logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • नेतृत्वमा नैतिकता र इमान्दारी लोकतन्त्रको आधारशिला                                                                                    

    नेतृत्वमा नैतिकता र इमान्दारी लोकतन्त्रको आधारशिला                                                                                     

    नेतृत्वमा नैतिकता र इमान्दारी लोकतन्त्रको आधारशिला               

                                                                        

                                                                         तोमनाथ उप्रेती

    नेतृत्वमा नैतिकता र इमान्दारी लोकतन्त्रको आधारशिला हुन्, जसबिना कुनै पनि शासन प्रणाली दिगो र सशक्त हुन सक्दैन। लोकतन्त्र भनेको मात्र मतदान र बहुमतको नाम होइन, यो जनताको अधिकार र स्वाभिमानको रक्षा गर्ने, पारदर्शिता र जवाफदेहिताको शासन हो। नैतिक नेतृत्वले मात्र जनताको विश्वास जित्न सक्छ र शासन प्रणालीलाई प्रभावकारी बनाउन सक्छ। नेताले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज र राष्ट्रको हितलाई प्राथमिकता दिनुपर्छ। इमान्दार नेताले गल्ती स्वीकार्न र सुधारको बाटो अपनाउन सक्ने हुनुपर्छ, जसले सामाजिक न्याय र समानताको सुनिश्चितता गर्छ।

    नेतृत्वमा नैतिकताको अभावले भ्रष्टाचार, द्वन्द्व र अविश्वासलाई जन्म दिन्छ, जसले लोकतन्त्रको मूलभूत उद्देश्यलाई खण्डित गर्छ। जब नेताहरू पारदर्शी र इमान्दार हुन्छन्, तब मात्र नीति निर्माण र कार्यान्वयनमा न्याय र निष्पक्षता सम्भव हुन्छ। नैतिक नेतृत्वले कर्मचारी, नागरिक र संस्थाहरूबीच विश्वासको पुल निर्माण गर्छ, जसले शासनको गुणस्तर र स्थायित्वमा सकारात्मक प्रभाव पार्दछ। इमान्दारीपूर्ण नेताले अनुयायीहरूलाई नैतिक मूल्य र जिम्मेवारीप्रति जागरुक बनाउँछन्, जसले समग्र सामाजिक संरचनालाई बलियो बनाउँछ।

    पछिल्ला केही दशकहरूमा नेपालको राजनीतिक परिदृश्यमा देखिएको विचलनले लोकतान्त्रिक मूल्य र संस्थाहरूलाई गम्भीर क्षति पुर्याएको छ। भ्रष्टाचार, दलगत पूर्वाग्रह, सत्ताको दुरुपयोग र नीतिगत अनिश्चयताले शासनप्रणालीको आत्मामा नै विकृति ल्याएको छ। जनअपेक्षाको अवमूल्यन र जनप्रतिनिधिहरूको अवसरवादिताले आम नागरिकमा वितृष्णा, निराशा र उदासीनता उत्पन्न गरेको छ। लोकतन्त्रको सार त जनतामाझको भरोसा हो— जब सो भरोसा हराउँछ, तब प्रणाली मात्र होइन, राष्ट्रको समग्र विकास यात्रा नै संकटमा पर्छ। यस सन्दर्भमा राजनीतिक सुधार केवल सत्ताको पुनर्संरचना नभई मूल्य, आचरण र दृष्टिकोणको रूपान्तरण हो।

    आजको जटिल राजनीतिक परिवेशमा जहाँ स्वार्थ र सत्ता लालचले राजनीति विकृत भएको छ, त्यहाँ नैतिक नेतृत्वको भूमिका अझ बढी महत्वपूर्ण छ। इमान्दारी र नैतिकताले मात्र नेतृत्वलाई जनतासम्म प्रभावकारी रुपमा पुर्‍याउन सक्छ र लोकतन्त्रलाई दिगो बनाउन सक्छ। त्यसैले, नेपालको लोकतान्त्रिक यात्रामा सफल र स्थायी शासन स्थापित गर्न नैतिकता र इमान्दारीसहितको नेतृत्व अपरिहार्य छ। यस्तो नेतृत्वले मात्र लोकतन्त्रलाई बलियो आधारमा उभ्याएर समृद्धि र शान्तिपूर्ण विकासको मार्ग प्रशस्त गर्न सक्छ।

