नैतिकता बिना विकासको विनाश( व्यङग्य निवन्ध)
तोमनाथ उप्रेती
उपसचिव,नेपाल सरकार
नेपालको समकालीन परिवेशमा ‘पूर्वीय दर्शन’को गुरुत्वाकर्षण गुमाएर, उद्घाटनको उन्मादमा उज्यालोको उपहास भएको छ। पूर्वीय दर्शनको कर्म र नैतिकता भन्ने अमृतवाणी, अहिले हामीकहाँ असारे बजेट बगाउने बेलुनबाजीकै बन्धक बनेको छ।
एकातिर योग, ध्यान, साधना र स्वाध्यायको शब्दगान बजाइन्छ, अर्कातिर योजनाको नाममा योजनाकारका फोटो सजाएर “ब्यानर–बत्ती–ब्यान्क्वेट” भोगवादको बाहनामा बजेटको बर्बादी गरिन्छ। पूर्वीय दर्शनले भनेको असल कर्म र आत्मानुशासन हो, तर हाम्रो कर्म कर्मकै ‘कमेडी’ बनिरहेको छ। हामी असारे झरी कुर्दै पिच पल्टाउँछौं, खोलो नभएको ठाउँमा पुल बनाउँछौं, उद्घाटनको उत्सवको लागि मञ्चमा मुस्कान छर्दै खर्चको आत्मघाती ताण्डव गर्छौं। तर पछि साउनको झरीले पिच पखालेको दोष वर्षालाई लगाउँछौं।
पूर्वीय दर्शनले भनेको थियो, “कर्म गर, फलको चिन्ता नगर।” तर अहिले हामी ‘फलको तलब खोज्ने, कर्म छाड्ने र दलको फोटोसुट गर्ने’ साधनवादी संस्कार बोकेर हिंडिरहेका छौं। नैतिकता भनेको सत्कर्मको अभिन्न हिस्सा हो, तर आज यो भाषण र मञ्चमा सीमित छ। कर्मचारीले नागरिकलाई हेर्दा सेवाग्राही होइन, “कष्टाग्राही” देख्छ, नेताले जनतालाई मतको भाँडो देख्छ, अनि विकासको नाममा गुणस्तरहीन योजनालाई उद्घाटनको रिबनमा बेरेर बजेट सकिन्छ। यो प्रवृत्ति पूर्वीय दर्शनको धर्म, संयम, सहिष्णुता र आत्मगौरवका मूल्यहरूप्रति गरिएको खुला उपहास हो।
हामीकहाँ कर्मको मतलब “कागजमा योजना बनाउने र अनुदान खाने” बन्न गएको छ, र नैतिकताको मतलब “दूस्कर्मको पर्दा ओढ्ने” प्रवृत्ति भएको छ। पूर्वीय दर्शनले मानिसलाई मोक्ष र आत्मज्ञानको बाटो देखाएको हो, तर हामी राजनीतिक कर्मकाण्ड र शक्तिको आडमा स्वार्थ, लोभ र पदको नशामा चुर भएर “लोकतन्त्रको नाममा दलतन्त्र” को उत्सव गरिरहेका छौं। पूर्वीय दर्शनले हामीलाई अरुलाई सम्मान गर्न, सहकार्य र सद्भाव कायम गर्न, सार्वजनिक सेवामा निष्ठा र पारदर्शिता राख्न सिकाउँछ। तर यहाँ सार्वजनिक पदमा बसेका मानिसहरूले नै पदको घमण्डमा नागरिकलाई अपमान गर्दै आफ्नो निजी स्वार्थको संरक्षण गर्छन्। पूर्वीय दर्शनले काम, क्रोध, लोभ, मोह र अहंकारलाई त्याग्न भनेको हो, तर हामीले यी सबैलाई ‘गुण’ मानेर विकासको बहानामा दुर्व्यवहारलाई प्रश्रय दिइरहेका छौं। हामीले असल कर्म गर्ने हो भने मात्र विकासले नागरिकको जीवनमा वास्तविक परिवर्तन ल्याउँछ। असल कर्म भनेको असारे बजेट सक्ने होइन, दिगो विकास गर्ने हो। नैतिकता भनेको भाषणको कुरा होइन, आचरणको विषय हो। तर हाम्रो नेतागण उद्घाटनको लागि मात्रै नैतिकताको नाम लिन्छन् र बजेट सक्नासाथ नैतिकता पनि बिर्सन्छन्। पूर्वीय दर्शनले दिएको कर्म र नैतिकताको सन्देशलाई व्यवहारमा उतारेर मात्रै हामीले भ्रष्टाचार, अनियमितता र दलगत स्वार्थको दलदलबाट बाहिर निस्कन सक्छौं। नत्र, हाम्रो ‘असारे विकास’ र ‘उद्घाटनको उन्माद’ले मुलुकलाई पछाडि तानिरहनेछ, र हामी नाचिरहेका हुनेछौं – बजेट सकिएको भ्रममा समृद्धि नपुग्दा पनि आत्मसन्तुष्ट भएर।
