श्यामसुन्दर यादव(पाथिक)
सप्तरी सदरमुकाम राजविराजदेखि करिब १६ किलोमिटर पश्चिम मानराजा गाविस हाल बोदे बरसाईन नगरपालिका वडा नम्वर–७ स्थित मा पर्दछ मानराजा गढी ।
जिल्लाको अति पुरानो एवम् ठूलो मानिएको यो करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको छ । जमिनदेखि करिब १० देखि १५ फिटको उचाइमा रहेको यस गढीमा अति पुरानो एवम् सामान्यभन्दा ठूला इँटहरूका साथै माटाका भाडावर्तनका टुक्राटुक्रीहरू भेट्टिने गरेका छन् ।

गढीदेखि ३० मिटर उत्तरतर्फ करिब दुई विगहा क्षेत्रफलमा फैलिएको ऐतिहासिक पोखरी रहेको छ । सुगा पोखरीको नामबाट परिचित यस पोखरीको पश्चिमी किनारमा १० फिट चौडाइ भएको प्राचीन इनार समेत रहेको छ । खानेपानी आयोजनाद्वारा उक्त इनारको जीर्णोद्धार गरिए पनि हालसम्म प्रयोगविहीन अवस्थामा रहेको छ ।सो ऐतिकासिक पोखरीको डिलमा अव्यवस्थित घरहरु निर्माण भएको छ।
गढीदेखि करिब ४०–५० मिटर उत्तरपूवतर्र्फ अति पूरानो ईमली (तेतैर)को रूखमुनि छतविहीन जीर्ण अवस्थाको मन्दिर रहेको छ । पश्चिमतर्फबाट प्रवेशद्वार रहेको यस मन्दिरको दुवैतर्फ आयतकार पत्थरहरूको करिब पाँच फिटको पर्खाल जस्तै ठड्याइएको छ भने ईमलीको रूखको जरानिर कालो पत्थरको टुटफुट भएका मूर्तिहरू स्थापित छन् । स्थानीयवासिन्दाहरूले यसलाई राजाजी थान भनेर पूजा–आजा गर्दैआएका छन् । यद्यपि सप्तरीका इतिहासविद् प्रा. हरिकान्तलाल दासका अनुसार राजाजीको नामले पुजित उक्त स्थानमा स्थापित मूर्ति लक्ष्मीनारायणको भएको भनी किटान गरेका छन् । ( यादव श्यामसुन्दर, सप्तरीक ऐतिहासिक मानराजागढीक परिचय पृष्ठ ५४ र ५५ वाणी मैथिली पत्रिका)
मन्दिरमा प्रतिष्ठापित मूर्तिको पादपीठ भाग टुटफुट अवस्थामा रहेको छ । मुसलमानी आक्रमणका क्रममा यहाको मूर्ति समेत आक्रमणकारी दलले तोडफोड गरेको हुनसक्छ । राजविराज स्थित राजदेवी मन्दिर र मानराजाको मूर्तिबीच समानता रहेको छ । वि.सं. २०४५ सालमा पुरातत्व विभाग काठमाडौंबाट आएको टोलीले मन्दिरको भित्री भागमा पौराणिक आयतकार इटहरू प्रयोग गरिएकोले अर्को कुनै मन्दिरको भग्नावशेष हुन सक्छ । (मानराजा गढी सम्वन्धी प्रतिवेदन विसं. २०४५ साल, पुरातत्व विभाग)