    राजनीतिक प्रणालीको विश्वसनीयता, उत्तरदायित्व र प्रभावकारिताको सार थालनी हुन्छ सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको दृढ अभ्यासबाट। राजनीतिक दलहरू भित्र आन्तरिक लोकतन्त्रको संस्थागत विकास, नेतृत्व छनोटमा योग्यता र निष्ठाको कडाइका मापदण्ड, र नीतिगत निर्णयमा जनसंलग्नताको सुनिश्चितता अपरिहार्य आधार हुन्। चुनावी प्रक्रियाको पारदर्शिता, दलहरूको वित्तीय शुद्धता र निर्वाचन आयोगको स्वतन्त्रता अभिव्यक्तिले मात्र जनमतको सार्थकता निख्रिन सक्छ; नत्र जनताको मतदान अधिकार निष्प्रभावी बन्न पुग्छ। भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी संयन्त्रहरू पर्याप्त हुँदैनन्— नैतिक संस्कार, सामाजिक सदाचार र आत्मसंयमको विकास अपरिहार्य हुन्छ। जब नेतृत्वले सेवा र समर्पणलाई राजनीति को परम तत्व ठान्छ, तब मात्र जनताको अपेक्षा र चुनौतीलाई रूपान्तरण गर्ने सशक्त संभावना जागृत हुन्छ। राजनीतिक सुधार अन्ततः नेतृत्वको आत्मावलोकन र नागरिकको सक्रिय सहभागीता बिना असम्भव छ— जहाँ शासनमाथि जनताले निरीक्षण मात्र होइन, सशक्त मार्गनिर्देशन गर्ने अधिकार एवं कर्तव्य ग्रहण गर्छन्।

    राजनीतिक प्रणालीको प्रभावकारिता तब मात्र पूर्ण हुन्छ जब त्यो समाजका सबै वर्गहरूलाई समान रूपले समेट्न र प्रतिनिधित्व दिन सक्षम हुन्छ। समावेशी लोकतन्त्रको मर्म कुनै अलंकार मात्र होइन, संरचनात्मक, कानुनी र सांस्कृतिक आयामहरूमा संस्थागत हुनुपर्ने वास्तविकता हो। महिलाहरू, आदिवासी–जनजाति, दलित, मुस्लिम, मधेसी, अपाङ्गता भएका व्यक्तिहरू जस्ता परिधिमा परेका वर्गहरूलाई सत्ता-शक्तिमा उचित र न्यायसंगत सहभागिता नदिइसक्दा लोकतन्त्र अपूर्ण र अधुरो रहन्छ। समावेशिताको अभ्यासमा आरक्षण, समानुपातिक प्रतिनिधित्व, सामाजिक सशक्तिकरण र नीतिगत समावेशिता अभिन्न आवश्यक तत्वहरू हुन्।

    राजनीतिक साक्षरता अभावले जनतामा उदासीनता, अविश्वास र निष्क्रियताको वृत्ति विकास गराउँछ। जब जनता राजनीतिक प्रणालीलाई बुझ्न असमर्थ हुन्छन्, तब उनीहरू सजिलै भ्रान्त नेतृत्वको शिकार हुन पुग्छन्। यसकारण राजनीतिक शिक्षा विद्यालयदेखि विश्वविद्यालयसम्म अनिवार्य र प्रभावकारी रूपमा समावेश गर्न आवश्यक छ। साथै राज्यले सञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक कार्यक्रमहरू मार्फत व्यापक राजनीतिक चेतना अभिवृद्धि गर्ने रणनीति अपनाउनैपर्छ।

    नेतृत्व विकास भनेको केवल पदाधिकारी छनोट मात्र होइन, गहिरो उत्तरदायित्व र लोकसेवा प्रतिको प्रतिबद्धताको संवर्धन हो। एक सशक्त नेतामा उच्च नैतिक मूल्य, दूरदर्शिता, निर्णायक क्षमता र लोकप्रेमको समृद्ध संगम हुन्छ। यस्ता गुणहरूको विकासका लागि पार्टीभित्र आन्तरिक प्रशिक्षण, मूल्य–आधारित छनोट र सार्वजनिक उत्तरदायित्व अभ्यासहरू संस्थागत हुनुपर्छ। नेतृत्व विहीन व्यवस्थामा संगठनात्मक लक्ष्यहरू दिशा विहीन यात्राका समान हुन्छन्। त्यसैले प्रत्येक व्यवस्थापक, नीति निर्माता र प्रतिनिधिले प्रेरणादायी, दक्ष र सेवा समर्पित नेतृत्व गर्ने प्रतिबद्धता लिनुपर्छ— जसले जनताको मन जित्छ र राष्ट्रको उज्ज्वल भविष्य रच्न सक्नेछ।