पूर्वीय दर्शनको सार नै कर्म र नैतिकताको अन्तर्मिलनमा आधारित अमूल्य अमृतबिन्दु हो, जसले राष्ट्र निर्माणको रक्तनालीमा नैतिकताको नयाँ नाडी भरिदिन्छ, सार्वजनिक प्रशासनमा पारदर्शिताको उज्यालो उजागर गर्छ, सामाजिक न्यायको सुदृढ स्तम्भ स्थापना गर्छ, र दिगो समृद्धिको साँगुरो बाटोलाई फराकिलो राजमार्गमा परिणत गर्छ। यसले हाम्रो ‘स्वार्थी सोच’ को साँढेभUTEलाई वशमा पार्दै, मानिसभित्र लुकेको लोभ, मोह, अहंकार र ईर्ष्याको ऐँठनलाई तोडेर मानवता, भ्रातृत्व, दायित्व र कर्तव्यका जीवन्त मूल्यहरूलाई आत्मसात गर्न सिकाउँछ। पूर्वीय दर्शनको यही गहिरो गूढता नै राष्ट्र जीवनको आत्मा हो, जसले व्यक्तिलाई मात्र होइन, परिवार, समाज र राष्ट्रलाई नैतिकता र कर्मयोगको मलजलले सिँचेर सबल बनाउँछ।
तर, विडम्बना! हाम्रा गाउँदेखि राजधानीसम्मका कार्यालय, नगरपालिकाका कोठाबाट संघीय मन्त्रालयका महाशाखासम्म, नेतादेखि कर्मचारीसम्म सबै स्वार्थको सानो तालमा उद्धत उन्मादमा उफ्रिरहेका छन्, जहाँ नीतिको नाममा अनैतिकताको नौटंकी हुन्छ, सार्वजनिक हितको नाममा निजी स्वार्थको सौदाबाजी हुन्छ, असल कर्मका नाममा उद्घाटनको उपहास हुन्छ, र ‘सुशासन’ को नाममा भ्रष्टाचारको बजार चलेकै हुन्छ। “जनसेवा” को नारा बोक्ने कार्यालयहरूले जनतालाई झन्झटको जन्जिरमा बाँध्छन्, नीति र कानुनको आडमा शक्तिशालीहरूले पहुँच र पावरको खेल खेल्छन्, अनि राष्ट्र निर्माणका सपना “बजेट बाँडफाँटको बिल्लामा” अलपत्र पर्दै जान्छ। असल कर्मका नाममा “कागजका मखमली अक्षरहरू”मा लेखिएका नीति र प्रतिबद्धता, व्यवहारमा भने शून्यतामा विलीन हुन्छन्।
पूर्वीय दर्शनले दिएको कर्म र नैतिकताको शिक्षा केवल परीक्षा वा भाषणको प्रसंगमा सम्झने कुरा होइन, व्यवहारमा उतार्ने अमृत मन्त्र हो। यदि हामीले यही अमृत मन्त्रलाई व्यवहारमा आत्मसात गर्न सक्यौं भने मात्र संविधानले परिकल्पना गरेको समृद्ध नेपाल, सुशासनयुक्त प्रशासन, सामाजिक समानता, दिगो शान्ति र राष्ट्रको दीर्घकालीन हित सुनिश्चित गर्न सक्छौं। तब मात्र नागरिकको विश्वास पुनः प्राप्त गर्न सकिन्छ, राज्यप्रतिको निष्ठा र अपनत्व बलियो बनाउन सकिन्छ, र प्रशासनमा पारदर्शिता र जवाफदेहिताको स्थायी संस्कार विकास गर्न सकिन्छ।
नत्र, हाम्रो अहिलेको यात्राले असत्य आचरण, लोभ र अनीतिको आवरणमा लुकाउँदै राखेको समृद्धिको मृगतृष्णा पछाडि दौडाइरहनेछ, उद्घाटन र तालीका तुफानबीच विकासको मौन मृत्यु भइरहनेछ, असारको झरीसँगै बजेट बगाइनेछ, अनि राष्ट्रको आत्मा करुण क्रन्दनमा विलीन भएर “कहिले समृद्धि आउला?” भन्ने प्रश्न शून्यमा घन्किरहनेछ। यति हुँदा हुँदै पनि हामीले पूर्वीय दर्शनको कर्म र नैतिकताको दीप प्रज्वलित गर्न सकेनौं भने राष्ट्रको समृद्धि भन्ने शब्द केवल भाषण, पोस्टर र उद्घाटन मञ्चका फूलमालासम्म सीमित भएर बाँकी रहनेछ। त्यसैले, अब पनि समय छ, राष्ट्र, समाज र हरेक व्यक्तिले पूर्वीय दर्शनको कर्म र नैतिकताको चेतनालाई जीवन र नेतृत्वमा उतारेर मात्र परिवर्तन सम्भव छ।
प्रतिक्रिया