मानराजा गढी स्थलमा अहिले पनि आगोमा पकाइएको माटाको दीप, इटा, घैटो, आदि भाडावर्तनका टुक्राटुक्री बगे्रल्ती भेट्टिन्छन् ।
सलहेश लोकगाथामा यस्तो वर्णन गरिएको छ ः
दौना मालिन दक्षिणके चीर पहिरलन्हि
नैना काजर कएलन्हि, हाथमे बाक पहिरलन्हि
कपारमे टिकुली साटि लेलन्हि
चलली स्वामीके उदेश । (प्रा. हरिकान्तलाल दास) ६३ सलहेश फूलवारी सम्वन्धी लेख) यस विषयमा अर्को प्रसड्ड यस्तो रहेको छ । सिम्रौनगढका राजा हरिसिंहदेवका जेठा छोरा मानसिंहदेव थिए । उनी मानराजा क्षेत्रमा कयौं वर्षसम्म सिम्रौनगढबाट आएर यहा बसेका थिए । उनले आफ्नो ईसरा वंशको मूल देवता लक्ष्मीनारायणको मूर्ति स्थापना गरेका थिए । (ईसरा थारू वंशावली चन्द्रकान्त चौधरी, पृष्ठ ११) राजा मानसिंहकै नामबाट मानराजा ठाउँको नामाङ्करण भएको हो । समग्रमा भन्नुपर्दा यो गढी ऐतिहासिक एवम् प्राचीन रहेको कुरामा दुईमत छैन।
राजाजी स्थानको रूपमा पूजित लक्ष्मीनारायण मन्दिरको मूर्ती विसं.२०४४ सालमा मानराजा गाउँका सत्तराम पौद्दारको सक्रियतामा चोरी भएको थियो । पैसाको लोभमा उक्त मूर्ति चोरी गरी उनले भारतको लौकही हुदँै निर्मली लगेका थिए । मूर्ति चोरी गर्ने पौद्दारको भारतमै बम बनाउने क्रममा मृत्यू भयो ।त्यसपछि उक्त क्षेत्रमा हाहाकार मच्चियो । मूर्ति चोरी गराउने कार्यमा सिआइडि गर्ने व्यक्ति समेत गम्भीर रूपमा बिरामी भएपछि चोरिएको उक्त मूर्ति पुनः फिर्ता गरी सोही स्थानमै राखिदिएको स्थानीय बूढापाकाहरूको कथन छ ।
मानराजागढी स्थलमा दुर्गा, सरस्वती,महादेव र हनुमानको मन्दिर निर्माण गरिएको छ । पातो गाविस वडा नम्वर–१ स्थित पातो ड्योढीको नामबाट परिचित ईसरा थारू वंशका चन्द्रकान्त चौधरीको घरबाट ढोलपीपही सहित पूजाको डाली गएपछि मात्र मानराजामा प्रत्येक वर्ष वैशाख १ गते भव्य पूजा हुने गर्दछ भने वैशाख २ गते गढीमा ठूलो मेला लाग्ने गर्दछ । यसबाहेक एकादशी, शिवरात्री, चतुर्दशी, रामनवमी सहितका विशेष अवसरहरूमा त्यसक्षेत्रका वासिन्दाहरू पूजा–आजा गर्न जाने गर्दछन् । गाउँमा अनिष्टको सङ्केत देखिएपछि यस स्थलमा समय–समयमा अष्टयाम, यज्ञ, हवन, भजन, कीर्तन सहितका धार्मिक अनुष्ठानहरू आयोजन हुने गर्दछ । यहा प्रसादको रूपमा लड्डु, पेडा, खीर आदि चढाईन्छ ।
यहा भाकल गरेपछि पूरा हुने जनविश्वास रहदै आएको छ । चिताएको कुरा पुरा भएपछि यहा खसी, बोका, परेवा आदिको बली प्रदान समेत गरिन्छ । यसका साथै चर्मरोग (एैला) निको भएपछि भन्टाको भार चढाइन्छ ।
जिल्लाको विकट ग्रामीण क्षेत्रमा रहेका कारण यो क्षेत्र उपेक्षित रहदै आएको छ । ग्रामीण पर्यटनको प्रबल सम्भावना बोकेको मानराजा गढी क्षेत्रको उत्खनन्का साथै उचित संरक्षण सम्वद्र्धन गर्नका लागि सम्वन्धित निकायको ध्यान केन्द्रित हुनु आवश्यक छ ।
यता धार्मीक पर्यटनको प्रचुर सम्भावना बोकेको मानरनजा गढी, सुगा पोखरी, रजाजी मन्दिर संरक्षण सम्बद्धनमा संघ सरकार, प्रदेश सरकाबाट उपेक्षित रहदैँ आएकोमा बोदे बरसाईन नगरपालिकाले पनि चासो देखाएको छैन। भने ऐतिकासिक सुगा पोखरीको डिलमा अव्यवस्थित घरहरु निर्माण भएको छ।

प्रतिक्रिया