    कुशल नेतृत्व व्यक्तित्वको उच्चतम सम्मिश्रण हो, जहाँ मानसिक स्थिरता, शारीरिक स्वास्थ्य र भावनात्मक सुदृढता अनिवार्य हुन्छ। एक सक्षम नेतामा शान्तचित्तता, स्पष्ट अभिव्यक्ति र उचित आचरणको सुसंगत समन्वय हुन्छ, जसले वातावरणमा उत्पन्न चुनौतीहरूलाई धैर्य, संयम र विवेकका साथ सामना गर्न सक्छ। आजको जटिल र तीव्र गतिमा परिवर्तनशील सामाजिक–व्यावसायिक परिवेशमा नेतृत्वले शीघ्र, दृढ र दूरदर्शी निर्णय लिन सक्नुपर्दछ। यसका लागि कल्पनाशक्ति, सिर्जनात्मकता, आत्मविश्वास, साहस, लोचदार सोच र नीतिगत लचकता अपरिहार्य हुन्छ। यस्तो नेतृत्वले परिवर्तनशील परिस्थितिहरूमा समेत आफू र आफ्नो टिमलाई स्थिर राखेर लक्ष्यप्रति अडिग रहन सक्छ।

    नेतृत्वमा जिम्मेवारी र विश्वासको अतुलनीय महत्व हुन्छ। एक दक्ष नेताले मात्र आफ्नो निर्णयहरूको जिम्मेवारी बहन गर्दैन, आफ्ना अनुयायीहरूका क्रियाकलापहरूको परिणामप्रति पनि उत्तरदायी हुन्छ। यसले अनुयायीहरूमा विश्वास, समर्पण र प्रतिबद्धता उत्पन्न गर्छ। चरित्रवान नेतृत्वले अनुयायीहरूलाई अनुकरणीय मार्गदर्शन दिन सक्छ। स्वच्छ आचरण, उच्च नैतिकता, इमानदारी र शिष्टता नेतृत्वका आधारभूत स्तम्भ हुन्, जसले संगठनमा पारदर्शिता र सहकार्यको वातावरण सृजना गर्छ। नेतृत्व एकल यात्रा होइन, सामाजिक सहकार्य र सामूहिक प्रयास हो। सफल नेताले आफूलाई मात्र होइन, अनुयायीहरूका भावना, विचार र आवश्यकतालाई बुझेर तिनीहरूलाई समेत प्रेरित र समर्पित बनाउन सक्ने कलामा निपूर्ण हुनुपर्छ। जोखिम लिन सक्ने साहस, लोचदार सोच र छिटो निर्णय गर्ने क्षमता भएका नेताहरू आजको तीव्र प्रतिस्पर्धात्मक विश्वमा विजयी बन्नेछन्। नेतृत्वमा आत्मबल, सामाजिक संवेदनशीलता र जिम्मेवारीको अभिन्न सङ्गमले मात्र सच्चा सफलता हासिल गर्न सकिन्छ।Bottom of Form

    समाज र नेतृत्वको जन्मका बीचमा परिपुरक सम्बन्ध रहेको हुन्छ । समाज जस्तो छ, त्यस्तै किसिमको नेतृत्व हामीले पाउने हो । हामी कस्ता छौं, हामो समाज कस्तो छ त्यही अनुसारको नेता हामीले पाउने हो । नेतृत्वले तीन तरिकाबाट जन्मन्छ । एउटा हो जन्मदैको अविछिन्न गुण र अद्वितीय शक्ति । केही मानिसहरु जन्मँदै यस्तो विलक्षण गुणले सजिएका हुन्छन्, उनीहरुमा आत्मिक रुपमा यस्तो गुण समायोजित भएर आएको हुन्छ । ब्यक्तित्व, बोली र ब्यवहारले अरुलाई सम्मोहित पार्न सक्दछन । अर्को हुन्छ– करिश्मा । करिश्मा मेहनत र परिश्रमबाट बनेको हुन्छ । मान्छे हेर्दा नराम्रो, लुरे, दुर्बल हुनसक्छ । तर, उसले धेरैलाई तरंगित बनाउन सक्दछ । जस्तैः महात्मा गान्धी, अब्राहम् लिंकन आदिलाई यस श्रेणीमा राख्न सकिन्छ । तेस्रो हो– कानूनी वैधानिकता । नेतृत्वको स्रोत पनि कानूनी वैधानिकता नै हो । तर, कानूनी वैधानिकताले मात्र माथिका दुईवटा गुणको अभाव भएको ब्यक्ति वास्तविक नेता बन्न सक्दैन । अहिले वास्तविक नेता जन्मन नसकेको मुख्य कारण पनि कानूनी वैधानिकताबाट मात्र नेता जन्मन्छ भन्ने चिन्तन नै हो । नेपालमा राजनीतिमा लागेका नेताहरुको समस्याहरू समयसँगै गम्भीर बन्दै गएका छन्। एक समयमा राजनीति समाजसेवा र जनताको कल्याणको मार्ग थियो, तर अहिले यसलाई प्रायः व्यक्तिगत लाभ र स्वार्थको एउटा साधनका रूपमा हेरिन्छ। नेपालका धेरै नेताहरू अहिले लगानीकर्तामा परिणत भएका छन्। उनीहरूले विभिन्न व्यावासिक क्षेत्रमा, जस्तै होटल, ट्राभल एजेन्सी, अस्पताल, विद्यालय, उद्योग, हाइड्रोपावर, बैंक र ठूला सहकारीहरूको संचालन गर्दै छन्। यसबाट स्पष्ट हुन्छ कि राजनीति अब एउटा व्यापारको रुप लिइसकेको छ र यसले नेपालको राजनीतिक परिपाटीलाई दुषित बनाउने खतरा पैदा गरेको छ।

    नेपालका नेताहरूमा पारदर्शिता र उत्तरदायित्वको अभाव छ। राजनीतिक शक्ति र पदवी हासिल गर्ने मुख्य उद्देश्य व्यक्तिगत लाभ मात्र रहन थालेको छ। यस कारण, सार्वजनिक सेवा र जनताको हितका लागि गरिएका निर्णयहरू प्रायः निजी स्वार्थसँग जोडिएका हुन्छन्। यसले राजनीतिलाई विश्वसनीय र प्रभावकारी बनाउन कठिन बनाएको छ। विशेष गरी, नेताले नीति निर्माण गर्दा आफूलाई र आफ्ना समर्थकहरूको आर्थिक फाइदा विचार गर्ने प्रवृत्ति देखिन्छ, जसले राजनीतिक प्रणालीलाई कमजोर बनाउँछ।

    नेपालको वर्तमान राजनीतिक परिवेशमा देखिएको सबैभन्दा गम्भीर चुनौती भनेको राजनीति गर्ने उद्देश्यको विकृति हो। जहाँ राजनीति मूलतः त्याग, बलिदान र जनसेवाको माध्यम हुनुपर्ने थियो, त्यहाँ आज त्यो मान्यताको अभाव देखिन्छ। राजनीति लाभ र स्वार्थको खेलमा परिणत भइसकेको छ, जसले जनतालाई साँचो सेवाप्रति विश्वास गुमाउन बाध्य बनाएको छ। नेताहरू पदवी र राजनीतिक शक्ति प्राप्तिका लागि प्रतिस्पर्धामा लागेका छन्, तर त्यो प्रतिस्पर्धा राष्ट्रिय हितको लागि नभएर व्यक्तिगत स्वार्थ र भ्रष्टाचारको विस्तारका लागि सीमित भएको छ। यस्तो परिस्थिति लोकतन्त्रको आधारभूत विश्वासलाई क्षति पुर्‍याउँछ र जनतामा राजनीतिक असन्तुष्टि र वितृष्णा सिर्जना गर्छ।

    नेतृत्वको मूल्यांकन त्याग र समर्पणमा मात्र सीमित हुनु हुँदैन। २१औं शताब्दीमा नेतृत्वको सफलता ति निर्णयहरूमा निहित छ जसले दीर्घकालीन रुपमा समाज र राष्ट्रलाई समृद्धि र स्थायित्व प्रदान गर्छ। नेतृत्वको वास्तविकता भनेको आफ्नो स्वार्थलाई पछाडि राखेर, सार्वजनिक हितलाई प्राथमिकता दिनु हो। एक सक्षम नेता त्यो हो जसले व्यक्तिगत लाभको साटो समग्र जनताको जीवनस्तर सुधार्ने कार्यमा केन्द्रित रहन्छ। यस्तो नेतृत्वले मात्र राजनीतिक प्रक्रियालाई पारदर्शी, जवाफदेही र विश्वासयोग्य बनाउन सक्छ। नेपालमा लोकतन्त्र र नेतृत्वको पुनरुत्थान तब मात्र सम्भव छ जब नेताहरू आफ्ना स्वार्थलाई त्यागेर देश र जनताको स्थायी हितमा काम गर्ने प्रतिबद्धता जनाउनेछन्। यो राजनीतिक संस्कृतिमा गहिरो परिवर्तन र मूल्यपरिवर्तनको आवश्यक्ता हो, जसले लोकतन्त्रलाई पुनः जीवन्त, न्यायसंगत र समावेशी बनाउनेछ। यसरी मात्र नेपाली जनता राजनीति र नेतृत्वप्रति पुनः विश्वास स्थापित गर्न सक्षम हुनेछन्।

    नेपालको राजनीतिक परिदृश्यमा यथार्थ सुधारको अपेक्षा राख्न अब नयाँ नेतृत्वदृष्टि र जिम्मेवारीपूर्ण व्यवहार अनिवार्य भइसकेको छ। वर्तमान युगको आवश्यकताअनुसार नेताहरूले राजनीतिलाई व्यक्तिगत लाभको माध्यम नभई सामाजिक सेवा र राष्ट्र निर्माणको प्रमुख साधनको रूपमा ग्रहण गर्नुपर्नेछ। जबसम्म नेताहरू नैतिकता र इमान्दारीको उच्च मानकलाई आत्मसात् गरी, जनताको लागि समर्पित भावनाले राजनीति गर्दै अगाडि बढ्दैनन्, तबसम्म विश्वासको पुनःस्थापना र पद्धतिको दिगो सुधार सम्भव छैन। पारदर्शिता र जवाफदेहिताको अभावमा लोकतन्त्र केवल रूपात्मक हुने खतरा रहन्छ। त्यसैले पारदर्शी शासन प्रणाली विकास गरी सबै तहमा नागरिक सहभागिता सुनिश्चित गर्नु अत्यावश्यक छ, जसले हरेक स्तरमा जनउत्तरदायित्वको भावना जागृत गर्छ।

    सुधारको अर्थ नीति र कार्यक्रममा मात्र परिवर्तन होइन, व्यवहार, सोच र संस्थागत संस्कारमा रुपान्तरण ल्याउनु हो। यस्तो रुपान्तरणले मात्र न्याय, समानता र कानुनी शासनको अवधारणालाई सशक्त बनाउँदै स्थिर, समावेशी र जनमुखी लोकतन्त्रको आधार तयार पार्न सकिन्छ। नेतृत्वले आफूसँगै सम्पूर्ण सामाजिक संरचना र राजनीतिक पद्धतिमा नैतिकता र उत्तरदायित्वको संस्कार प्रवाह गर्नुपर्छ। यसरी मात्र नेपालले भ्रष्टाचार र स्वार्थपरक राजनीति जस्ता विकृतिहरूलाई अन्त्य गरी विकास, समृद्धि र सामाजिक मेलमिलापको मार्ग प्रशस्त गर्न सक्छ। राजनीतिक सुधारलाई गहिरो दायित्व र राष्ट्रिय भावना बनाएर अघि बढाउँदा मात्रै नेपालमा नागरिकको विश्वास पुनर्जीवित हुने र लोकतन्त्रले जनताको साँचो आकांक्षा पूरा गर्ने सम्भावना बलियो हुनेछ। यहीँबाट हाम्रो लोकतन्त्र सशक्त, स्थिर र दीगो भविष्यतर्फ अग्रसर हुनेछ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ९, सोमबार १७:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP