलको सपना त देख्यौं, तर उसको मृत्यु पनि देख्नुपर्ला भनेर सोचेकै थिइनँ।”

    उनको स्वरमा पुलको भत्किएको पिलरझैँ कम्पन थियो।
    “पहिले खोलाले मात्र चप्पल लैजान्थ्यो, अब त सपना पनि बगाइहाल्छ!”

    पुल बग्दा केवल फलाम र सिमेन्ट मात्र हराएन।
    गाउँको अभिलाषा बग्यो। स्कुल जान खोज्ने नानीहरूको बाटो हरायो।
    आमाको पेट बोकेर अस्पताल जान खोज्ने एउटी सुत्केरी खोलाकै छालसँग गुम भइन्।

    एक वर्ष बित्यो। न नयाँ पुल बन्यो, न झोलुङ्गे मर्मत।
    झपेनी आमा भन्थिन्—
    “अब त गाउँलेहरू पुलभन्दा नेता आउँदा बढी डराउँछन्। आउँदा आशा दिन्छन्, फर्किँदा हड्डी चुस्छन्।”

    सिया र दिलबहादुरको कथा पनि पुलसँगै टुट्यो।
    उनीहरूको भेट त्यही पक्की पुलमै हुन्थ्यो।
    अब खोलाले त्यो बाटो खस्यो, प्रेम पनि जोखिममा पर्‍यो।

    सिया स्कुल जान झोलुङ्गे तार समाउँदा दिलबहादुर टाढैबाट कराउँथे—
    “तिमी हिँड्न सक्दैनौ आज!”
    सिया आँखा भरिएर भन्थिन्—
    “के हरेकपल्ट म जोखिम रोजूँ? पुल छैन, प्रेम पनि छैन भने बाँच्नको अर्थ के?”

    त्यो प्रश्न केवल प्रेमीलाई होइन—राजनीति, समाज र शासनलाई गरिएको व्यंग्य थियो।

    गाउँपालिकाका अध्यक्षले रेडियोमा गर्जिए—
    “डिपिआर तयार भइसकेको छ, बजेट प्रक्रिया अघि बढिरहेको छ।”

    गाउँका रेडियो सञ्चालक मोहन घिसिङ माइक समाएर हाँस्दै बोले—
    “यो देशमा खोलोभन्दा खतरनाक त नेता बनेको छ! फोनमा सिंगापुर बनाउँछन्, तर खोला तर्न डोरी पनि छैन।”

    गाउँका वृद्धहरू खीसो हाँस्थे।
    “राजनीतिक हावा पुल बन्ने हो भने हामीले कहिल्यै खोला नत्रनुपर्ला।”

    एक रात।
    तामाकोशी फेरि गर्ज्यो।
    शैलुङ डाँडाहरू बादलको घेराभित्र हराए।

    रत्नबहादुर घाटीमा उभिए—सिया अझै स्कुलबाट फर्किएकी थिइनन्।
    अचानक कसैले चिच्यायो—
    “तपाईंकी नातिनी पानीमा छ!”

    खोलाको ओरालोतिर, भाँचिएको तारमा अल्झिएकी थिई—सिया।
    कपडा रुँगीसकेको, हात तारमा फितलो अंश समातेको।

    “सिया, म आइसकें!”
    यो आवाज थियो दिलबहादुरको।
    उसले खोलातिर हाम फाल्यो।

    पानी बल्झिरहेको थियो, तर उसलाई परीक्षा जस्तो लाग्यो।
    उसले सियाको हात समात्यो।
    “समात, म छु!”

    गाउँलेहरूले टर्च, बाँस, डोरी लिएर पुलतिर धाए।
    त्रास, प्रार्थना, आँसु—सबै एउटै स्वरमा मिसिए।
    अन्ततः, सिया र दिलबहादुर दुवै तटमा तानिए।

    रत्नबहादुरको आँखाबाट आँसु बग्यो।
    “यो केवल खोलो पार गरेको होइन, जीवनको सबभन्दा ठूलो परीक्षा पार गरिएको हो,” उनले भने।

    भोलिपल्ट गाउँमा ठूलो बैठक बस्यो।
    मोहनले रेडियोमा घोषणा गरे—
    “सरकार नआए पनि पुल गाउँ आफैं बनाउनेछ।”

    त्यसै वर्ष, गाउँलेहरूको श्रमदानले अस्थायी पक्की पुल निर्माण भयो।
    उद्घाटनको दिन, सियाले आफ्नो रातो रिबन निकालिन्—उनीसँगै सधैं रहने साहसको प्रतीक।
    त्यो रिबन उनले पुलको बीचमा बाँधिन्, र त्यसैलाई काटेर पुलको यात्रा शुरू गरिन्।

    गाउँ रोयो—तर त्यो आँसु कमजोरी होइन, उत्सव थियो।
    तामाकोशीको आवाज अब क्रोध होइन, गुनासोझैँ सुनिन्थ्यो।
    शैलुङ अझै बादलसँग नाच्थ्यो—तर अब उत्सवको लयमा।

    समय बित्यो।
    सिया र दिलबहादुर फेरि मन्थली हिँड्न थाले—किताब, झोला, मुस्कान बोकेर।
    रत्नबहादुर अब बिदा प्राप्त शिक्षक, कहिलेकाहीँ पुलमुनि चिया पिउँदै खोलाको आवाज सुन्थे।

    तर एक साँझ—चिसो बतासमा त्यो रातो रिबन हरायो।
    कसैले देखेन—कसरी वा किन।

    सिया स्कूलबाट फर्केर पुलको छेउमा उभिइन्।
    “हावा पनि सम्झन्छ कि इतिहास?” उनले बडबडाइन्।

    त्यो क्षण, पुलमुनि उनको आँखा पर्यो—
    पानीको छालसँगै हराउँदै गएको सानो आकृति।
    रिबन? एक हात? एउटा संकेत?

    उनको मनमा अनौठो शंका पलायो—
    के त्यो रिबन खोलाले फिर्ता मागेको हो?
    के तामाकोशीको गुनासो अझै बाँकी छ?

    पुल बनेको थियो।
    गाउँ बाँच्न थालेको थियो।
    तर खोलाको गर्जनभित्र अझै एउटा रहस्य लुकेको थियो—
    कसैले अझै नबोलेको, नबुझेको—
    एक पानीभित्रको कथा।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन ७, मंगलवार २०:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP